कारोबार


चिनियाँ कम्पनीको पुरानो बिलिङ प्रणालीले हैरान नेपाल टेलिकम, डेढ वर्षमा २८ घण्टा ५० मिनेट सेवा अवरुद्ध

सधैँ विवादित बिलिङ प्रणाली खरिद
चिनियाँ कम्पनीको पुरानो बिलिङ प्रणालीले हैरान नेपाल टेलिकम, डेढ वर्षमा २८ घण्टा ५० मिनेट सेवा अवरुद्ध

सञ्चार सचिव लक्ष्मीकुमारी बस्नेत र टेलिकमकी कार्यवाहक प्रबन्धनिर्देशक रिना डंगोल


उन्नत सापकोटा
जेठ १, २०८३ शुक्रबार २०:१, काठमाडौँ

पुरानो बिलिङ प्रणाली फेर्न नसक्दा नेपाल टेलिकमको सेवा (भ्वाइस, डेटा, एसएमएस, रिचार्ज, प्याकेज खरिद/सोधखोज लगायत) डेढ वर्षमा २२ पटक अवरुद्ध भएको पाइएको छ।

चिनियाँ कम्पनी एसिया इन्फोको पुरानो बिलिङ प्रणालीका कारण बढ्दो ग्राहक संख्या थेग्न नसकेर टेलिकमको सेवा पटक–पटक अवरुद्ध भएको हो। 

टेलिकम स्रोतबाट नेपालखबरलाई प्राप्त विवरणअनुसार डेढ वर्षमा झण्डै २८ घण्टा ५० मिनेट टेलिकमको मोबाइल सेवा डाउन भएको छ। सन् २०२५ भर बिलिङ प्रणालीकै कारण कम्पनीको दूरसञ्चार सेवा १७ पटक अवरुद्ध भएको छ। कतिसम्म भने एकैदिन टेलिकमको सेवा तीनपटकसम्म डाउन हुनपुगेको छ। 

सन् २०२५ को पहिलो महिना जनवरी ७, ८ र १० तारिख (२०८१ पुस २३, २४ र २६ गते) बिलिङ प्रणालीले ग्राहक चाप धान्न नसक्दा टेलिकमको सेवा पौने तीन घण्टासम्म अवरुद्ध बनेको थियो। जनवरी ७ को दिउँसो ४:४० बजे १५ मिनेटसम्मलाई सेवा रोकिएको थियो। त्यसको भोलिपल्ट जनवरी ८ मा दुई घण्टासम्म सेवा अवरुद्ध भयो। बिहान ७:१० देखि बिलिङ प्रणालीमा देखिएको प्राविधिक समस्याका कारण ९ बजेपछिसम्म कम्पनीका ग्राहकले मोबाइल सेवामा अवरोध भोग्नुपरेको थियो। 

सन् २०२५ को दोस्रो महिना फेब्रुअरीमा भने टेलिकमको सेवामा एकपटक मात्रै समस्या देखिएको थियो। फेब्रुअरी १० (२०८१ माघ २८) को राति ११ बजे टेलिकमको सेवा डाउन हुनपुगेको थियो।

बिलिङ प्रणालीमा समस्या आउँदा टेलिकम प्रयोगकर्ताहरुले मार्च महिनाको ३१ तारिख (२०८१ चैत १९) दुईपटक समस्या भोग्नुपर्‍यो। त्यस दिन बिहान सवा ९ बजे ५ मिनेट र दिउँसो २ बजे १५ मिनेटसम्म टेलिकमको सेवा अवरुद्ध भएको थियो।

प्राप्त विवरणअनुसार सोही वर्षको मे १८ तारिख (२०८२ जेठ ४) दिउँसो १:४० बजेबाट १० मिनेट टेलिकमको सेवा डाउन भएको थियो। बिलिङ प्रणालीमा समस्या आउँदा टेलिकमको सेवा त्यसपछिको महिना जुनमा मात्रै पाँच पटकसम्म अवरुद्ध बन्यो। ९ तारिख (जेठ २६) साँझ ७:५० बजेदेखि १५ मिनेटसम्म सेवा रोकिन पुग्यो। जुन १० तारिख (जेठ २७) एकैदिन तीनपटक टेलिकमको सेवा डाउन भयो।

बिहान १०:५५ बाट ४५ मिनेट, दिउँसो १ बजेबाट ५ मिनेट र ३:०५ बजेबाट ४५ मिनेटसम्म टेलिकमको सेवामा समस्या निम्तियो। जुन ३० तारिखको (असार १६) राति ११:५० बजे ७ घण्टा ४० मिनेटसम्म टेलिकमको सेवा अवरुद्ध बनेको थियो। टेलिकमबाट प्राप्त विवरणअनुसार झण्डै डेढ वर्षको अवधिमा कम्पनीको मोबाइल सेवामा देखिएको यो नै सर्वाधिक लामो अवरोध हो। 

यस्तै, सन् २०२५ सेप्टेम्बर २५ तारिख (असोज ९) टेलिकमको सेवा पौने पाँच घण्टासम्म चलेन। बिलिङ प्रणालीकै कारण मध्यराति १ बजेदेखि टेलिकमको सेवामा समस्या देखिएको थियो। सोही दिन दिउँसो १:५० बजेदेखि ४५ मिनेटसम्म टेलिकमको नेटवर्कमा पुन: समस्या आएको थियो। सन् २०२५ नोभेम्बर १० तारिख (असोज २४) को राति १ बजे ३० मिनेटसम्म समस्या देखिएको थियो। वर्षको अन्तिम महिना डिसेम्बर २२ तारिक (पुस ७) को मध्यराति १२ बजेदेखि पाँच घण्टासम्म टेलिकमको मोबाइल सेवा विच्छेद रह्यो। सोही महिनाको २९ तारिख (पुस १४) को बिहान ४:१० बजे १५ मिनेटसम्म नेटवर्क डाउन भयो।

त्यसैगरी, सन् २०२६ लागेदेखि अहिलेसम्म टेलिकमको सेवामा बिलिङ प्रणालीकै कारण पाँचपटक समस्या आइसकेको छ। पहिलो महिना जनवरीमै टेलिकम प्रयोगकर्ताहरूले तीनपटक समस्या भोगिसकेका छन्। जनवरी ६ (पुस २२) राति साढे १ बजेदेखि दुई घण्टासम्म, १२ (पुस २८) राति सवा १० बजेदेखि ३० मिनेटसम्म र १३ (पुस २९) दिउँसो सवा १ बजेदेखि १ घण्टा १५ मिनेटसम्म नेटवर्कमा समस्या देखिँदा टेलिकमका ग्राहक पीडित बन्न पुगे। 

सन् २०२६ को मार्च २३ (चैत ९) राति ११:४० बजेदेखि १ घण्टासम्म र पछिल्लो पटक मे ७ (२०८३ वैशाख २४) बिहान ११:५० बजेदेखि ५ मिनेटसम्म टेलिकमको मोबाइल सेवामा समस्या आएको थियो।

कतिपय अवस्थामा टेलिकमले आफ्नो नेटवर्कमा देखिएको समस्याबारे सार्वजनिक रुपमा जानकारी गराउने गरेको छैन। प्रयोगकर्ताले चाल पाएर सर्वत्र आलोचना भएपछि सेवा सुचारु भएको जानकारी टेलिकमले गराउने गर्छ। पटक–पटक बिलिङ प्रणालीकै कारण समस्या आउँदा समेत उसले प्राविधिक समस्या आएको भन्दै पन्छिने गर्छ। न कि खरिद प्रक्रियालाई विवादरहित बनाउन खोज्छ। टेलिकमले झण्डै १२ वर्षदेखि एसियाइन्फोको बिलिङ प्रणाली चलाउँदै आएको छ।

सधैँ विवादित बिलिङ प्रणाली खरिद
टेलिकमले २०८१ चैत ५ मा नयाँ बिलिङ प्रणाली खरिदका लागि ठेक्का निकालेको थियो। त्यसको पाँच महिनापछि २०८२ भदौ १५ मा टेलिकमले आफ्नो नयाँ बिलिङ प्रणालीको ठेक्कामा भाग लिएका ह्वेल क्लाउड र ह्वावेमध्ये चिनियाँ दूरसञ्चार निर्माता ह्वावे मात्रै प्राविधिक मूल्यांकनमा योग्य भएको भन्दै सूचना जारी गरेको थियो। 

प्राविधिक मूल्यांकनको क्रममा टेलिकमले विज्ञहरूको टेन्डर मूल्यांकन समिति गठन गरेको थियो। जसले झण्डै तीन महिना लगाएर मूल्यांकन सकेको थियो।

त्यसपछि कम्पनीले माग गरेअनुसार ह्वेल क्लाउडले पेस गरेको प्रस्ताव योग्य नभएको निष्कर्षसहित 'प्राविधिकरुपमा अयोग्य' ठहर गर्दै ह्वावेको आर्थिक प्रस्ताव खोल्ने निर्णय गरेको थियो।

टेलिकमले २०८२ असोज २९ गते ह्वावेको आर्थिक प्रस्ताव खोल्ने भन्दै भदौ १५ मा सूचना निकालेको थियो। तर, जेनजी आन्दोलनका कारण देशको अवस्था सहज नभएको भन्दै उक्त मितिमा खोल्ने भनिएको ह्वावेको आर्थिक प्रस्ताव सेप्टेम्बर २४ लाई सारियो।

जेनजी आन्दोलनले देशको राजनीतिक अवस्था नै परिवर्तन भयो। त्यसपछि टेलिकमले पुन: २०८२ असोज ८ मा अर्को सूचना जारी गरेको थियो। त्यसमा विशेष परिस्थितिका कारण टेलिकम बिलिङ प्रणाली खरिदको आर्थिक प्रस्ताव खोल्ने मिति अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो। त्यसको दुई दिनअघि असोज ६ गते मात्रै सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा जगदीश खरेल नियुक्त भएका थिए।

उनले समेत टेलिकमको बिलिङ ठेक्कामा विवाद रहेको सुइँको पाएपछि प्रक्रिया रोक्न लगाउँदै मन्त्रीस्तरीय निर्णयमार्फत पूर्वसचिव मणिराम गेलालको संयोजकत्वमा सात सदस्यीय अध्ययन समिति गठन गरेका थिए। समितिले ठेक्का प्रक्रियामा कैफियत देखिएको भन्दै प्रतिवेदन मन्त्रालयमा बुझाएको थियो।

गठित समितिले टेलिकमको बिलिङ खरिद ठेक्का प्रक्रिया निश्चित कम्पनीलाई सुम्पिने गरी स्पेसिफिकेसन तोकिएको र सार्वजनिक खरिद ऐनको प्रावधानविपरीतको अभ्यास भएको निष्कर्ष निकालेको थियो। 

बिलिङ प्रणाली खरिदको बोलपत्र आह्वान गरेपछि नै उक्त टेन्डर विवादित बन्न पुगेको थियो। कुनै एउटा कम्पनीलाई ठेक्का सुम्पिने गरी स्वच्छ प्रतिस्पर्धा निस्तेज पारिएको भन्दै आलोचना भएको थियो।

टेलिकमले बिलिङ खरिद ठेक्का अघि बढाउँदा सार्वजनिक खरिदसम्बन्धी विद्यमान कानुनसँग बाझिने र गर्न नहुने भनेर किटान गरेको विषयलाई ख्यालै नगरिएको निचोड निकालेको थियो। त्यसको चार महिनापछि टेलिकमले २०८२ माघ ४ मा बिलिङ प्रणाली खरिदका लागि निकालिएको करिब पाँच अर्ब रुपैयाँको ठेक्का रद्द गरेको थियो। जसको अप्रत्यक्ष फाइदा अहिलेकै बिलिङ प्रणाली भेन्डर एसियाइन्फोले उठाइरहेको छ।

पटक–पटक विवाद भएको ठेक्का टुंगोमा नपुग्दा टेलिकम पुरानै बिलिङ प्रणाली चलाउन बाध्य बनिरहेको छ। टेलिकमले नयाँ टेन्डर कहिलेसम्म निकाल्छ भन्ने एकीन छैन। 

टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले बिलिङको नयाँ ठेक्का अहिले 'रिभ्यू'को चरणमा रहेको जानकारी दिए। कहिलेसम्ममा नयाँ ठेक्का कम्पनीले निकाल्छ भन्ने ठ्याक्क भन्न नसकिने बताउँदै मानन्धरले बिलिङ प्रणाली खरिदको समग्र प्रक्रिया समीक्षाको काम भइरहेको जनाए।

‘अहिले बिलिङ प्रणाली खरिदको प्रक्रिया अघि बढाउन रिभ्युको काम भइरहेको छ। कहिलेसम्म नयाँ टेन्डर प्रकाशित हुन्छ भनेर भन्न सकिँदैन। रिभ्यूको काम सकिएपछि टेन्डरको स्पेसिफिकेसनको टिमले प्रक्रिया अघि बढाउँछ। बदलिँदो परिवेशअनुसार सुहाउँदो खरिदमा यसले पनि सिफारिस गर्छ। त्यसैले नयाँ बिलिङ प्रणाली खरिद गर्ने तयारीमै छौँ’, मानन्धरले नेपालखबरसँग भने।

अहिले टेलिकमले प्रयोग गरिरहेको बिलिङ प्रणालीका कारण वार्षिक १० प्रतिशतसम्म लिकेज भइरहेको टेलिकमका प्रविधिक बताउँछन्।

यसले कम्पनीलाई वार्षिक साढे ३ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी पुर्‍याइरहेको बताइन्छ। नियामक नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार टेलिकमसँग ६ लाख ८३ हजार थ्रीजी र एक करोड ४५ करोड फोरजी ग्राहक छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad