ad ad

निर्वाचन विशेष


भरतपुरका बागी जगन्नाथका दुई रहस्य: किन बागी उठे, अब के हुन्छ?

बागीको पक्षमा माहोल घट्दै गए भोट ‘सपिङ’ को सम्भावना
भरतपुरका बागी जगन्नाथका दुई रहस्य: किन बागी उठे, अब के हुन्छ?

भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेल। तस्बिर : विक्रम राई/नेपालखबर


सागर न्यौपाने
बैशाख २५, २०७९ आइतबार ९:४२, भरतपुर

शनिबार साँझ बालकुमारी सेकेण्डरी स्कुलको पछाडिपट्टि चौर छेउमा रहेको ‘काशीदाइ’को चिया पसलमा ७९ वर्षीय ऋद्धिचरण श्रेष्ठ र कृषि विज्ञ राजेश शर्मासहित पाँचजना भरतपुर महानगरको चुनावी नतिजाबारे लेखाजोखा गरिरहेका थिए।

गठबन्धनका साझा उम्मेदवार रेनु दाहाल र नेकपा एमालेका विजय सुवेदीमध्ये को जित्छ वा हार्छ होइन, रेनुविरुद्ध बागी उठेका जगन्नाथ पौडेलले कति मत ल्याउलान् भन्ने उनीहरुबीच विश्लेषण भइरहेको थियो।​​

अघिल्लो पटक २०७४ को चुनावमा पनि कांग्रेसको ७ हजार मत रेनु दाहाललाई खसेकै थिएन।

उम्मेदवार नै नभएका बेला रुखमा खसेको त्यो सबै मत बदर भएको थियो।

अहिले कांग्रेसले टिकट नदिएपछि रेनु दाहालविरुद्ध पौडेलले उम्मेदवारीमात्र दिएका छैनन्,आक्रामक चुनावी प्रचार र घरदैलो अभियान गरिरहेका छन्।

शनिबार मात्र उनले वडा नं ७ मा गरेको घरदैलो अभियानमा दुईसय भन्दा बढी मानिस उपस्थित थिए। बागीमै भए पनि पौडेलले आफ्नो पक्षमा बढ्दो क्रेज देखेको बताए।

श्रेष्ठ, शर्मा लगायतका बुद्धिजीवीले भने पौडेलले पुरानै मत जोगाउन पनि मुश्किल पर्ने निष्कर्ष निकाले। त्यो भनेको ७ हजार मत हो।

पौडेल नेपाली कांग्रेस चितवनका पुरानामध्येका नेता हुन्। पार्टी निर्णय विपरीत महानगरको प्रमुखमा बागी उम्मेदवारी दिएपछि कारवाहीमा परेर उनी निलम्बित छन्।

‘जगन्नाथ पौडेलले अडान लिनसके भने पुराना कांग्रेसको केही मत पाउन सक्छन्,’ कृषि विज्ञ शर्माले भने, ‘तर, उनी भोट खसाल्ने दिनसम्म टिक्न सक्छन् कि सक्दैनन् भनिहाल्न कठिन छ।’

पौडेललाई चुनावमा बागी उम्मेदवार उठाएर सबैभन्दा बढी सहयोग ८४ वर्षे कृष्णलाल सापकोटाले गरेका छन्।

त्यसबाहेक केही पुराना कांग्रेसीहरु पौडेलको घरदैलो प्रचारमा हिँडे पनि अहिलेका युवाहरु पौडेलको पक्षमा नगएको शर्माले बताए।

भरतपुर ३ नम्बर वडाका स्थायी बासिन्दा शर्माले भने उम्मेदवारी दिनदेखि आजसम्म (शनिबार) पौडेलको पक्षमा जनमत बढ्न नसकेको ठोकुवा गरे।

‘उम्मेदवारी मनोनयन गर्दा जुन उत्साह र जनसमर्थन थियो, त्यो अहिले विस्तारै कम हुँदै गएको पाएँ,’ शर्माले भने, ‘सायद अस्ति (वैशाख २२) को गठबन्धनको चुनावी सभाले पनि होला, सुन्दैछु, पार्टी निर्णय नमान्नेलाई ठाडै ठाउँको ठाउँ कारवाही गर्ने अख्तियारी जिल्ला सभापतिलाई दिइएको छ रे, त्यसकै प्रभावले होला उनको पक्षको माहोल पहिलाजस्तो देखिएको छैन।’

वडा नम्बर १ का स्थायी बासिन्दा श्रेष्ठले पनि शर्माको कुरामा सही थापे। ‘जगन्नाथ पौडेलले पहिला रुखमा खसेको (७ हजार) मत जोगाउन सक्छन्,’ बालकुमारी कन्या क्याम्पसका पूर्वप्रिन्सिपल श्रेष्ठको विश्लेषण छ, ‘तर, यसपटक त्यस्तो मत खस्ने सम्भावना कम छ, केही बूढापाका बाहेक अन्य भोट गठबन्धनकै पक्षमा खस्ने देखिन्छ।’

दुबैको निष्कर्ष थियो, ‘जगन्नाथ जित्ने उम्मेदवार होइनन्।’

जित्ने उम्मेदवार नभए पनि हराउन सक्ने उम्मेदवार उनी हुन्।

त्यही भएर पौडेलको उम्मेदवारी फिर्ता लिन कांग्रेसले चौतर्फी दबाब बढाएको उनका निकटहरु बताउँछन्।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, मन्त्री उमेश श्रेष्ठले चितवनमै पुगेर पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दा पनि उनी किन तयार भएका छैनन् त?

नेपालखबरले पौडेलसँग निकट केही नेताहरुसँग छलफल गरेको थियो। जसमा पौडेल बागी बन्नुका पछाडि तीन आधार देखिएका छन्–

महाधिवेशन प्रतिनिधिमै हराएको इगो
कांग्रेसको १४ औं महाधिवेशनका लागि प्रतिनिधि बन्ने चुनावमै पौडेललाई हराइएको थियो। त्यसले उनलाई च्वास्स बिझेको उनी निकट एक नेताले बताए।

दोस्रो, स्वतन्त्र उम्मेदवारी दिएपछि बाहिर नभने पनि भित्रबाट पुरै कांग्रेसले सहयोग गर्ने आश्वासन पौडेलले पाएका थिए।

तेस्रो, कांग्रेस भरतपुर महानगर कमिटीका २९ वटै वडाका वडाध्यक्षले पौडेललाई महानगरको प्रमुख बनाउन प्रयास गरेर अन्तिममा बोली फेरेको पौडेलको गुनासो छ।

‘जगन्नाथ दाइले जिल्ला सभापति बन्न नदिने योजनासहित महाधिवेशन प्रतिनिधि हराएको कुरालाई गहिरो गरी लिनुभएको छ,’ घरदैलो अभियानमा भेटिएका एक स्थानीय नेताले नेपालखबरसँग भने, ‘उहाँको मनमा पार्टीकै साथीहरुले गरेको व्यवहार च्वास्स बिझेको छ। महानगरमा तपाईँजस्तो मेयर चाहिन्छ भनेर पछि रातारात बोली फेरे।’

उम्मेदवार बनेपछि पार्टीले गरेको कारबाही पनि अवैधानिक रहेको भन्दै पौडेल अदालत जाने योजनामा रहेको ती नेताले बताए।

‘पार्टीले मलाई गरेको कारवाही अवैधानिक छ, अदालत गएर मुद्दा लडेर कारवाही फिर्ता गराउँछु,’ पौडेलको योजनाबारे ती व्यक्तिले भने।

आफूले बागी उम्मेदवारी नदिएको, बरु रुख चिन्ह जोगाउन खोजेको पौडेलको तर्क छ।

‘कांग्रेसको विधानले रुख चिह्नबाहेक चिन्दैन र अरुलाई मत खसाल्न दिइएको दबाब गलत छ,’ पौडेलको योजना उद्धृत गर्दै अर्का एक नेताले नेपालखबरसँग भने।

पौडेलनिकट स्रोतहरूका अनुसार पौडेललाई कांग्रेसको असन्तुष्ट समूह, माओवादी केन्द्रको असन्तुष्ट पक्षले भेटेको छ र सहयोग गर्ने बचन दिएको छ। यही कारण पौडेलले गठबन्धनको साझा उम्मेदवार रेनु दाहाल विरुद्ध उम्मेदवारी दिएका हुन्।

पार्टीले जति नै दबाव दिएपनि पौडेल उम्मेदवारी फिर्ता लिन तयार नहुनुको चुरो कुरा यही हो।​

अर्को तथ्य : भोट ‘सपिङ’ को संकेत
पौडेल पक्षका एक नेता शिवहरि अधिकारीका अनुसार पौडेलले अन्तिम अवस्थामा चाल्ने कदम पनि निश्चित गरेका छन्।

रेनु दाहालसँग असन्तुष्ट पक्ष र कांग्रेससँग असन्तुष्ट पक्षले दिएको बचनले हौसिएका पौडेल एमालेका विजय सुवेदीले हारेर रेनु दाहालले जित्ने अवस्थामा के गर्ने भन्ने पूरै तयारीमा छन्।

त्यस्तो बेलामा एमालेलाई सपोर्ट गर्नेगरी छलफल भएको उनले बताए।

उनी भन्छन् ‘हाम्रो पहिला रुखमा खसेको ७ हजार मत पुरै जगन्नाथ पौडेललाई आउँछ, अहिले असन्तुष्ट मत ५ हजार थपिने देखिएको छ, चुनावको दिनसम्म हेरौं, के–के उथलपुथल हुँदो रहेछ।’

अधिकारीले भनेको यही १२ हजार मतले निर्णायक भूमिका खेल्नसक्ने सम्भावना देखिएको छ।

एमालेले पौडेलले कति मत काट्न सक्छन् विश्लेषण गरिरहेको छ।

भरतपुरका स्थानीयहरुले पौडेलले १२ हजार मत पाए पनि धेरै मत बदर हुँदा यसपटकको चुनावी परिणाम अनुमान गरेभन्दा फरक आउने खतरा रहेको बताउँछन्।

‘चुनावी परिणाम हिसाव गरेभन्दा फरक आउनसक्छ, किनभने २०७४ मा झण्डै ८ हजार मत  बदर भएको थियो,’ शर्मा र श्रेष्ठले नेपालखबरसँग भने, ‘मत धेरै बदर हुँदा नतिजा सोचेभन्दा फरक आउन सक्छ।’

भरतपुर महानगरको प्रमुखका उम्मेदवार पौडेलले यतिबेला चितवन मात्र होइन, नेपाल हल्लाएका छन्। आफ्नै पार्टी नेपाली कांग्रेसको केन्द्रीय निर्णय विपरीत बागी उम्मेदवारी दिएका उनी पार्टीले गरेको कारवाहीको पनि परवाह नगरी झन् आक्रामक ढंगले प्रचारमा छन्।

शनिबार महानगरको वडा नम्बर ७ मा उनले घरदैलो गरे।

उम्मेदवारी दिएको दिनदेखि चुनावी प्रचार अभियानलाई तीव्र पारेका पौडेल शनिबारदेखि अझ बढी सक्रिय छन्। उनलाई साथ दिएर दरिलो खम्बा बनिदिएका छन् चितवनका पुराना नेता तथा पूर्व सभापति कृष्णलाल सापकोटा।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी गठबन्धनका उम्मेदवारलाई जिताउन एकढिक्का भएर हिँडे पनि कांग्रेसमा समस्या भएको र एक/दुई दिनमा समाधान हुने उनले बताए।

‘माओवादी र एकीकृत समाजवादी एकमुष्ट भएर लागेका छन्, कांग्रेसभित्र समस्या देखिएको छ, यो बढीमा २ दिनभित्र समाधान हुन्छ,’ खनालले भने। 

उनले जगन्नाथ पौडेल बागी उम्मेदवार बनेर रेनु हराउने र एमाले जिताउने योजना बनाएको आरोप लगाए।

‘केन्द्रमा बनेको गठबन्धन ठीक अनि त्यही केन्द्रले बाँडफाँट भएको महानगरको मेयर पद बेठीक कसरी भयो? उहाँले एमालेलाई फाइदा पुर्याउन किन खोजिरहनुभएको छ?,’ खनालले प्रश्न गर्दै भने, ‘होइन केन्द्रको निर्णय ठीक हो भने उहाँ (पौडेल)जीले उम्मेदवारी फिर्ता लिनुपर्छ।’

पौडेलको उम्मेदवारीले एमाले भने हौसिएको छ।

‘जति बढी पौडेलले मत काट्न सक्यो, उति एमालेलाई फाइदा छ,’ कांग्रेसका अर्का एक नेताले भने।

तस्बिरहरु: विक्रम राई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .