ad ad

निर्वाचन विशेष


भरतपुरको ऋणात्मक हिसाब : कांग्रेसका बागी एमालेलाई घाँडो

यस्तो छ मेयर जित्ने एमाले र माओवादीको गणितीय दाबी
भरतपुरको ऋणात्मक हिसाब : कांग्रेसका बागी एमालेलाई घाँडो

फाइल फोटो


जेवी पुन मगर/सागर न्यौपाने
बैशाख १७, २०७९ शनिबार २१:१, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष जोडिएको भरतपुर महानगरपालिकामा सिंगै देशको ध्यान खिचिएको छ। प्रचण्डपुत्री रेणु दाहालविरुद्ध सत्ता गठबन्धनबाटै बागी उम्मेदवार खडा भएपछि एमालेमा भने उत्साह छाएको छ।

माओवादी नेतृ रेणु दाहाल दोस्रोपटक महानगर प्रमुखमा उठेकी छिन्। तर, उनलाई चुनौती दिँदै गठबन्धन दल नेपाली कांग्रेसबाट जगन्नाथ पौडेल बागी खडा भएका छन्। अर्कोतर्फ, एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाको साथ मिलेको छ। 

नेपाली कांग्रेसका एक केन्द्रीय नेताले नाम उल्लेख नगर्ने शर्तमा नेपालखबरसँग भने, ‘भरतपुरमा कांग्रेसबाट जगन्नाथजी बागी उठ्नुभयो। राप्रपाले उपप्रमुख लिएर एमालेलाई प्रमुखमा साथ दिएको छ। यो अवस्थामा अब रेणुको जित कठिन देखिन्छ।’

माओवादी अध्यक्ष प्रचण्डसँग सम्बन्ध चिसिएका कारण एमाले अध्यक्ष केपी शर्मा ओली वैशाख ३० को स्थानीय चुनावमा माओवादी पार्टी पत्तासाफ भएको हेर्न चाहन्छन्। कम्तीमा उनी भरतपुरमा प्रचण्डपुत्रीले हारेको देख्न चाहन्छन्।

माधव नेपालको पार्टी एकीकृत समाजवादी पनि पत्तासाफ भएको हेर्ने एमाले नेताहरुमा तीव्र ईच्छा देखिन्छ। पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुखको टिकट पाएका एकीकृत समाजवादीका नेता धनराज आचार्यलाई पनि हराउन एमालेले विशेष जोड लगाउने निश्चित छ।

यिनै दुई कारणले भरतपुर र पोखरा महानगरपालिकामा एमालेको विशेष ध्यान गएको छ। विशेष गरी एमालेको ध्यान भरतपुरमा केन्द्रित छ।

भरतपुर महानगरपालिकामा केन्द्रको निर्णय अस्वीकार गर्दै कांग्रेस नेता जगन्नाथ पौडेलले प्रमुख पदमा बागी उम्मेदवारी दिएपछि एमाले नेताहरु खुशी देखिएका छन्। 

पौडेलले बागी उम्मेदवारी दिएपछि रेणुले हार्ने र आफ्ना उम्मेदवार विजय सुवेदीले जित्ने सम्भावना बढेको भन्दै एमालेजनमा उत्साह छाएको हो।

आखिर, कांग्रेस नेता जगन्नाथको उम्मेदवारीले रेणु दाहाललाई कति घाटा लाग्ला? अथवा, जगन्नाथको उम्मेदवारीबाट एमालेका प्रत्यासी सुवेदीलाई कति फाइदा पुग्ला? यही प्रश्नको वरिपरि घुमिरहेको छ भरतपुरको राजनीति। 

जगन्नाथको बागी उम्मेदवारी परेको विषयलाई एमाले कार्यकर्ताले सामाजिक सञ्जालमा जोडतोडका साथ प्रचार गरिरहेका छन्। देशभरिका कांग्रेस कार्यकर्ता पनि यसबाट तरंगित देखिएका छन्।

गठबन्धनका बागीलाई ‘हाइलाइट’ गरेर कांग्रेस र माओवादीको दूरी बढाउने रणनीति एमालेले लिएको देखिन्छ। तर, भुइँकटहर चुनाव चिह्न पाएका कांग्रेसका बागी जगन्नाथको पक्षमा माहौल बढ्दै जाँदा त्यसबाट स्वयं एमालेलाई नै घाटा पुग्न सक्ने अर्को पाटोप्रति एमालेजनमा ध्यान पुगेको देखिँदैन।

यो तथ्यलाई स्वीकार्दै एमालेकै एक नेता भन्छन्, ‘जगन्नाथ पौडेल बागी नउठेको भए असन्तुष्ट कांग्रेस कार्यकर्ताको मत एमालेमा खस्न सक्थ्यो। तर, उनी बागी उठेका कारण अब कांग्रेसको असन्तुष्ट मत भूइँकटहरमा खस्ने भयो, यसबाट एमालेलाई घाटा हुने देखियो।’

कांग्रेस र एमालेका कतिपय नेताहरुका दुईवटा विश्लेषण नोट गर्न लायक छन्ः 

एक– कांग्रेसबाट जगन्नाथ बागी उठेको र एमालेलाई राप्रपाले समेत साथ दिएकाले अब रेणु दाहाल हार्ने सम्भावना बढ्यो भन्ने तर्क।

दुई– जगन्नाथ बागी उठेका कारण असन्तुष्ट कांग्रेसको मत एमालेमा नगई जगन्नाथकै बाकसमा खस्ने भयो, जसबाट एमालेलाई घाटा हुने अर्को तर्क।

आखिर यी दुई विपरीत तर्कमध्ये कुनचाहिँ बढी वस्तुसम्मत होला ? यसमाथि विश्लेषण गर्ने जिम्मा सम्बन्धित दलहरूलाई नै छाडौँ।

२०७४ को शक्ति सन्तुलन
गत ०७४ सालको स्थानीय चुनावमा भरतपुर महानगरपालिकामा माओवादी–कांग्रेस गठबन्धनका तर्फबाट रेणु दाहालले ४३ हजार १२७ मत पाएकी थिइन्। 

उनले एमालेका देवी ज्ञवालीलाई २०३ मतको अन्तरले मात्रै जितेकी थिइन्। ज्ञवालीले ४२ हजार ९२४ मत पाएका थिए। 

०७४ को चुनावमा राप्रपाका उम्मेदवार बद्रीनाथ तिम्सिनाले ६ हजार ८४२ मत पाएका थिए। यसपालि राप्रपाले एमालेसँग चुनावी तालमेल गरेको छ। 

गत चुनावमा भरतपुर महानगरपालिकाको प्रमुखमा १४ उम्मेदवार उठेका थिए। तीमध्ये माओवादी, एमाले र राप्रपाबाहेक अरु दल र स्वतन्त्र उम्मेदवारहरूले ५ सय भन्दा कम मत पाएका थिए। ११ उम्मेदवारको कुल मत १७९१ थियो।

गत चुनावको यो तथ्यांकलाई आधार मान्ने हो भने भरतपुरका मुख्य राजनीतिक शक्तिहरु एमाले, कांग्रेस, माओवादी र राप्रपा नै हुन्। र, यसपालिको चुनावमा पनि यिनै दलहरूको मतले निर्णायक अर्थ राख्ने देखिन्छ। 

भरतपुर महानगरपालिकामा ०७४ सालको वडागत मत हेर्दा काँग्रेसले ३८ हजार १३७ पाएको थियो भने एमालेले ३८ हजार ७९ मत पाएको थियो। 

माओवादीको वडागत मत २० हजार ३३२ थियो। प्रमुखमा विजयी रेणु दाहालले ४३ हजार १२७ मत पाए पनि माओवादीको आफ्नो मतचाहिँ त्यही वडागत मत अर्थात २० हजार हो।

एमालेको आफ्नो मत मेयरमा ४२ हजार र उपमेयरमा ३९ हजार थियो भने वडागत ३८ हजार थियो। यो आधारमा विश्लेषण गर्दा एमालेको आफ्नो मत ०७४ सालमा ४० हजार हाराहारी थियो। देवी ज्ञवालीले एकाध हजार व्यक्तिगत मत पनि थपेका थिए।

गत स्थानीय चुनावमा पनि कांग्रेस कार्यकर्ताहरु रेणु दाहालको उम्मेदवारीप्रति असन्तुष्ट थिए। कांग्रेसका उम्मेदवार दिनेश कोइरालालाई फिर्ता लिन लगाइए पनि त्यसबेला रुखमा ७ हजार भोट झरेको थियो। 

अर्थात् ७ हजार कांग्रेस कार्यकर्ताले रेणुलाई भोट दिएका थिएनन्। यसपालि पनि कांग्रेसमा असन्तुष्टि चुलिएकाले रद्द भोट बढ्ने र १२÷१५ हजार कार्यकर्ताले रुखमा मतदान गर्न सक्ने नेता टेकप्रसाद गुरुङको विश्लेषण छ।

यो पनि​ : कांग्रेसको भोट नखन्याई रेणुले जित्नुहुन्न, प्रचण्डले मिलाए मिल्छ : टेकप्रसाद गुरुङ (भिडिओ)

एमालेको हिसाब
नेता देवी ज्ञवालीका अनुसार भरतपुर महानगरपालिकामा एमालेका विजय सुवेदीले चुनाव जित्ने आधार यस्ता छन्ः

एक– विजय सुवेदी लोकप्रिय उम्मेदवार हुन्।

दुई– राप्रपासँग ७ देखि १० हजारसम्म भोट छ, तालमेल गरेका कारण राप्रपाको त्यो भोट एमालेले पाउँछ। 

तीन– एमाले महाधिवेशनले चितवनमा राम्रो प्रभाव पारेको छ। 

चार– चितवनका रामबहादुर थापा ‘बादल’ले पार्टी छाडेकाले माओवादीको ३० प्रतिशत भोट घटेको छ। 

पाँच– कांग्रेसका बागी जगन्नाथले ५० प्रतिशत भोट काट्न सक्छन्। 

छ– एमालेले १ हजार टोल कमिटीहरु बनाएको छ। एमालेसँग एक्लै करिब ४० हजार भोट छ।

कांग्रेसका बागी उमेदवारका कारण रेणुलाई जाने ५० प्रतिशत मत घटाउने र राप्रपासँग गरिएको चुनावी तालमेलबाट १० हजार मत एमालेको पक्षमा पर्ने हिसाब–किताब एमाले नेताको छ। 

भरतपुरको चुनावी रणनीतिकार देवी ज्ञवालीका अनुसार, त्यहाँ अघिल्लो निर्वाचनमा कांग्रेसको मत ३९ हजार र माओवादीको चोखो मत जम्मा १३ हजार मात्रै हो।

नेपालखबरसँग चुनावी अंकगणित सुनाउँदै ज्ञवाली भन्छन्, ‘भरतपुरको अवस्था बुझ्न गत निर्वाचनमा दलहरुले उपमेयर पदमा पाएको मतलाई हेरेर विश्लेषण गर्नुपर्ने हुन्छ। गठबन्धनका तर्फबाट कांग्रेसका उपमेयरले ४७ हजार मत पाएकी हुन्। ४७ हजार मतमा कांग्रेसको मत ३४ हजार र माओवादीको मत १३ हजार देखिन्छ। हाम्रा उपमेयरले ३९ हजार मत पाएका हुन्। यसपालि हामीसँग गठबन्धन गर्ने राप्रपाको मत बढेर १० हजार पुग्यो होला। विद्रोहीले ५० प्रतिशत खाने स्थिति देख्छु। यो सबै मिलान गर्दा एमाले जित्ने अवस्थामा छ।’ 

कांग्रेस ढुक्क
एमालेको फरक दावी आइरहे पनि नेपाली कांग्रेसका चितवन सभापति राजेश्वर खनाल भने विद्रोही उमेदवार जगन्नाथले कुनै प्रभाव नपार्ने दाबी गर्छन्। 

नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘कांग्रेसले प्रतिवद्धता जनाएको मत यताउती हुँदैन। हाम्रो मत एकै ठाउँमा जान्छ।’

यो पनि :​ भरतपुरमा रेनुलाई हराउन, प्रचण्डको वेग रोक्न एमालेका सात रणनीति (देवी ज्ञवालीसँग भिडिओ वार्ता)

खनालको भनाइमा गत निर्वाचनमा मेयर र उपमेयर पदका लागि मात्रै तालमेल गरिएको थियो, त्यसैले सबै मत रेणुलाई गएको थिएन। 

तर, यसपालि माओवादीसँग वडास्तरसम्म तालमेल गरिएकाले मत यताउती जानेछैन। केन्द्रदेखि तलैसम्म गठबन्धन संस्थागत छ। 

खनाल अगाडि भन्छन्, ‘गएको निर्वाचनमा कांगे्रस–माओवादीको मत ७०/३० थियो। तर, यसपालि माओवादीले पाँच वर्षमा गरेको कामका आधारमा मत बढाएको छ। त्यसले पनि जित हारमा भूमिका खेल्नेछ। यो सबै हिसाब हेर्दा यसपालि पनि रेणुले जित्नुहुन्छ।’  

यस्तो छ माओवादीको हिसाब 
एमालेले गरेको हिसाबको काउन्टरमा माओवादी नेताले भरतपुरमा बेग्लै हिसाब गरेका छन्। 

एक– अघिल्लो चुनावमा माओवादीले एक्लै पाएको वडागत मत २० हजार थियो। रेणुले राम्रो काम गरेकाले त्यो मत बढेर ३० हजार पुग्छ।  

दुई– अघिल्लो चुनावमा रेणुसँग चुनावी प्रतिस्पर्धा गर्दा ६ हजार ८४२ मत ल्याएका राप्रपाका लोकप्रिय नेता बद्री तिम्सिना अहिले ३१ नेतासहित माओवादीमा प्रवेश गरेका छन्। 

एमालेसँग तालमेल गरे पनि राप्रपासँग पहिलेको जति भोट छैन। बद्रीले छाडेपछि राप्रपा फुटेको स्थिति छ। बद्रीको टिम माओवादीमा प्रवेश गरिसकेको अवस्थामा विगतमा राप्रपाले पाएको ७ हजार भोट एमालेमा होइन, माओवादीमा खस्छ। 

तीन– कांग्रेससँग रहेको करिब ४० हजार भोटमध्ये बागीले एमालेको आकलन जस्तै ५० प्रतिशत मत काटे पनि २० हजार रेनुको पक्षमा जान सक्छ। बागीले काट्ने मत पनि एमालेमा थपिँदैन, या त भूइँकटहरमा खस्छ, या रुखमा। 

चार–बद्री तिम्सिना अध्यक्ष रहेको भूमि आयोगले केही वडामा सुकुम्बासीहरूलाई धनीपूर्जा वितरण गरेकाले त्यहाँको केही  भोट पनि माओवादीलाई थपिन सक्छ। 

र, पाँच– काँग्रेस नेता जगन्नाथ पौडेल बागी नउठेको भए एमालेलाई सोझो फाइदा पुग्ने थियो, उनी बागी उठेका कारण असन्तुष्ट भोट एमालेमा जानबाट रोक्ने स्थिति बनेको छ, त्यसले रेणुलाई नै फाइदा पुग्छ। 

माओवादी नेताहरु यसपालि पनि भरतपुरमा चुनाव जितिने कुरामा ढुक्क देखिन्छन्। भरतपुरमा ५ वर्षमा गरिएको विकास निर्माणका कारण आफ्नो जनाधार ह्वात्तै बढेको ठान्ने माओवादीलाई कांग्रेसबाट ५० प्रतिशत मत खस्ने कुरामा पूरै विश्वास छ। 

माओवादीका एक चुनावी रणनीतिकारको भनाइमा यसपालि माओवादीले दश हजारको मतान्तरले जित्ने रणनीतिमा काम गरिरहेको छ। 

ती रणनीतिकार एमालेको मत हिसाब सुनाउँदै भन्छन्, ‘एमालेको मत ४१ हजार हो। राप्रपाको मत ९ हजार थप्दा उसको ५० हजार पुग्छ। हामीले त्यो भन्दा बढी ल्याएर जित्छौँ।’ 

यो पनि​ : राप्रपा छाडेका बद्रीको हिसाब : रेनु दाहालले यसरी जित्छिन् (अन्तर्वार्ता)

कांग्रेसको बागी उठेका छन्, कसरी जित्नुहुन्छ त ? भन्ने प्रश्नपछि उनले माओवादीले गरेको हिसाब–किताबको फेहरिस्त यसरी सुनाए–

भरतपुर महानगरपालिकामा १ लाख ८५ हजार मतदाता छन्। त्यसबाट ७५ प्रतिशत ( १ लाख ३८ हजार ) मत खस्ने आकलन छ। त्यसमा ८–१० हजार मत बदर हुन सक्छ। त्यसैले हामीले १ लाख ३० हजार मतको हिसाब निकाल्नुपर्छ। अहिले चुनाव जित्न ५५ प्रतिशत अर्थात ७१ हजार ५सय मत ल्याउनुपर्ने हुन्छ। कांग्रेसको मत ३८ हजार छ। माओवादीको आफ्नै मत ३१ हजार छ। यसपालि एकीकृत समाजवादीसँग रहेको २–३ हजार, जसपा, लोसपा र राजमोको २ हजार मत हामीसँगै छ। विप्लवले उमेदवार खिचेपछि त्यसको फाइदा हामीलाई हुन्छ।

विद्रोही उमेदवारको मत जगन्नाथले नै लैजाने भएकाले असन्तुष्ट कांग्रेसी मतदाताको मत एमालेका विजय सुवेदीले नपाउने हुनाले त्यसको फाइदा माओवादीले उठाउने ती रणनीतिकारको दाबी छ।

जगन्नाथ ‘फ्याक्टर’
माओवादी र कांग्रेस नेताहरुले सजिलै चुनाव जितिने दाबी गरे पनि बागी उम्मेदवार जगन्नाथ पौडेल प्रकरणले सत्ता गठबन्धन सहज अवस्थामा देखिँदैन।

सम्पूर्ण शक्ति परिचालनका बावजुद नेपाली कांग्रेसका बागी उमेदवार पौडेलले मेयर पदको उम्मेदवारी फिर्ता नलिएपछि भरतपुरको अगाडिको चुनावी रणनीति आक्रामक रुपमा जाने निश्चितजस्तै छ।

पौडेललाई उम्मेदवारी फिर्ता गराउन भरतपुर ओर्लिएका गृहमन्त्री बालकृष्ण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठ र पूर्वप्रधान न्यायाधीश गोपाल पराजुलीसहितको टिमको केही जोर नचलेपछि विद्रोही पौडेल र उनका प्रस्तावक, समर्थक दुवैलाई पार्टीले निष्काशित गरेको छ। 

कांग्रेसको मतको बलमा पुनः मेयर पदमा आउन खोजिरहेकी रेणु दाहाललाई बागी उम्मेदवार बाधक हुने भएपछि प्रचण्डले समेत भरतपुर ओर्लिई विकसित घटनाक्रम सल्टाउने प्रयत्न गरेका थिए। तर, नेताहरुको प्रयासले सफलता पाउन सकेन।

रेणुलाई भरतपुरमा मेयर पदमा आउनबाट रोक्न एमालेले पूरै शक्ति खन्याएको बुझाइमा गठबन्धन दलले पनि आफ्नो पूरै शक्ति भरतपुरमा केन्द्रित गरिरहेको देखिन्छ।

गठबन्धनले चुनाव जित्न जस्तोसुकै कदम उठाउन पनि पछाडि हट्ने छैन भन्ने सन्देश दिन कांग्रेसका ३ जना पुराना र प्रतिवद्ध स्थानीय नेतालाई पार्टीबाट च्यूत गरेको छ। 

एकातर्फ एमालेले ‘क्याडर बेस्ड’ संगठनलाई पूरै चुनावमा परिचालन गरिरहेको छ भने सँगै उसले बागी उमेदवारको उपयोग गर्न भरमग्दुर प्रयत्न पनि गरिरहेको देखिन्छ। 

पूर्वसांसदसमेत रहेका नेपाली कांग्रेसनिकट एकजना विश्लेषकले रोचक तर्क गरे, ‘भरतपुरमा अब एमालेले बागी उम्मेदवार जगन्नाथ पौडेलसँग रहेको भोट आफूतिर तान्न वार्ता गर्न सक्छ। रेनुको जितलाई रोक्न एमाले र कांग्रेसका बागीबीच लेनदेन पनि हुन सक्छ।’

ती विश्लेषकको दाबीअनुसार जगन्नाथको प्रभाव बढ्दै गयो भने एमालेले आफ्नो भोट भूइँकटहरमा खन्याउन पनि सक्छ। अर्कोतर्फ जगन्नाथ पक्षको भोट सूर्य चिह्नमा खनिन पनि सक्छ। 

तर, एमालेका एक नेताले नेपालखबरसँग भने, ‘०७४ सालमै प्राविधिक रुपमा मात्र हारेको एमालेले जगन्नाथलाई सघाइ राख्नुपर्ने कुनै कारण छैन, एक्लै जित निकाल्न सक्छ।’

त्यस्तै कांग्रेसका अर्का नेता भन्छन्, ‘कम्युनिस्टलाई भोट हालिन्न भन्दै विद्रोह गरेका बागीहरुले एमालेलाई भोट हाल्ने सम्भावना पनि न्यून छ। बागीको भोट रुख वा भूइँकटहरमै खस्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .