ad ad

निर्वाचन विशेष


धनकुटा ‘ग्राउण्ड जिरो’ : एमालेको ‘क्लिन स्वीप’ मा गठबन्धनको धावा

धनकुटा ‘ग्राउण्ड जिरो’ : एमालेको ‘क्लिन स्वीप’ मा गठबन्धनको धावा

सुमन पुरी
बैशाख २३, २०७९ शुक्रबार १४:१०, धनकुटा

अघिल्लो स्थानीय तहको निर्वाचनमा धनकुटा नगरपालिकाको प्रमुखमा  ११४ मतान्तरले विजयी भएका थिए एमालेका चिन्तन तामाङ। उनका निकटतम् प्रतिद्वन्द्वी थिए नेपाली कांग्रेसका दिनेश राई।

धनकुटाका सातवटै पालिकामा एमालेले प्रमुख र उपप्रमुख जित्दा एमाले नेता चिन्तन सबै भन्दा कम मतान्तरमा विजयी भएका थिए। पाँच वर्षपछि पुनः एमालेका तामाङ र कांग्रेसका राईको भेट चुनावी मैदानमा भएको छ। उनीहरु दुवै  दोस्रोचोटि मेयरको प्रत्यासी बनेका छन्।

कांग्रेस र माओवादीको गठबन्धन एवं एमालेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सुमिना तामाङ र स्वतन्त्रबाट सुन्दरबाबु श्रेष्ठ पनि नगर प्रमुखको चुनावी मैदानमा छन्। तर, यस पटकको निर्वाचनमा पनि अघिल्लोमा झैँ चिन्तन र दिनेशका बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ।

धनकुटामा को बलियो? नेपाल पत्रकार महासंघ पूर्वाञ्चल उपाध्यक्ष भइसकेका सञ्जय सन्तोषी राई भन्छन् ‘जसले भ्रम धेरै छर्न सक्यो, उही बलियो। उसैको जित!’

राईले भनेजस्तै विभिन्न आश्वासनले भरिएका चुनावी घोषणा पत्र लिएर एमाले र गठबन्धनका उमेदवार मतदाता समक्ष पुगेका छन्। धनकुटाको विकास निर्माण, शिक्षा, स्वास्थ्य र रोजगारसम्म उम्मेदवारहरूका  एजेण्डा छन्।

‘यहाँ गरिबी र बेरोजगारी छ’ पत्रकार महासंघका पूर्वउपसभापति राईले भने,‘जसले उनीहरुका लागि मीठा कुरा गर्यो, उही यस पटक मेयर हुने हो।

राईका अनुसार हल्लाखल्लाले धनकुटाको निर्वाचनलाई प्रभाव पार्छ। जसको ठूलो र्याली र सभा हुन्छ, उसैले जिते जसरी मतदाताहरू बुझ्छन्। मतदाता प्रभावमा पार्न घरदैलो कार्यक्रम हुने गरेको छ।

घरदैलोमा जतिसक्दो धेरै कार्यकर्ता लैजाने दलहरूको योजना देखिन्छ। मतदाताहरू अझै पनि सही र गलत उमेदवार छुट्याउन सक्ने अवस्थामा नरहेकाले अहिले नै कसले निर्वाचन जित्छ भन्ने अवस्था नरहेको राई बताउँछन्।

धनकुटा नगरपालिकामा एमाले एक्लै चुनावी प्रचार प्रसारमा लागेको छ भने दिनेशलाई माओवादी र समाजवादीको साथ छ। कांग्रेस माओवादी गठबन्धन भएको धनकुटा नगरपालिकामा माओवादीबाट उपमेयरमा गणेश विष्ट उम्मेदवार बनेका छन्। एमालेबाट भने भीमा खनाल  उपमेयरको उम्मेदवार बनेकी छन्। उनी पूर्व माओवादी हुन्।

धनकुटाको पहिचान हराएर गएको यहाँका मतदाताको चिन्ता छ। कुनै बेला पूर्वाञ्चलको राजधानी धनकुटा शिक्षाको हब थियो। पूर्वका अधिकांश जिल्लाका विद्यार्थीहरु धनकुटा क्याम्पसमा अध्ययन गर्न आउँथे।

मतदातासँग भोट माग्दै

धनकुटामा क्षेत्रीय प्रशासक बस्थे, सरकारी अड्डाका क्षेत्रीय कार्यालयहरु यहीँ थिए। शिक्षा, स्वास्थ्य र हुलाक निर्देशनालयलहरु धनकुटामा हुँदा चहल–पहल थियो। धनकुटाको व्यापार व्यवसाय राम्रो थियो।

तर अहिले अहिले धनकुटाबाट यी सबैथोक सरेर गइसकेका छन्। प्रधानमन्त्री चन्द्र शमशेरका पालामा स्थापित धनकुटा जिल्ला अस्पतालमा आवश्यक चिकित्सक छैनन्।

धनकुटा अस्पताल विसं. १९७२ सालमा स्थापना भएको थियो। २०३० सालमा एक्सरे मेसिन ल्याएको धनकुटा अस्पतालमा पहाडी जिल्लाका बिरामी उपचार गराउन आउँथे। तर, अहिले रेफर गरेर पठाउने अस्पतालको रुपमा परिणत भएको छ।

हुलाक टोलको चिया पसलमा भेटिएका माधव पोखरेलले धनकुटाको समस्या सुनाउँदै भने ‘धनकुटाको पुरानो सान फर्काउन पालिकाका जनप्रतिनिधिहरुले नसके पनि नयाँखाले धनकुटा बनाउने सोच भएको जनप्रतिनिधि हामीलाई चाहिएको छ।’

पोखरेलका अनुसार  यस पटक धनकुटाको चुनाव जित्न फलामको चिउरा चपाउनु जस्तै हो। नेपाल खबरको जिज्ञासामा पोखरेलले भने,  ‘दुवै उम्मेदवार राम्रा छन्। दुवै पार्टी बलियो भएका छन्। मतदाता पक्ष र विपक्षमा छन्।

पाँच बर्ष धनकुटा नगरको सत्तामा रहँदा चिन्तन खासै तामाङ विवादमा आएनन्। पोखरेल भन्छन् ‘यो ५ वर्षमा गाउँ गाउँमा  बाटा बनेका छन्।

कार्यकालमा विवाद र समस्या नआएका कारण पनि धनकुटामा यसै हो भन्न सक्ने अवस्था रहेको तिलक घिमिरे बताउँछन्। उनका अनुसार जसले जिते पनि हारे पनि जित हारमा अंक एकदमै थोरै हुन्छ।

राजनीतिक गठजोड
धनकुटामा एमाले विभाजन भएर समाजवादी भए पनि यसको खास असर नपर्ने एमाले नेताहरु बताउँछन्। केही नेताहरु एकीकृत समाजवादीमा गए पनि कार्यकर्ता एमालेमै छन्। अर्कोतर्फ, नेकपा विभाजन हुँदा माओवादीका केही नेता एमालेमै बसेका छन्।

उपमेयरकी प्रत्यासी भीमा खनाल, माओवादी धनकुटाका नेताहरु उज्जवल किराती, सचिवालय सदस्य सन्देश बिहानी, नेत्र भण्डारी, अनेमसंघ क्रान्तिकारीका जिल्ला अध्यक्ष सुष्मा किराती र वडा नम्बर ९ का वडाअध्यक्ष सन्दीप रायमाझी लगायतका नेताहरु एमालेमै छन्।

यसपटक कांग्रेसलाई राप्रपाको समेत साथ छ। राप्रपाको विरासत बोकेका सुनिलबहादुर थापा कांग्रेसमै छन्। उनी सूर्यबहादुर थापाका छोरा हुन्। धनकुटा नगरमै राप्रपाको खास मत नभए पनि सुनीलको कांग्रेस प्रवेशले धनकुटामा मत बढ्ने स्थानीयको विश्लेषण छ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा राप्रपाबाट उम्मेदवार बनेका बालानन्द भुर्तेलले २८४ मत ल्याएका थिए। अघिल्लोमा मेयरकै उम्मेदवार बनेका गणेश बिष्टले २ हजार ५३६ मत ल्याएका थिए। मेयरमा तामाङले ४ हजार ९३३ ल्याएको थिए भने निकटतम प्रतिद्वन्द्वी दिनेशले ४ हजार ८१९ मत ल्याएका थिए।

धनकुटामा निकालिएको चुनावी जुलु्स

आठ्पहरिया ‘फ्याक्टर’
आदिवासी आठपहरियाको थातथलो धनकुटा नगरपालिका हो। यहाँ आठपहरियाको मात्रै ८ हजारको हाराहारीमा जनसंख्या रहेको छ  । २२ हजार ९७१ मतदाता रहेको धनकुटामा ३ हजारको हाराहारीमा आठपहरियाको मत छ।

आठपहरियाको बसोबास बढी रहेको सान्ताङमा भेटिएका सूर्य आठपहरियाले धनकुटाको निर्वाचन जित्ने र हार्ने फ्याक्टर आठ्पहरिया नै रहेको दावी गर्छन्। आठपहरियाको आफ्नै भाषा, कला र संस्कृति छ।

नगरपालिकाको वडा नम्बर ८,७,२ मा आठपहरियाको बढी बसोबास छ। नगरपालिकाको सान्ताङ, टेकुनाला, डुम्रे र भिरगाउँमा आठपहरियाको बढी बसोबास रहेपनि अन्य वडामा पनि उनीहरुको बसोबास छ।

दिनेश राई आठ्पहरिया समुदायका हुन्। तर, उनी आफूलाई आठ्पहरिया नै भन्न चाहँदैनन्। सान्ताङमा भेटिएका मनोज आठपहरियाले भने’ ‘६० प्रतिशत आठपहरियाको घरमा वर्षभरि खान पुग्ने अन्न हुँदैन  । जीविकोपार्जनको अरु विकल्प नरहेको यो जाति ४ महिना साहुको भर पर्नु पर्छ। मनोजले भने, ‘आठपहरियाको भाषासमेत लोप हुँदै गएको छ। हाम्रा लागि जसले राम्रो गर्छ, उसैलाई मत हाल्ने हो।’

आठ्पहरिया समाजका महासचिव समेत रहेका सूर्य आठ्पहरिया अघिल्लो पटक भन्दा यसपटक चिन्तनको प्रभाव राम्रो भएको बताउँछन्। गाउँ गाउँमा बाटो पुगेको जस तामाङले लिने उनको दाबी छ।

मेयर तामाङले आठपहरियाको आर्थिक उत्थानका लागि होमस्टे सञ्चालनका लागि तालिम, भाषा र कलाको  संग्रहालय बनाउने कमको शुरुवात गरेका कारण पहिले भन्दा सुधार भएको बताए। तर दिनेश राई आठ्पहरिया समुदायकै भएकाले उनको प्रभाव हुने सूर्यले बताए।

वरिष्ठ पत्रकार सञ्जयसन्तोषी राई

दुवैको जित्ने दाबी
नेकपा एमाले धनकुटाका अध्यक्ष इन्द्रमणि पराजुली माओवादी नेता तथा कार्यकर्ताहरु एमालेमै हुँदा विभाजनको खास असर नरहेको बताउँछन्। ‘हामी  धनकुटा नगरपालिकामा मात्रै होइन, जिल्लाका सबै पालिकाहरु जित्ने छौँ,’ उनले भने ‘यसपटक पनि धनकुटा क्लिन स्वीप हुनेछ।

धनकुटा नगरपालिकालाई  गठबन्धन र कांग्रेस दुवैले प्रतिष्ठाको लडाइँका रुपमा हेरेका छन्। अघिल्लो स्थानीय तहमा क्लिन स्वीप गरेको जिल्ला गुमाउन एमाले चाहँदैन  । कांग्रेस एमालेको किल्ला तोड्न चाहन्छ।

नेपाली कांग्रेस धनकुटा जिल्ला सचिव विजय सन्तोषी राई यसपटक धनकुटामा कांग्रेसले धेरै स्थानमा जित्ने दाबी गर्छन्।  राईले भने, हामी एजेन्डाले पनि र मतको हिसाबले पनि बलियो भएका छौँ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .