सरकारले विदेशमा रहेका नेपालीको सूचना र विवरण संकलन गर्ने गरी 'श्रम संसार एप' सञ्चालनमा ल्याएको छ।
आज बिहीबारदेखि उक्त एम सञ्चालनमा ल्याइएको परराष्ट्रमन्त्री आरजु देउवा राणाले जानकारी दिइन्।
'श्रम गन्तव्य मुलुकहरुमा रहेका नेपालीहरूको सूचना र विवरण संकलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण संकलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ आजदेखि सञ्चालनमा ल्याइएको छ,' उनले भनिन्, 'यो एपमा उहाँहरूले आफ्नो विवरण दर्ता गराएपछि यसमार्फत् कहाँ, कुन अवस्थामा र कति संख्यामा नेपालीहरू रहनुभएको छ भन्ने बारेको जानकारी प्राप्त गर्न अब सहज हुनेछ।'
उनले विवरण संकलन हुँदा विदेशमा रहेका नेपालीलाई आवश्यक कन्सुलर सेवा प्रदान गर्न तथा समस्यामा परेकाहरूको तत्कालै उद्धार गर्न सहज हुने बताइन्।
'परराष्ट्र मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालनमा ल्याइएको यस एपलाई सम्बद्ध देशका नेपाली राजदूताबासबाट अद्यावधिक गर्ने गरी व्यवस्था मिलाइएको छ' उनले भनिन्।
Shares

प्रतिक्रिया