कला


‘लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’लाई मदन पुरस्कार, भैरवबहादुर थापालाई जगदम्बाश्री

‘लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’लाई मदन पुरस्कार, भैरवबहादुर थापालाई जगदम्बाश्री

नेपालखबर
असोज ७, २०७८ बिहिबार १७:३२, काठमाडौँ

मदन पुरस्कार गुठीले २०७७ सालको मदन पुरस्कार भगिराज इङ्नामको ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’लाई र जगदम्बा श्रीबाट नृत्यशास्त्री भैरवबहादुर थापालाई सम्मानित गर्ने निर्णय गरेको छ। 

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले विज्ञप्तिमार्फत मदन पुरस्कार र जगदम्बाश्री पुरस्कार घोषणाको जानकारी दिए। 

०७७ सालको मदन पुरस्कार छनोटको सूचीमा लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९–२०२०) एकलव्यको देब्रे हात, करिया, कल्प–ग्रन्थ, नृत्याक्षर विज्ञान, फिलिङ्गो, फुलाङ्गे, मोक्षभूमि र रमिते गरी ९ वटा पुस्तक परेका थिए। 

नेपाली इतिहासमा प्राथमिक सामग्रीहरूको सङ्कलन र पहुँचलाई विस्तार गरेकाले इङ्नामद्वारा लिखित ‘लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’लाई मदन पुरस्कार लिने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ। 

त्यसैगरी सात दशकदेखि नृत्य विधाको अध्ययन, अनुसन्धान र मञ्चन गर्दै सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञानमार्फत् नृत्यक्षेत्रमा योगदान गरेका कारण भैरब बहादुर थापालाई ०७७ सालको जगदम्बा श्री दिने निर्णय गरेको गुठीले जनाएको छ । 

अघिल्लो वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीले पाएको थियो भने जगदम्बा श्री शान्ति ठटाललाई प्रदान गरिएको थियो। 

दुवै पुरस्कारको राशी ४/४ लाख रुपैयाँ रहेको छ।

विसं २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलो पल्ट २०१३ सालदेखि मदन पुरस्कार दिन थालेको हो। 

विसं २०१३ मा गद्यविधामा सत्यमोहन जोशीको ‘हाम्रो लोकसंस्कृति’, चितरञ्जन नेपालीको ‘ जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा बलराम जोशीको ‘अधिकविभक स्थिरविद्युत् उत्पादक’ लाई पुरस्कार प्रदान गरेको थियो।

यस्तै २०४५ सालदेखि गुठीले जगदम्बाश्री पुरस्कार दिन थालेको हो। सो पुरस्कार पहिलो पटक गायक तथा सङ्गीतकार नारायणगोपाललाई प्रदान गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad