बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजलाई भारतको प्रहरीले विदेश जान रोक लगाएको छ।
दुई सय करोड भारतीय रुपैयाँ ठगीसम्बन्धी मुद्दामा जोडिएपछि ज्याकलिनलाई देशबाहिर जान प्रतिबन्ध लगाइएको हो। भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी उनलाई त्यहाँ विमान चढ्न नदिइएको हो। सलमान खानको ‘द बैंग टुर’का लागि साउदी रियाद जान भनेर विमानस्थल पुगेकी उनलाई अध्यागमन विभागले उड्नबाट रोकेको हो।
ज्याकलिन विरुद्ध लुकआउट जारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यस विषयमा अर्की अभिनेत्री नोरा फातेहीसँग प्रहरीले सोधपुछ गरिसकेकाे बताइएकाे छ।
मिडिया रिपोर्टका अनुसार २ सय करोड ठगीको अभियोग लागेका सुकेश चन्द्रशेखरसँग प्रेम सम्बन्ध भएका कारण ज्याकलिन प्रमाण हुन सक्ने ठानेर प्रहरीले उनलाई विदेश जान नदिएको हो।
केही दिन अगाडि मात्र उनीहरूको तस्बिर सार्वजनिक भएको थियो।
सुकेशले प्रहरीसँगको बयानमा ज्याकलिनलाई ५२ लाखको घोडा र चारवटा बिरालो उपहार दिएको बताएका छन्। एउटा बिरालोको मूल्य ९ लाख भारु पर्ने उनले बताएका छन्।
ज्याकलिनले भने यो विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन्।
Shares
प्रतिक्रिया