कला


राजधानीमा अमरको काव्य साँझ

राजधानीमा अमरको काव्य साँझ

नेपालखबर
पुस ५, २०७८ सोमबार ११:१८, काठमाडौँ

पुसको आरम्भ । चिसो साँझ । राजधानीको शंकर होटलमा मुलुकका चर्चित कवि, कलाकार तथा समाजसेवीहरूको बाक्लो जमघट हुँदै थियो । कार्यक्रम हलमा एकाएक नेपथ्यबाट कविता गुञ्जियो–

‘फक्रिँदै रहरहरू निभ्नै लाग्यो जिन्दगी
अलिक वरै रोकिएछ घात भयो जिन्दगी ।’

त्यसपछि सुरु भयो, ‘अमर बान्तु काव्य साँझ’को औपचारिक आरम्भ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरे ।

समुद्घाटनपछि कवि तथा प्राज्ञ शशी लुमुम्बूले कवि अमर बान्तुका बारेमा प्रकाश पारे ।

उनले भने ‘माझ किँरातको एक ऐतिहासिक भूमि, नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको उर्वर बगैँचा भोजपुरको दिल्पा–नागीमा आमा वृन्दालक्ष्मी तथा बुबा लक्ष्मीप्रसाद राईका सातौँ सन्तानमध्येका काइँला सन्तानका रूपमा यस सुन्दर धरतीमा उदाएका स्रष्टा अमर बान्तु भोजपुरका मात्रै नभएर राष्ट्रकै एक अनमोल रत्न हुन ।’

उनले थपे ‘काव्य–नायक अमर बान्तुका बारेमा केही बोल्ने प्रयत्न गर्नु भनेको सूर्यको अगि बत्ती देखाउनुजस्तो मात्रै हो । म यहाँ त्यही सूर्यलाई बत्ती देखाइरहेको छु ।’

त्यसपछि कवि अमर हँसिलो र फुर्तिलो भावमा मञ्चमा प्रवेश गरे । उनले शिव ताण्डवस्तोत्र प्रस्तुत गर्दै कविता वाचन सुरु गरे । 

‘मेरी प्रिय कविता
किन किन घुमाउरो भए पनि
तिम्रै घरको बाटो हिँड्न मन लाग्छ
एकतर्फी प्रेममा परेछु कि कसो
सधैँ सधैँ तिम्रै याद आइरहन्छ
अघोरै माया लागिरहन्छ ।’

मिलाप मासिकले आयोजना गरेको काव्य साँझमा करिब एक घण्टाको समयमा स्रष्टा बान्तुले ‘होची मिन्ह’ र ‘पोलपोट’ शीर्षकको कविता सुनाएर मुलुकका लागि हिंसा, विभेद तथा अत्याचार कहिल्यै र कसैलाई पनि सह्य नहुने भाव प्रकट गरे ।

त्यसपछि उनले गजल सुनाए । उनले कार्यक्रमको ‘घरबेटी’ र ‘चोकमा गफिनेहरू’को गजल सुनाएर कविता/काव्य प्रस्तुतिको मैझारो गरे । 

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बान्तु बहुमुखी प्रतिभाका धनी भएको बताए ।  बान्तुका कविता तथा गीत सङ्ग्रह ‘परिभाषाका राँटाहरू’ र गीति एल्बम ‘अमर भावना’ र ‘अमर भावना–२’ प्रकाशित छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad