संगीत साम्राज्ञीका नामले पुकारिने लता मंगेशकरले जीवनकालमा ३६ भाषामा हजारौँ गीत गाइन्। एकदम कलिलो उमेरदेखि गाउन सुरु गरेकी लताको गायन यात्रा सात दशकभन्दा लामो समय निरन्तर चलिरह्यो।
आधा दर्जनभन्दा बढी भाषा बोल्न सक्ने उनी जम्मा एक दिन मात्रै स्कुल गएकी थिइन्। स्कुल नै नगई उनले कसरी लेख्न, पढ्न र यति धेरै भाषा सिकिन् त?
नसरिन मुन्नी कबिरको वार्तालापमा आधारित पुस्तक लता मंगेशकरः इन हर वन भ्वाइसमा लताले यसबारे चर्चा गरेकी छन्। सो पुस्तकको एक अंशः
तपाईं एक दिन मात्रै स्कुल जानुभएको थियो भन्ने मैले पढेको थिएँ।
पहिले म नर्सरीमा थिएँ। शिक्षकले कालोपाटीमा ‘श्री गणेशजी’ लेख्थे। म त्यसलाई जस्ताको तस्तै नक्कल गर्थेँ। १० मा १० नम्बर पाउँथेँ। म नर्सरीमा हुँदै काकाकी छोरी वसन्ती मुरलीधर स्कुलमा तीन कक्षामा पढ्थिन्। त्यो मराठी भाषामा पढाइ हुने स्कुल थियो। हाम्रो घरभन्दा ठिक पारिपट्टि। कहिलेकाहीँ म पनि उनीसँगै त्यो स्कुल जान्थेँ। उनको संगीतको कक्षा हुँदा शिक्षिकाले गाएको म ध्यान दिएर सुन्थेँ।
एक दिन शिक्षिकाले मलाई देखाउँदै दिदीलाई सोधिन्ः ‘को हो यो?’
मैले जुरुक्क उठेर भनेँ, ‘म मास्टर दीनानाथकी छोरी।’
‘उहाँ त ठूलो गायक हो। तिमी गाउन सक्छौ?’ शिक्षिकाले सोधिन्।
मैले उनलाई माल्कोस, हिन्दोलजस्ता अनेक राग गाउन सक्छु भनेँ। उनले मलाई सिधै स्टाफ कोठामा लिएर गइन्। त्यहाँ शिक्षकहरु बसिरहेका थिए र मलाई गाउन भनिन्। मैले हिन्दोल रागमा आधारित शास्त्रीय गीत गाएँ। त्यसबेला म चार या पाँच वर्षकी थिएँ।
त्यसपछि म त्यही स्कुल भर्ना हुने दिन पनि आयो। त्यो बेला आशा (बहिनी) दस महिनाकी थिइन्। मैले उनलाई हातमा बोकेँ र स्कुल गएँ। कक्षामा पसेर मैले आशालाई काखमा राखेर बसेँ। तर, शिक्षिकाले कडा स्वरमा भनिन्, ‘यहाँ बच्चा ल्याउन अनुमति छैन।’
मलाई चर्को रिस उठ्यो। म उठेँ र आशालाई लिएर घर आएँ। त्यसपछि कहिल्यै स्कुल फर्केर गइनँ।
पढ्न र लेख्न कसरी सिक्नुभयो त?
म तीनचार वर्षकी थिएँ होला। हाम्रोमा काम गर्ने भित्तल किशोरावस्थामा थिए। उनलाई मैले मराठी अक्षर सिकाइमागेँ। मराठी घरमै सिकेँ।
कोल्हापुरमा हुँदा इन्दिरा दिदीबाट मैले हिन्दी सिकेँ। मध्यप्रदेशको हुनाले उनी राम्ररी हिन्दी बोल्थिन् र हिन्दी म्यागेजिनमा कथा पनि लेख्थिन्। तर, सिक्ने समय निकै कम पाएँ किनभने हामी बाबाको नाट्यमण्डलीसँगै हिँडिरहन्थ्यौँ।
अन्तिममा बम्बईमा बस्न थालेपछि लेखराज शर्माबाट मैले हिन्दी सिकेँ।
प्रफुल्ल पिक्चर्सका निर्देशक राम गाबाडेले मलाई अंग्रेजी सिकाए। मलाई अंग्रेजी पढ्न मन पर्थ्यो। भारतमा धेरै बोलिने भएकाले पनि यो भाषा सिक्न जरुरी थियो। रेल चढेर काममा जाँदा म मराठी र हिन्दी उपन्यास पढ्ने गर्थेँ।
१९५० को दशकमा हार्दिकार नामक एक ब्राह्मण पुजारीले मलाई संस्कृत सिकाए। म संस्कृत सिक्न निकै इच्छुक थिएँ किनभने यसले शब्दभण्डार र उच्चारण निखार्छ। र, म भागवद् गीता पढ्न चाहन्थेँ। छोटोछोटो समयका लागि अनेक गुरु थिए। तर, धेरैजसो आफैँले सिकेँँ।
तपाईं कति भाषा जान्नुहुन्छ?
मराठी, हिन्दी, उर्दु, अलिअलि पञ्जाबी र संस्कृत बुझ्न सक्छु। बंगाली पनि सिकेँ मैले।
फिल्म निर्माता वासु भट्टाचार्यलाई चिन्नुहुन्छ? उनी विमल रोयको सहायकका रुपमा काम गरिरहेका थिए। मलाई बंगाली सिक्न मन लाग्दा संगीतकार सलील चौधरीले उनलाई मकहाँ पठाएका थिए। मैले तमिल पनि सिक्ने कोसिस गरेँ। म अलिअलि पढ्न र लेख्न सक्छु तर तमिल बोल्न साह्रै अप्ठेरो छ।
तपाईं त खरो भाषाविज्ञ हुनुहुँदो रहेछ। भाषा सिक्ने चाहना कसरी सुरु भयो?
१९४६ मा सुभद्रा नामक फिल्ममा काम गरिरहेकी थिएँ। प्रसिद्ध मराठी अभिनेत्री शान्ता आप्टे सुभद्राकी नायिका थिइन्। हामीले सँगै एउटा गीत गायौँ र उनले मलाई आफूले तमिलमा एउटा गीत रेकर्ड गरेको बताइन्। म कलिलै थिएँ, पन्ध्रसोह्रकी। तर, उनले त्यसो भनेको सुन्दा मैले सोचेँ– मैले पनि अरु भाषा सिक्नै पर्छ ताकि धेरै भाषामा गाउन सकूँ।
तपाईंको सिक्ने उत्सुकता असाधारण छ। कति भाषामा गीत गाउनुभयो?
३६। मैले भारतका प्रत्येक भाषामा गाएकी छु। त्यसबाहेक डच, रुसी, फिजियन, स्वाहिली र अंग्रेजी पनि।
बिहे गर्नुभएको भए तपाईंको जीवन निकै अलग हुनसक्थ्यो। के तपाईंलाई संगीतले पुरै समाहित तुल्यायो? कहिलेकाहीँ तपाईंलाई एक्लोपनको महसुस हुन्छ?
अहँ। मैले कहिल्यै एक्लो महसुस गरिन्ँ। म सधैँ परिवारसँग रहेँ। म परिवारमै हुर्किएँ। म सानै छँदा मेरा थुप्रै जिम्मेवारी थिए। तर, सधैँ म बलियो आडमा छुजस्तो लागिरह्यो। परिवारमा सबैभन्दा उमेर खाएको मान्छे आमा हुनुहुन्थ्यो। उहाँले नै हामी सबैको ख्याल राख्नुभयो। बाबा बित्दा उहाँ ३६–३७ वर्षकी हुनुहुन्थ्यो। उहाँ निकै शान्त, सहनशील र धैर्यवान् हुनुहुन्थ्यो।
१९९५ मा उहाँ बित्दा मैले ठूलो क्षति महसुस गरेँ। त्यसपछि मात्रै म परिवारको मुखिया भएँ।
सपनामा बुबाआमालाई देख्नुहुन्छ?
कहिलेकाहीँ। तर, उहाँहरु केही भन्नुहुन्न। मेरो बाबा १९४२ मा बित्नुभयो। १९४३ मा म पहिलो पटक बम्बई आएँ र स्टेजमा गाउन थालेँ। म फूपुको घरमा बसेकी थिएँ। फूपाजु र उनका भाइ पनि त्यहीँ थिए। दिउँसो मैले रिहर्सल गर्न सुरु गरेँ तर, मैले राम्ररी गाइनँ भनेर फूपाजुहरुले नराम्ररी गाली गरे। स्टेजमा गाउनु ठिक होइन भने। मैले सुनेँ मात्रै, केही भनिनँ।
म कोठाभित्र पसेँ र रोएँ। रुँदैरुँदै निदाएँ। सपनामा मैले बाबा स्टेजमा उभिएर गीत गाइरहेको देखेँ। त्यो दिन ब्युँझिएपछि साँझमा मैले फूपुलाई सपना सुनाएँ। उहाँले भन्नुभयो– ‘तिम्रो कार्यक्रम राम्रो हुन्छ, बाबाले तिमीलाई आशीर्वाद दिनुभयो।’
भोलिपल्ट बिहान ९ बजे म अपेरा हाउस गएँ, जहाँ कार्यक्रमा थियो। मैले दुई वटा गीत गाएँ। दर्शकहरुले निकै मन पराए र जोडले ताली बजाए। मैले अर्को गीत पनि गाउनुपर्यो।
(स्क्रोल डटइनबाट)
Shares

प्रतिक्रिया