युट्युब र टिकटकमा बाक्लै भेटिने नाम हो– पुण्य गौतम।
उनी आफूलाई सामाजिक अभियन्ता भन्छन्। तर उनले गरेका सामाजिक काम के हुन कसैलाई थाहा छैन।
बरु उनी ठाउँ, कुठाउँ विभिन्न अभिव्यक्ति दिइरहेका हुन्छन्। भाषण गर्छन्। उनले गाली गर्न बाँकी कमै मान्छे होलान्। उनी प्रायःजसो भृकुटीमण्डपतिर हल्लिरहेका भेटिन्छ। कहिलेकाहीँ त त्यहीँ कुस्ती खेल्छन्।
उनका कुस्ती र गफ खिच्न आइपुग्छन् युट्युबर। खिचिसकेपछि युट्युबरले दिएको पैसाले कुस्ती खेलेकै मान्छेसँग बसेर चिया खान्छन् भन्ने पनि हल्ला छ बजारमा।
पुण्यका केही हर्कत जसले हाम्रा कलाकारलाई हैरान बनाएको छ। बजारमा कलाकारको कुनैपनि प्रसंग आउनु हुँदैन उनी युट्युबरको क्यामेरा अगाडि बस्छन् र फोन गर्छन्।
फोन गर्दै गर्दा उनले कहिले म फलानो युट्युबरको क्यामेरा अगाडि छु भनेर खुलाएको थाहा छैन्। तर उनी मनलाग्दी कलाकारसँग बोल्छन, सोध्छन् र त्यही अडियो कुराकानी युट्युबरलाई प्रसारण गर्न दिन्छन्। जहाँ कलाकारहरु झन विवादमा फस्ने गरेका छन्।
उनको व्यवहारले हैरान भएका कलाकार हिजोआज उनको फोन उठाउन छाडेका छन्। तर पटक पटक कलाकारले फोन काट्दा पनि उनी फोन गरिरहन छोड्दैनन्।
यसको पछिल्लो उदाहरण हो ‘न बिर्सेँ तिमीलाई’बोलको गजल विवाद। यो गजल पछिल्लो भर्सनमा गाएर विवादमा तानिएपछि गायिका रचना रिमाललाई फोन गरे।
रचनासँग कुरा गरे।
तर रचनालाई उनले जानकारी दिएका छैनन् आफ्नो अगाडि युट्युबरको क्यामेरा छ, तपाईसँग मैले भिडियोको लागि कुराकानी गरेको भनेर। रचनाले उनको फोन दुई पटकसम्म काटेकी थिइन। नभनेरै पुण्यले रचनासँग गरेको कुराकानी मिडियामा आयो।
यसरी कुनै पनि व्यक्तिलाई फोन गरेर उसको अनुमतिविना फोन रेकर्ड गर्नु गैरकानुनी काम हो। पुण्यको यो गैरकानुनी कदमलाई लिएर हैरान भएका कलाकारले उनीविरुद्ध आवाज भने उठाउन सकेका छैनन्। पुण्यले पनि युट्युबरका अगाडि चिच्याई चिच्याई कलाकारलाई फोन गर्न छोडेका छैनन्।
Shares

प्रतिक्रिया