कला


आत्मसमर्पण गर्दै पलले भने– म निर्दोष छु, अदालतमै प्रमाण पेस गर्छु

आत्मसमर्पण गर्दै पलले भने– म निर्दोष छु, अदालतमै प्रमाण पेस गर्छु

नेपालखबर
फागुन १५, २०७८ आइतबार १३:१२, काठमाडौँ

चर्चित अभिनेता एवम् मोडल पल शाह अहिले जिल्ला प्रहरी कार्यालय तनहुँको नियन्त्रणमा छन्। 

आइतबार उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन्। चार दिनदेखि प्रहरीले खोजी गरिरहेको भए पनि पक्राउ गर्न सकेको थिएन। आइतबार बिहान उनले सामाजिक सञ्जालमार्फत आजै आत्मासमर्पण गर्ने जानकारी गराएका थिए। 

उनले बिहान फेसबुकमा स्टाटस लेखेका थिए भने पछि भिडियो पनि सार्वजनिक भएको छ। 

उनले भिडियोमार्फत भनेका छन्, ‘आज जाहेरी परेको ३÷४ दिन भयो होला। सबैले भन्नु भएको रहेछ किन कहाँ गयो ? के भयो, कस्तो छ अवस्था ? मेरो अवस्था ठिक छ अहिले।’

आत्मसमर्पण गर्न ढिलो गर्नको कारण घर व्यवहार मिलाउनुपरेको र स्वास्थ्य स्थिति पनि कमजोर भएको बताएका छन्। 

‘प्रहरीसमक्ष आत्मसमर्पण गरिसकेपछिको अवस्था जे पनि आउन सक्छ घरमा। व्यवहार मिलाउनुपर्यो । किनभने घरमा गार्जेन भनेकै म हो। बुबा, ममी बहिनी सबैको गार्जेन मै हो। सबै मिलाउनु थियो। त्यही भएर म नेपाल प्रहरीसामु उपस्थित हुन सकिन। त्यसप्रति म माफी माग्न चाहन्छु। मेरो कारण कसैलाई अप्ठ्यारो परेको छ भने क्षमा चाहन्छु। आज म आत्मसमर्पण गर्दै छु र कानुन कार्यान्वयनमा म सहयोग गर्नेछु।’

उनले आफू निर्दोष भएको दाबी गर्दै अदालतमा त्यस्ता प्रमाण दिने बताएका छन्। 

‘अब म मेरोतर्फबाट आफ्ना कुराहरु राख्नेछु । मसँग भएका प्रमाणहरु पनि दिनेछु। मलाई डे वान बाटै फसाउँदै फसाउँदै यहाँसम्म ल्याइएको छ । म त्यो पनि भन्ने छु सम्मानित अदालतमा’, पलले भिडियोमा भनेका छन्। 

प्रहरी नियन्त्रणमा भएपनि गत शुक्रबार मात्रै रिलिज भएको फ्लिम ‘म यस्तो गीत गाउँछु २’ दर्शक र निर्माता टिमसँग बसेर हेर्ने चाह व्यक्त गरेका छन्। 

‘मेरो तीन चार वर्षदेखिको एउटा सपना थियो नेपाली फ्लिम दर्शकहरुसँग बसेर हेर्ने। मैले सुनेअनुसार शुक्रबार र शनिबार एकदमै राम्रो व्यापार गर्यो रे। एकदमै खुसी पनि लागेको छ। मेरो सपना थियो तपाईहरु सँगसँगै बसेर फ्लिम हेर्ने, त्योचाहिँ पूरा भएन। अब प्रहरी समक्ष गइसकेपछि पुरा नहोला पनि । नेपाल सरकारलाई पनि म अनुरोध गर्न चाहन्छु’, पलले भनेका छन्। 

सम्भव भए त्यो सपना पूरा गरिदिन उनले अनुरोध गरेका छन्। उनले दाबी गरेका छन्, ‘म आजदेखि प्रहरीसामु हुनेछु र अब सम्मानित अदालतले जे निर्णय गर्नेछ त्यसमा म खुशी हुनेछु। यति भन्न चाहन्छु, म बेकसुर छु निर्दोष छु।’

आइतबार नै जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गर्नेछ। 

पोखरा घर भएकी एक गायिकामाथि बलात्कार गरेको भन्दै उनका बुबाले जिल्ला प्रहरी कार्यालय तनहुँमा गत बुधबार जाहेरी दिएका थिए। ती गायीका १८ वर्षमुनिकी हुन्। 

विवाह गर्ने प्रलोभनमा पारेर जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। पलको घर दाङ र गायिकाको घर पोखरा भए पनि अन्तिम घटनास्थल तनहुँ भएकाले तनहुँमा जाहेरी दर्ता भएको हो। 

मुलुकी अपराध संहिताअनुसार १६ वर्षभन्दा बढी र १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। 

पहल शाहले करणी गरेको ठहर भएमा यही सजाय हुनसक्छ। कानुनले १८ वर्ष मुनिका किशोरीसँग सहमतिमा यौनसम्बन्ध गरे पनि बलात्कार मान्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad