एमडी ग्रुपको प्रस्तुति र मम्स इन्टरनेसनल नेपालले आयोजना गरेको चौधौँ संस्करणको ‘मिस तामाङ २०२२’ को उपाधि सोलुखुम्बुकी रञ्जना स्याङ्बो तामाङले जितेकी छन्। प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि सुरक्षित गरेकी हुन्।
राष्ट्रिय सभागृहमा भएको फिनालेमा ‘मिस तामाङ २०२२’ रञ्जनालाई ‘मिस तामाङ २०२१’की विजेता सफलता तामाङले ताज पहिराई दिएकी थिइन्। रञ्जनाले उपाधिसँगै एक लाख नगद तथा गिफ्ट ह्याम्पर पाएकी छन्।
प्रतियोगितामा काभ्रेकी पूजा तामाङ ‘फस्ट रनर अप’ बन्दै ५० हजार नगद पुरस्कार हात पार्दा डिजी लोप्चन ‘सेकेन्ड रनर अप’ र दोलखाकी प्रकृति पाख्रिन ‘थर्ड रनर अप’ भए।
कार्यक्रममा तामाङ शैक्षिक परामर्श संघका अध्यक्ष केडी मोक्तान, डा. दिलबहादुर थोकर, ‘मिस तामाङ २०१७’की पिङ्की घिसिङ, ‘मिस नेपाल २०१९’ की अनुश्का श्रेष्ठ र निर्देशक राज किङ वाइबा निर्णायक थिए।
कार्यक्रमको प्रमुख अतिथि अनेरास्ववियुका पूर्वअध्यक्ष तथा सभासद नवीना लामा रहेकी थिइन्। मम्स इन्टरनेसनल नेपालका अध्यक्ष रन्जिता लामाले तामाङ भाषा, धर्म, कला संस्कृति, भेषभुषाको संरक्षण तथा प्रबर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइन्।
कार्यक्रममा गायक तथा सडक विभागका सह–सचिव देवकुमार तामाङ, नेपाल सरकारका पूर्वसचिव धनबहादुर तामाङ, फ्याफुल्जी डिजिटल मिडियाका अध्यक्ष तथा फिल्म निर्देशक बिनय दोङ तामाङलगायतको उपस्थिति रहेको थियो।
अभिनेता अमिर दोङ र सुश्मा मोक्तानले नृत्य प्रस्तुत गर्दा सन्जोक योन्जन र कुन्साङ वाइबाले गीत गाएका थिए। कार्यक्रम कोरियोग्राफर रोजिन शाक्य र सिर्जना पाख्रिनले सञ्चालन गरेका थिए।
Shares

प्रतिक्रिया