गायक शिव परियारले संवेदनाका नाममा पनि दलित कलाकारमाथि विभेद भइरहेको बताएका छन्। उनले जातीय विभेद विरुद्धका गीत रेकर्डका क्रममा संवेदनशील भएजस्तो गरेर दलित गायक/गायिका नै खोजिनु पनि जातीय विभेदको नमुना भएको बताएका हुन्।
उनले जातियता गीत लेखेर उक्त गीत गाउन सम्बन्धित जातका कलाकार खोज्दै हिँड्नुले समाजमा रहेको विभेदमा झन बल दिएको उनको धारणा छ। जातिय विभेद कुनै एक समुदायको मात्रै समस्या नभएको भन्दै अन्य जातका मानिसले गाउँदा त्यो झन प्रभावकारी बन्ने उनको भनाई छ।
परियार भन्छन्, ‘जातीय विभेद उन्मुलन तथा जातिय समताका गीतमा स्वर भर्न परियार, नेपाली, विश्वकर्मा थर भएका गायक गायिका मात्रै खोजी गर्नु, गायनका लागि प्रस्ताव गर्नु वा यस विषय सम्बद्ध गायनमा उनीहरुलाई मात्रै संलग्न गराउने सोच राख्नु पनि जातीय विभेदकै एउटा सुषुप्त नमुना हो ।’
उनी अगाडि भन्छन् ‘जातीय समताका लागि जनचेतना जगाउने गीत गैर उत्पीडित भनेर चिनिएका सम्प्रदाय सम्बद्ध गायक/गायिकाले गाउँदा यस विषयमा जनचेतना फैलिन अझ सहज हुन्छ।
जातीय विभेद केवल एक सम्प्रदाय या जातिको मात्र समस्या नभई यो समग्र देशकै चेतनाको विकासको बाधक बनेको समस्या हो। यो समग्र नेपाल देशकै विकासको बाधक समस्या हो। सबैले बुझौँ र सबैले यो निर्मूल पार्ने प्रेमिल अभियानमा आफूलाई आजै देखि सामेल गरौं।’
Shares

प्रतिक्रिया