कला


आमा बनेपछि कोही अभिनेत्री चम्किए, कोही भए गुमनाम

आमा बनेपछि कोही अभिनेत्री चम्किए, कोही भए गुमनाम

फाइल तस्बिर


राधिका अधिकारी
चैत २१, २०७८ सोमबार १३:०, काठमाडौँ

एक समय नेपाली चलचित्रकी व्यस्त अभिनेत्री थिइन् विपना थापा। थुप्रै हिट फिल्म दिएकी विपना अधिकांश निर्माता निर्देशको रोजाइमा पर्थिन्। फिल्म उद्योगमा राम्रो क्रेज भएकै बेला उनले भारतीय नागरिक आशुतोष भारद्वाजसँग विवाह गरिन्। नेपाली कथानक चलचित्र ‘बरमाला’मा लगानी गरेर नेपाल आइपुगेका आशुतोषसँग २०६४ सालमा विवाह गरेर भारतको मथुरा पुगिन्। विवाहको केही समयमा आमा बनेकी उनी त्यसपछि फिल्म उद्योगमा देखिएकी छैनन्। 

यी अभिनेत्री पुनः फिल्ममा फर्किने सम्भावना पनि निकै कम छ। हुन त विपनाले उचित भूमिका र ब्यानरको फिल्म पाए आफू अभिनयमा फर्किन तयार रहेको बताउन थालेको धेरै भइसक्यो। अहिलेसम्म उनलाई उचित भूमिका दिएर उद्योगमा फर्काउन चाहने निर्माता, निर्देशक भने देखिएका छैनन्।

सदाबहार नायिकाको उपाधि पाएकी करिश्मा मानन्धर भने आमा र पर्दाको भूमिकालाई सँगसँगै हुर्काएकी अभिनेत्री हुन्। चलचित्र निर्माता विनोद मानन्धरसँग विवाह गरेपछि नै फिल्मी करिअर चम्काएकी करिश्माकी एक छोरी छिन्। २०४६ सालमा निर्माण भएको ‘सन्तान’ फिल्मबाट अभिनय यात्रा सुरु गरेकी करिश्माको करिअर सन्तान हुर्किसक्दा पनि रोकिएन। 

आफ्नो समयमा कयौँ हिट फिल्म दिएकी करिश्माले छोरीलाई पनि फिल्म क्षेत्रमै स्थापित गराउने असफल प्रयास गरिन्। करिश्माले अभिनेता शिव श्रेष्ठले निर्माण गरेको चलचित्र ‘यस्तो एउटा प्रेम कहानी’ मार्फत छोरीलाई रजतपटमा डेब्यु गराइन्। फिल्ममा कविताको अभिनयको चर्चा नै हुन पाएन। त्यसपछि छोरीलाई पुनः फिल्ममा फर्काउने हिम्मत नगरेकी करिश्मा आफैं राजनीतिमा लागेकी छिन्। 

आमा बनेपछि चम्किएकी अर्की अभिनेत्री हुन्– झरना थापा। निर्माता सुनिलकुमार थापासँग विवाह गर्दा झरनाको फिल्मी करिअर सुरु भएकै थिएन। पीके क्याम्पसमा बीए पढ्दा पढ्दै विवाह गरेकी झरना २०५२ सालमा निर्माण भएको फिल्म ‘दाइजो’मा छोटो भूमिकाका साथ अभिनयमा प्रवेश गरेकी हुन्।  झरना दोस्रो फिल्म ‘धर्मसंकट’मा काम गर्दा आमा भइसकेकी थिइन्। अभिनेत्रीका रुपमा कयौँ हिट फिल्म दिएकी झरना निर्माता हुँदै सफल निर्देशकका रुपमा सिन स्थापित भइन्। सन्तान प्राप्तिले उनको बाटो छेकेन।

झरनाले आफैँले निर्देशन गरेको फिल्ममार्फत छोरी सुहाना थापालाई पनि पर्दामा उतारिन्। पहिलो फिल्मबाटै चर्चा कमाएकी सुहाना अभिनित दोस्रो ‘ए मेरो हजुर ४’ आगामी वैशाख १ गतेबाट प्रदर्शनको तयारीमा छ। 

दुई सन्तानकी आमा सञ्चिता लुइँटेल बिस्तारै उद्योगमा सक्रियता बढाइरहेकी छिन्। २०५७ सालमा निर्माण भएको फिल्म ‘अप्सरा’बाट फिल्मी यात्रा थालेकी सञ्चिताले ०५८ सालमा आकाश शाहसँग विवाह गरेकी थिइन्। आकाशसँग उनको सहयात्रा लामो समय टिक्न सकेन। त्यसपछि अभिनेता निखिल उप्रेतीसँग विवाह गरेकी सञ्चिता केही समय फिल्म उद्योगबाट गायब भइन्। एक वर्षको अन्तरालमा दुई सन्तान जन्माइन्। सन्तान जन्मिएपछिका लगभग ५ वर्ष उनी चलचित्रमा सक्रिय हुन सकिनन्। बिस्तारै काममा फर्किएकी सञ्चिता पर्दामा आफ्नो पुरानो क्रेज फर्काउने कसरतमा छिन्।  

एक समयकी चर्चित अभिनेत्री ऋचा घिमिरे भने आमा बनेपछि उद्योगबाट मात्रै होइन देशबाटै बाहिरिइन्। चलचित्र सुटिङकै क्रममा भेटिएका निर्देशक शंकर घिमिरेको प्रेममा परेकी ऋचाले उनैसँग विवाह गरिन्। विवाहपछि फिल्म ‘ब्रेकफेल’मा लगानी गरेकी ऋचाको लगानी उठ्न सकेन। त्यसपछि ‘तुलसी’निर्माण गरेकी ऋचाको लगानी यो फिल्मले पनि उठाउन सकेन। एक छोरीकी आमा बनेकी ऋचा त्यसपछि उद्योगबाट बिरक्तिएर विदेश लागिन्।

८ वर्ष अघि एक छोरा र श्रीमानका साथ अमेरिका उडेकी ऋचाले उतै एक छोरा र छोरी जन्माइन्। त्यसपछि उनी फिल्म उद्योगमा फर्किने सम्भावना निक्कै कम छ। केही समयअघि नेपाल आएका बेला ऋचाले पनि पुनः अभिनयमा फर्किने सोच बनाएको, फर्काउने मान्छे पर्खिरहेको बताएकी थिइन्।

आमा बनेपछि अभिनय छाडेकी अर्की अभिनेत्री हुन् मेलिना मानन्धर। २०५१ सालमा बनेको दीपक रायमाझीको ‘प्रियसी’फिल्मबाट अभिनय यात्रा प्रारम्भ गरेकी मेलिनाले मुकेश ढकालसँग विवाह गरिन्।

विवाहपछि एक छोरी जन्माएकी मेलिना परिवारका साथ अमेरिका उडिन्। एक समय थुप्रैकी प्रिय अभिनेत्री बन्न सफल मेलिनाले त्यसपछि फिल्ममा फर्किने कसरत गरिनन्। ठूलो फिल्म ‘ज्वालामुखी’ र टेलिश्रृखंला ‘करुणा’ निर्माण समेत गरेकी मेलिनाले पनि एकताका सामाजिक सञ्जालमार्फत आफू फिल्ममा फर्किन चाहेको बताएकी थिइन्। तथापि उनी पनि पर्दामा फर्किने सम्भावना कम देखिन्छ।

‘दुलही’ फिल्मबाट फिल्म उद्योगमा आएकी अभिनेत्री सुमिना घिमिरे आफैँ दुलही बनेपछि भने अभिनयबाट हराइन्। झण्डै पाँच दर्जन फिल्ममा अभिनय गरेकी सुमिना विभिन्न कारणले विवादमा आइरहिन्। विवाहपछि एक छोरीकी आमा बनेकी सुमिना त्यसपछि पर्दामा देखिएकी छैनन्। उनले पनि अभिनयमा फर्किने चासो देखाएकी छैनन्। 

युवापुस्ताले निकै रुचाएकी अभिनेत्री हुन्– निशा अधिकारी। पर्दामा राम्रो अभिनय गर्ने निशाले क्रिकेटर शरद भेषावकरसँग विवाह गरिन्। विवाहपछि उनले एक फिल्ममा लगानी समेत गरिन्। तर आमा बनेपछि भने उनी उद्योगमा निष्क्रिय छिन्। एक छोरा हुर्काइरहेकी निशा सामाजिक सञ्जालमा भने निकै सक्रिय देखिन्छिन्। निशाले पनि उद्योगमा फर्किहाल्ने चासो देखाएकी छैनन्। 

अभिनेत्री गरिमा पन्त पनि भर्खरै आमा बनेकी छिन्। हिट फिल्म झोलामा अभिनय गरेर राम्रो चर्चा पाएकी गरिमा सफल अभिनेत्री हुन्। तर, हरि शर्मासँग प्रेम विवाह गरेर बेल्जियम पुगेकी गरिमा विवाहपछि उद्योगबाट टाढा भइन्। छोरी हुर्काइरहेकी गरिमाले पनि तत्काल फिल्ममा फर्किने सम्भावना देखेकी छैनन्। तथापि उद्योगलाई माया नमारेको उनी बताउँछिन्।

केही दिनको फरकमा आमा बनेका ऋचा शर्मा र प्रियंका कार्की अहिले आ–आफ्ना सन्तानसँग रमाइरहेका छन्। प्रियंका छिट्टै फिल्ममा फर्किने तयारीमा छिन्। छोरीको भात खुवाइ गरिसकेकी प्रियंका अहिले जिमखाना धाइरहेकी छिन्। भदौको अन्तिम साता आमा बनेकी ऋचा छोरो हुर्काइरहेकी छिन्। उनले केही समय परिवारमा व्यस्त भए पनि फिल्म उद्योगबाट टाढा रहन नसक्ने बताएकी छिन्। प्रियंका र ऋचा दुवै फिल्ममा फर्किने तयारीमा छन्। आमा बनेपछिको उनीहरुको फिल्म करिअरले कस्तो लय समात्ने हो, त्यसका लागि भने कुर्नै पर्ने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .