चर्चित नायिका वर्षा सिवाकोटीले पनि शुक्रबार अमेरिकामा बस्दै आएका आशिष गेलालसँग बिहे गरेकी छन्।
अर्की नायिका केकी अधिकारीले वैवाहिक जीवन सुरु गरेको केही दिनमै वर्षाले पनि बिहे गरेकी हुन्।
करिब डेढ सय आफन्तबीच वर्षाले काठमाडौंको एक अपार्टमेन्टमा बिहे गरेकी हुन्।
वर्षा र आशिषले मागी बिहे गरेका हुन्। परिवारले बिहेको कुरा गरेपछि वर्षा एक महिना पहिले अमेरिका पुगेकी थिइन्।
अमेरिकामै सल्लाह गरेर फर्किएकी उनी र आशिषले दाम्पत्य जीवन थालेका हुन्।
वर्षा र आशिषले बिहेपछि सामाजिक सञ्जालमा एउटा पोस्ट गरेका छन्।
‘आज हामी परिवारको उपस्थितिमा एक निजी समारोहबीच विवाह बन्धनमा बाँधिएका छौं। यो कुरा सुनाउन पाउँदा हामी अत्यन्तै हर्षित छौं। हामी जीवनको नयाँ अध्यायमा प्रवेश गरेका छौँ। तपाईँहरू सबैलाई माया र समर्थनको लागि धन्यवाद दिन चाहन्छौं।’
वर्षा र आशिषले बिहेको तस्वीर अझैसम्म सार्वजनिक गरेका छैनन्। आशिष लामो समयदेखि अमेरिका रहेका छन्। उनको घर बालुवाटारमा पनि छ।
वर्षाले ‘नाईं नभन्नू ल २’बाट अभिनेत्रीका रुपमा डेब्यू गरेकी थिइन्। उनले हालसम्म दुई दर्जन बढी फिल्ममा अभिनय गरेकी छन्।
उनको नयाँ फिल्म ‘लक्का जवान’ वैशाख २३ गते प्रदर्शनमा आउँदैछ। त्यसैगरी ‘परदेशी २’ आगामी दशैँमा प्रदर्शन तयारीमा छ।
Shares

प्रतिक्रिया