ad ad

कला


भूपेन्द्रले ‘चोर’ भनेपछि कवि अर्जुन पराजुली तनावमा

भूपेन्द्रले ‘चोर’ भनेपछि कवि अर्जुन पराजुली तनावमा

नेपालखबर
जेठ ५, २०७९ बिहिबार १४:१८, काठमाडौँ

धेरै स्रष्टालाई लाग्छ, प्रकाशकले आफ्नो सिर्जनाको संरक्षण गरिदिन्छन्। त्यही विश्वासमा सर्जकहरूले आफ्ना सिर्जनाको फाइल प्रकाशकलाई बुझाएर बसेका हुन्छन्।

तर बुधबारको एउटा घटनालाई हेर्ने हो भने प्रकाशकले सर्जकलाई नै ‘चोर’ करार गर्न कुनै कसर बाँकी राख्दैनन् भन्ने नमिठो नियति स्थापित भएको छ।

नेपाली साहित्य क्षेत्रमा भुपेन्द्र खड्कालाई नचिन्ने मानिस कमै छन्। आफैं प्रकाशक समेत रहेका भुपेन्द्र सञ्चारकर्मी पनि हुन्।

लामो समयदेखि कान्तिपुर रेडियोमा कार्यक्रम सञ्चालन गर्दै आएका भुपेन्द्र केही समयदेखि ‘बुकहिल’ नामक प्रकाशन गृहका प्रकाशक हुन्। उनी आफैंमा गीतकार पनि हुन।

उनै खड्काले सन २०१३ मा एउटा स्टाटस लेखेका रहेछन्।

गोरुले गधालाई सोध्यो–

भाइ! चुनाव त जितिछस्

तर, मान्छेले

तँलाई– मत कसरी दिए नी?

गधाले भन्यो–

चुनाव जित्नुअघि त

म पनि मान्छे नै थिए नि!!

खड्काले यो स्टाटस लेखेताका कसैलाई क्रेडिट दिएका थिएनन्। ठ्याककै यिनै वर्ड चर्चित कवि अर्जुन पराजुलीले बुधबार आफ्नो नाममा कविता नाम दिए फेसबुकमा पोस्ट गरे। खड्काले आफ्नो ९ वर्ष अघिको सोही स्टाटसको स्क्रिन सर्टमा अर्जुन पराजुलीको स्क्रिनसर्ट जोडेर चोरीको आरोप लगाए। त्यसपछि सामाजिक सञ्जालमा को चोर भन्ने बहस सुरु भयो।

आफ्नो सिर्जनामाथि सर्जकका सिर्जनाको संरक्षण गर्ने प्रकाशकले चोरीको आरोप लगाएपछि कवि पराजुलीले सहन सकेनन्। उनले आफूले २५ वर्ष अघि नै उक्त कविता अंश लेखेको दाबी गरे। त्यसपछि पनि भूपेन्द्रले प्रमाण लिएर आउँन भन्न छोडेनन्।

तर सन २०१३ मा नै उनले लेखेको स्टाटसमा केहि प्रयोगकर्ताले किन क्रेडिट नदिएको भनेर प्रश्न गरेका रहेछन्। प्रश्नकर्ताहरुलाई भूपेन्द्रले कसैलाई हाँसेर त कसैलाई चुड्किलाको सर्जक नहुने बताएका रहेछन्।

सामाजिक सञ्जालमा चोरको आरोप प्रत्यारोप सुरु भएसँगै सामाजिक सञ्जालका प्रयोगकर्ताले ओरिजिनल सर्जकको खोजी सुरु गरे।

खोजीका क्रममा भूपेन्द्रले सामाजिक सञ्जालमा राख्नु अघि नै कवि पराजुलीलाई क्रेडिट दिएर सञ्जालमा उक्त कविता अंश साभार गरेको भेटियो। धेरैले लामो समयदेखि कवि पराजुलीले विभिन्न मञ्चमा कविता वाचन गरेको सुनेको दाबी गरे।

सामाजिक सञ्जालमा भैरहेको यो बहसमा प्रयोगकर्ताले गरेका दाबीसँग सहमत नभएका भूपेन्द्रले प्रमाण माग्न छोडेका थिएनन्। अन्ततः कवि पराजुलीले २०६३ साल, असोजको जनमत साहित्यिक मासिकमा आफ्नो नाममा छापिएको कविताको कटिङ फेसबुकमा राखे।

कवि पराजुली विशेषाङ्कका रुपमा प्रकाशन भएको जनमतमा कवि तथा समालोचक रामप्रसाद ज्ञवालीले उक्त कविता अंश साभार गरेका रहेछन्। आफ्नो कविताको कटिङ राख्दै पराजुलीले आफ्नो सिर्जना अरुले चोरेर उल्टै चोरको आरोप लगाउँदा निक्कै पीडा भएको उल्लेख गरे।

पराजुलीको यो स्टाटसपछि चोरीको आरोप लगाउने भूपेन्द्रले आफ्नो फेसबुकबाट स्टाटस हटाएका छन्। तर भुपेन्द्र अझै पनि आफूले पराजुलीको कविता अंश साभार गरेको हुँ भनेर स्वीकार गर्न तयार देखिँदैनन्।

सिर्जना मिल्नुलाई संयोग भन्दै भूपेन्द्रले पुनः स्टाटस लेखे ‘नौ वर्षअघि मैले लेखेको स्टाटस हिजो देख्दा र कवि अर्जुन पराजुलीको कवितासँग हुबहु मिल्दा मैले किन यस्तो भयो भनेर सोध्न मिल्छ। मैले प्रयोग गरेको भाषाले अर्जुन दाइलाई पर्न गएको असुविधाप्रति क्षमा चाहन्छु। मेरो जिज्ञासा चाहिँ यो हो की ९ वर्षसम्म उहाँ यो रचना मेरो हो भनेर किन बोल्नु भएन? अर्को कुरा आजसम्म प्रिन्ट लाइन वा पत्रपत्रिकामा उहाँको सो रचना मैले पढेको पनि छैन र मलाई उहाँको सो कविताबारे थाहा पनि थिएन। अर्को कुरा, मेरा स्टाटस वा रचना मैले जाने बुझेका आफैं सृजना गरेका हुन्। एउटा नमिठो संयोगलाई संयोगकै रूपमा लिइदिन आग्रह गर्दछु।’

कवि पराजुलीले पत्रिकामा प्रकाशित भएको प्रमाण सामाजिक सञ्जालमा पेस गरिसक्दा पनि खड्का भने घुमाउरो भाषामा उक्त स्टाटस आफैंले सिर्जना गरेको उल्लेख गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .