अभिनेत्री मनिषा कोइरालाले व्यक्तिको समग्र व्यक्तित्व, सचेतना, समाज र मुलुककै विकासको विम्ब प्रस्तुत गर्ने भएकाले सरसफाइलाई विशेष महत्व दिनुपर्ने बताएकी छिन्।
ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसनद्वारा आयोजित ‘कर्मसियल क्लिनिङ एन्ड स्यानिटेसन’ तालिमको समापन कार्यक्रममा बोल्दै अभिनेत्री कोइरालाले विश्वका विकसित देशहरूमा जाँदा त्यहाँको बाटोघाटो, सार्वजनिक स्थल, शौचालय, पार्कसहितका स्थल अत्यन्तै सफा देख्ने गरेको सन्दर्भ उल्लेख गरिन्।
नेपालमा भने बाटो, चोकमा फोहोर थुपार्ने, सार्वजनिकस्थल र सार्वजनिक शौचालयजस्ता स्थल अत्यन्तै फोहोर राख्ने प्रवृत्तिले हाम्रो संस्कारविहीनता झल्काएको उनले टिप्पणी गरिन्।
‘नेपालमा सरसफाइकर्मीहरूलाई तल्लोस्तरको काम ठान्ने, हेला गर्ने नराम्रो प्रवृत्ति छ,’ अभिनेत्री कोइरालाले भनिन्, ‘कुनै पनि काम सानो–ठूलो हुँदैन। सरसफाइको कार्य पनि मर्यादायुक्त काम हो भन्ने बुझाउन यसलाई व्यावसायिकतामा ढाल्न जरुरी छ।’
उनले थपिन् ‘हामी नेपालमा सरसफाइलाई सानो काम भनेर अलि फरक ढंगले हेर्छौं, विकसित देशमा गएर भने त्यस्तैखालका काममा संलग्न भइरहेका देखिन्छ, सीपयुक्त ढंगले सरसफाइ सेवामा संलग्न हुनेहरूको आयआर्जन पनि निकै राम्रो हुने गरेको छ।’
दुईहप्ते प्रशिक्षणका मुख्य प्रशिक्षक खेम्स् क्लिनिङ्सका प्रमुख खेम शर्माले आफूले पाँच वर्षअघि नेपालमा निजी खर्चमा सुरुमा भरतपुर विमानस्थल हुँदै पशुपतिनाथ क्षेत्र, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायतका स्थानको सफाइ अभियान थालेयता नेपालमा अहिले सरसफाइको क्षेत्रलाई पनि फरक ढंगले हेर्न थालिएको बताए।
गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले सरसफाइ तथा स्वच्छता आतिथ्य सत्कार क्षेत्रको एक महत्वपूर्ण क्षेत्र भएको भन्दै यस क्षेत्रलाई सम्मानपूर्वक हेर्ने दृष्टिकोण विकसित गर्न र व्यावसायिक सरसफाइका जनशक्ति उत्पादन गर्नका लागि कलेजले ‘कर्मसियल क्लिनिङ एन्ड स्यानिटेसन’को आवधिक प्रशिक्षणलाई निरन्तरता दिने जानकारी दिए।
कार्यक्रममा अग्नि हस्पिटालिटीका प्रज्ज्वल खनाल र सहभागीहरूका तर्फबाट पत्रकार मनऋषि धितालले विदेशमा गएर सहजै सरसफाइको कार्य गर्ने नेपालीहरू, स्वदेशमा भने यस क्षेत्रप्रति सकारात्मक हुन नसकेको भन्दै यस क्षेत्रलाई सम्मानको पेशाका रूपमा विकसित गर्नुपर्ने बताए।
Shares

प्रतिक्रिया