नगेन आर्ट एकेडेमीको आयोजनामा नेशनल फाइन आर्ट प्रदर्शनी शुक्रबारदेखि सुरु भएको छ। प्रदर्शनी जेठ १५ सम्म रहनेछ। प्रदर्शनीमा सात प्रदेशका १३ जिल्लाका ४९ कलाकारका ९९ कलाकृति समावेश छन्।
पोखरा महानगर वडा नम्बर ४ का नवनिर्वाचित वडाध्यक्ष देवकृष्ण पराजुलीले राजधानी बाहिर केही गर्ने उद्देश्यले खोलिएको नगेन आर्ट एकेडेमीको सफलताको कामना गर्दै पोखरामा कला विकासका कार्यहरु गर्ने साथै पोखरा महानगरका सामुदायिक विद्यालयहरुमा कला शिक्षालाई जोड दिने बताए।
नेपाल ललितकला एकेडेमीका प्राज्ञ तथा पूर्वसभासद नगेन सिंहले कलाकारलाई राष्ट्रका गहना मात्र होइनन् अभिन्न अंगका रुपमा घोषणा गर्नुपर्ने माग राख्दै प्रत्येक सरकारी स्कुलमा कला शिक्षा र प्रत्येक नगरपालिका तथा गाउँपालिकामा कला विभाग हुनुपर्ने बताए।
वरिष्ठ कलाकार पदम घलेले यस एकेडेमीले कला विकासमा सहयोग पुग्ने आशा व्यक्त गर्दै सरकारले कला शिक्षा अनिवार्य गर्नुपर्ने माग गरे।
नगेनन्युज पब्लिकेशन प्रालिका अध्यक्ष ज्योति हमालले राज्यले कला तथा कलाकारको सम्मान गर्न नसकेका कारण नेपालबाट कलाकार पलायन हुने अवस्था आएको बताए। पोखरामा कलाको एकेडेमी खोलेर दक्ष कलाकार उत्पादन गर्ने उद्देश्यले नगेन आर्ट एकेडेमी सञ्चालनमा ल्याइएको उनले बताए।
Shares

प्रतिक्रिया