कला


सुमन शेखरको उर्दू गजल सार्वजनिक

सुमन शेखरको उर्दू गजल सार्वजनिक

नेपालखबर
जेठ ९, २०७९ सोमबार ११:४३, काठमाडौँ

गायक सुमन शेखर मानन्धरको स्वरमा सजिएको उर्दू गजल ‘साम से हि दिल’ सार्वजनिक भएको छ।

टी सिरिजको अफिसियल च्यानलबाट सार्वजनिक गीत आइतबार वरिष्ठ चलचित्रकर्मी नीर शाह तथा पूर्व चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा सुनिल थापा, निर्जन थापा र धारणा शर्माको अभिनय रहेको छ। 

मुख्य गरी मुगुको रारामा खिचिएको गीतले हिन्दी र उर्दूभाषी पर्यटकलाई नेपाल आकर्षित गर्ने अपेक्षा राखेको गीत निर्माणमा संलग्न टिमको धारणा थियो। गीतकार तथा संगीतकार इम्तियाज वफाले गीतले नेपालको पर्यटनलाई प्रत्यक्ष फाइदा पुर्याउने विश्वास व्यक्त गरे। 

यसैगरि, गायक सुमन शेखरले भारतीय उपमहाद्वीपमा बसोबास गर्ने करोडौँ हिन्दी र उर्दूभाषी जनतालाई नेपाल बोलाउने अभिप्रायसहित गीत तयार गरेको जानकारी गराए। कुनै समय अध्ययनका लागि पाकिस्तान बसेका गायक मानन्धरले सोही बसाइले आफूलाई उर्दू गीत गजल र शायरीमा चाख बसेको र सोही चाखलाई लामो समयपछि यो गीतमार्फत अभिव्यक्त गरेको बताए। 

‘यो गीत तयार गर्न हामीलाई तीन वर्ष लाग्यो। यो गीतले कम्तिमा पनि रारा ताल हेर्न आउने दर्शकमा वृद्धि हुने हाम्रो अपेक्षा छ ,’ उनले भने, ‘भावनाको अभिव्यक्तिसँगै संगीतलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि पनि प्रयोग गर्न सकिन्छ भन्ने लागेर हामीले यो गीत हिन्दी र उर्दूमा तयार गरेका हौँ।’

उनको कुरामा सही थाप्दै निर्देशक जनकदीप पराजुलीले टीसिरिजको च्यानलमा नेपाली कलाकार र प्राविधिकले सिर्जेको सिर्जना आएको सम्भवतः पहिलो घटना भएको जानकारी गराउँदै यसले नेपाली संगीत र कलाकारलाई भारतमा स्थापित गर्न बाटो खोल्ने अपेक्षा व्यक्त गरे। 

‘टीसिरिज जस्तो भारतकै एक नम्बर कम्पनीमा नेपाली प्राविधिक र कलाकारले गरेको काम सार्वजनिक हुनु गौरवकै कुरा हो। योसँगै गीतले पर्यटनलाई पनि केही न केही फाइदा गरोस् भन्ने हाम्रो चाहना हो,’ पराजुलीले भने। 

कार्यक्रममा गीतलाई शुभकामना दिन पुगेका वरिष्ठ चलचित्रकर्मी नीर शाहले सुमन शेखर मानन्धरका बुबासँगको सामीप्य स्मरण गर्दै सम्पूर्ण टिमको मेहनतको प्रशंसा गरेका थिए। 
नीर शाहले आफू पनि गीत संगीतको विद्यार्थी भएको बताउँदै गीत र दृश्यको संगमले उत्कृष्ट सिर्जना तयार भएको धारणा राखेका थिए।

‘कसैलाई लाग्ला हिन्दी गीतको किन यति चर्चा तर म भन्छु हामी उनीहरूको मनमा बस्ने उनीहरूकै भाषा र शैली प्रयोग गरेर बस्ने हो। यस्तो गर्दा कसैले अराष्ट्रिय भन्छ कि भन्ने पिर गर्नु पर्दैन,’नीर शाहको भनाइ थियो। 

यसैगरी कार्यक्रममा निर्माण टिमलाई शुभकामना दिँदै पूर्व विकास बोर्ड अध्यक्ष राजकुमार राईले आफू मौलिकताको पक्षधर भए पनि प्राविधिक रुपमा बलियो गीत तयार गरेकोले यसले दीर्घकालीन रुपमा नेपाली कलाकार र प्राविधिकलाई फाइदा पुर्याउने विश्वास व्यक्त गरे। 

सन्जीव पाण्डेको संयोजन र राजेन्द्र घिमिरे कार्यकारी निर्माता रहेको गीतलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने गीतमा सम्पादन तथा भीएफएक्स धुव्रराज पराजुलीको छ।

भिडिओ- 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad