बलात्कारको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहको मुद्दाको थुनछेकमा उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरेको छ।
उच्च अदालत पोखराका न्यायाधीश उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले उनलाई थुनामा पठाउने जिल्ला अदालत तनहुँ र नवलपुरको आदेश सदर गरेको हो।
पल शाह नाबालिग बलात्कारको मुद्दामा पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा छन्। जिल्ला अदालत नवलपुर र तनहुँका आदेशविरुद्ध उच्च अदालतमा निवेदन दिएपनि उच्च अदालतले दुवै अदालतको आदेश सदर गरेको हो।
पल शाहले आफूलाई थुनाबाहिर राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए। तनहुँको आदेशविरुद्ध २०७८ चैत १८ गते र नवलपुरको आदेशविरुद्ध वैशाख १३ गते पल शाहले निवेदन दिएका थिए।
यस्तै, सरकारी वकिल कार्यालयले पनि तनहुँको आदेशविरुद्ध उच्च अदालतमा निवेदन गरेको छ।
तनहुँ अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई एक लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि सरकारी वकिल कार्यालयले पनि त्यसलाई बदर गरी जोशीलाई पनि थुनामा राख्नु पर्ने माग गरेको थियो।
तर उच्च अदालतले जोशीको हकमा पनि जिल्ला अदालतकै आदेश सदर गरेको हो। वकिल कार्यालयले वैशाख २५ गते निवेदन दिएको थियो।
सुरुमा तनहुँको आदेशविरुद्ध निवेदन दिएका शाहले पछि नवलपुरको आदेशविरुद्ध पनि उच्चमा निवेदन दिएका थिए।
सुरुमा बलात्कारको अभियोग लगाएका जाहेरवाला र पीडितले बकपत्रका क्रममा कुरा फेरेसँगै पल शाह छुट्न सक्ने चर्चा चलेको थियो। पहिले उनीहरुले बलात्कार भएको बताए पनि पछि आफूले पहिले भनेको कुरा झुटो भएको र शाहले नाबालिगलाई बलात्कार नगरेको अदालतमा गरेको बयानमा बताएका थिए।
उनका वकिलले यसैलाई आधार मानेर पनि बलात्कारको आरोप गलत भएकाले छाड्नु पर्ने बहसका क्रममा जिकिर गरेका थिए।
तर उच्च अदालत पीडितले बयान फेरि पनि शाहलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो। अब शाह जिल्ला र उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत जान सक्छन्।


Shares

प्रतिक्रिया