पछिल्लो डेढ साता यता मनोरञ्जन बजारमा चलचित्र ‘कबड्डी ४’को मात्रै चर्चा छ। पहिलो दिनबाटै आक्रामक व्यापार गरेको यो चलचित्र बक्स अफिसका सबैजसो रेकर्ड ब्रेक गर्न सफल भएको छ।
यो चलचित्रको प्रतिस्पर्धा अर्को सफल चलचित्र ‘छक्कापञ्जा’ सिरिजसँग भइरहेको छ।
‘छक्का पन्जा ३’ले घरेलु बक्स अफिसमा बनाएको रेकर्ड ‘कबड्डी ४’ले ब्रेक गरेको बताइरहँदा दीपकराज गिरीले आफ्नो चलचित्रको कमाइ सार्वजनिक गरेका छन्। अहिले ‘छक्का पञ्जा’को तेस्रो सिरिजले १६ करोड कमाइ गरेको चर्चा मनोरञ्जन बजारमा छ। तर यो कमाइ ‘छक्का पञ्जा’को पहिलो सिरिजले कमाएको गिरीले बताएका छन्।
उनले ‘छक्का पन्जा ३’ले २० करोड रुपैयाँ कमाइ गरेको बताएका छन्। ‘कबड्डी ४’ले ‘छक्का पन्जा’ले बनाएको सबै रेकर्ड ब्रेक गर्यो भनेपछि दीपकले मुख खोलेका हुन्।
उनी भन्छन् ‘सबैले छक्का पञ्जाको रेकर्ड तोड्यो भनेका छन्। तर त्यसो होइन, छक्का पन्जा १ को मात्रै रेकर्ड ब्रेक भएको हो। छक्का पन्जा ३ को कमाई त २० करोड हो।’
‘कबड्डी ४’का वितरकले ११ दिनमा यो फिल्मले १७ करोड ६५ लाख ग्रस कलेक्सन गरेको बताएका छन्। ‘कबड्डी ४’को यो कमाई सार्वजनिक भएसँगै ‘छक्का पन्जा’ले बनाएको सबै रेकर्ड तोडियो भन्ने चर्चा सुरु भयो। त्यसपछि गिरीले आफ्नो फिल्मको रेकर्ड अझै नतोडिएको बताएका हुन्।
‘कबड्डी ४’का निर्माता ‘छक्का पन्जा ३’ले बनाएको रेकर्ड तोडेर आफ्नो फिल्मलाई शीर्ष स्थानमा राख्ने होडमा छन्। यता ‘छक्का पञ्जा’ निर्माता अरु फिल्मले रेकर्ड तोडेको सहजै स्वीकार गर्न तयार देखिँदैनन्।
त्यसैले मनोरञ्जन उद्योगमा यी दुई फिल्मका निर्माताबीच रेकर्ड ब्रेकको अस्वस्थ प्रतिस्पर्धा नै देख्न सकिन्छ।
Shares

प्रतिक्रिया