ad ad

कला


दिलमायाको शव व्यवस्थापनको खर्च दोहोरी प्रतिष्ठानले व्यहोर्ने

दिलमायाको शव व्यवस्थापनको खर्च दोहोरी प्रतिष्ठानले व्यहोर्ने

नेपालखबर
असार १३, २०७९ सोमबार १५:४६, काठमाडौँ

आफ्नै डेरामा शनिवार मृत फेला परेकी लोकदोहोरी गायिका दिलमाया सुनारको शव व्यवस्थापनमा लाग्ने सबै खर्च दोहोरी गीत प्रतिष्ठानले व्यहोर्ने भएको छ। प्रतिष्ठानले नै सबै खर्च व्यहोर्ने भएकाले दिलमायाका नाममा कसैले पनि आर्थिक संकलन नगर्न प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले आग्रह गरेका छन्।

दिलमायाको टिचिङ अस्पतालमा आइतबार पोस्टमार्टम हुँदैछ। उनको शव व्यवस्थापनमा कठिनाई भएको भन्दै उनका नजिकका केही व्यक्तिले आर्थिक संकलन अभियान सुरु गरेका छन्। विदेशमा बस्ने नेपालीले पनि आर्थिक सहयोग सुरु गरेको जनाएका छन्।

तर, दिलमायाको शव व्यवस्थापनमा कुनै कठिनाइ नहुने अध्यक्ष रमेश बिजी बताउँछन्। उनी अहिले दिलमायालाई न्याय दिलाउनका लागि सबैले लाग्नुपर्ने बताउँछन्। शव व्यवस्थापनमा लाग्ने सम्पूर्ण खर्च दोहोरी गीत प्रतिष्ठानले संस्थागतरुपमा व्यहोर्ने बिजीको भनाइ छ।

बीजी भन्छन्, ‘दिलमायालाई न्याय खोजौं, पैसा नबटुलौं। आवश्यक खर्च संस्थागतरुपमा व्यहोर्न प्रतिष्ठान तयार छ। कमसेकम घटनाको पूर्ण विवरण त आउन दिनुस्।’

मृत्युपूर्व सामाजिक सञ्जालमा स्टाटस लेखेकी दिलमायाको मृत्यु रहस्यमय बनेको छ। उनको शव अहिले टिचिङ अस्पतालमा राखिएको छ। उनका पिता सल्यानबाट काठमाडौं आएसँगै उनले पक्राउ परेका सूर्य श्रेष्ठविरुद्ध कर्तव्य ज्यानको कसुरमा जाहेरी दिएका छन्।

दुःखैमा बित्यो दिलमायाको जीवन

सुर्खेत मालारानीमा जन्मिएकी दिलमाया सुनारको १४ वर्षकै उमेरमा विवाह भएको थियो। विवाह गरेको ११ वर्षपछि श्रीमानसँग सम्बन्धविच्छेद गरेर माइतीको साहारा लिन पुगेकी थिइन्। सम्बन्ध विच्छेद हुँदा उनी २५ वर्षकी थिइन् ।

दिलमाया केही समय वैदेशिक रोजगारीको सिलसिलामा ओमानमा बसिन् । दिलमायाका एक छोरा छन्। सम्बन्धविच्छेदपछि श्रीमानले छोरा आफूसँग ल्याउन नदिएको उनको गुनासो थियो । पारिवारिक तनावका कारण दिलमाया लामो समय डिप्रेसनको शिकार बनेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

पछिल्लो समय उनी चरम आर्थिक संकटमा रहेको उनलाई सहयोग गरेका कलम सरगमले सामाजिक सञ्जालमा लेखेका छन्। विदेशमा रहेका नेपालीले उनलाई आर्थिक सहयोग गरेका थिए। लकडाउनको समयमा दिलमायालाई गायिका टीका पुनले आश्रय दिएकी थिइन्।

आर्थिक संकटकै कारण दोहोरी साँझमा गाउन थालेकी दिलमाया केही समयअघि लोकदोहोरी प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको छैठौँ खुला राष्ट्रिय रनिङशिल्ड लोकदोहोरी गीत प्रतियोगितामा उत्कृष्ठ गायिका घोषित भइन् ।

लाइभ दोहोरी र अनलाइन दोहोरीमा सक्रिय दिलमाया राम्रो प्रतिभा भएर पनि चर्चामा आउन नसकेको प्रतिष्ठानका अध्यक्ष रमेश बीजी बताउँछन्।

लाइभ दोहोरीमा चर्चित दिलमायाको शब्द चयन र गाउने शैली निक्कै राम्रो भएको बताउँदै दोहोरीका लागि राम्रो सम्भावना भएको कलाकारको अन्त्यले दुःखी बनाएको बीजीले नेपालखबरलाई बताए।

रोधी घरमा गीत गाएर जीवन चलाउँदै आएकी उनले भोगेका समस्याका बारे संस्थागतरुपमा जानकारी नआएकाले सहयोग गर्न नपाएकोमा बीजीले दुःख व्यक्त गरे। आफ्नो व्यक्तिगत संगत नभएकाले पनि उनका समस्याबारे बेलैमा थाहा नपाएको बीजीले बताए।

उनले भने ‘केही समयदेखि कसैको सम्बन्धमा रहेको र त्यो सम्बन्धले दिएको पीडाका बारेमा उनका नजिकका साथीलाई थाहा रहेछ। उहाँहरुले सम्बन्ध भन्दा जीवन ठूलो हो, सम्बन्ध छोडेर सहज जीवन बाँच्नुस् भनेर सुझाव दिएको भए यो क्षति नहुन पनि सक्थ्यो।

केहि लाइभ दोहोरी कार्यक्रममा गीत गाएर चर्चा कमाएकी दिलमायाका रेकर्ड भएका गीतको संख्या धेरै छैन। गीत रेकर्ड गर्ने रहर भएर पनि आर्थिक कारणले रेकर्ड गर्न नसकेको उनको गुनासो थियो। लोकगायक राजु परियारले उनलाई गीत रेकर्डको अवसर दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .