कला


म्युजिक भिडिओ : कसैलाई सुनको अण्डा, कसैको गोजी रित्तो

नेपाली गीत–संगीतमा लगानी, बालुवामा पानी
म्युजिक भिडिओ : कसैलाई सुनको अण्डा, कसैको गोजी रित्तो

राधिका अधिकारी
साउन ३, २०७९ मंगलबार ७:५१, काठमाडौँ

जब तपाई कुनै चर्चित नेपाली गीत सम्झनुहुन्छ, तपाईलाई गायकको नाम प्रायः कण्ठ हुन्छ। गीतकार, संगीतकार वा लगानीकर्तालाई तपाई खासै ‘बाल’ दिनुहुन्न।

जबकि एउटा गीतको अडियो निर्माण गर्न कम्तीमा पनि १५ देखि २४ जनाको संलग्नता रहने गरेको संगीतकार सन्तोष श्रेष्ठ बताउँछन्। यसमा मिहेनत र आर्थिक लगानी पनि त्यत्तिकै परेको हुन्छ।

श्रेष्ठका अनुसार एउटा गीतमा गीतकार, सङ्गीतकार, गायक, गायिका, अरेन्जर, रेकर्डिष्टका साथै मिक्सिङ, मास्टरिङ, रिदम गिटार, लिड गिटार, बेस गिटार र बाँसुरी बादन लगायतका कार्यमा मानिसहरुले रोजगारी पाउँछन्।

त्यसबाहेक ढोलक, तबला, मादलमा झण्डै २ जना, ग्रुप भायोलिनमा ५ जना र कोर्स गायन राख्नुपर्ने गीतमा ४ जनाले रोजगारी पाउने श्रेष्ठ बताउँछन्।

एउटा अडियो रेकर्डमा ठ्याक्कै यति नै खर्च हुन्छ भन्ने हिसाब सन्तोषले गरेका छैनन्। त्यसको पनि कारण छ।

सबै गीत रेकर्डको खर्च तालिका एकनासको हुँदैन। गायक/गायिका, वाद्यवादक एवं स्टुडियोको खर्च अनुसार हरेक गीतको लागत फरक–फरक निस्कने गरेको छ। गीतका लागानीकर्ता भने अधिकांश गीतकार नै हुने गरेका छन्।

पछिल्लो समय अडियो रेकर्डमै स्रष्टाको ठूलो लगानी पर्ने गरेको छ। तर, थोरै गीतले मात्रै लगानी उठाउने गरेको श्रेष्ठ बताउँछन्। उनी भन्छन् ‘व्यावसायिक उत्कृष्टताभित्र पर्ने सिर्जनाले मात्रै लगानी उठाउन सक्छन्।’

सन्तोष श्रेष्ठ

नाफा छैन, लगानी गरेको गर्यै 
लगानी उठाउनै नसक्दा पनि स्रष्टाहरुले गीतमा किन लगानी गरिरहेका छन् त भन्ने प्रश्नको जवाफमा गीतकार ज्ञान्दरी कैनी भन्छिन् ‘आत्मसन्तुष्टिका लागि।’

कैनीले अघिल्लो वर्षमात्रै गीतमा झण्डै ९ लाख खर्च गरिन्। उनले गरेको यो लगानी ४ वटा गीतको रेकर्डिङ, दुई गीतको म्युजिक भिडिओ निर्माण र एल्बम विमोचन खर्च हो।

एउटा अडियोमा कैनीले ६५ हजार लगानी गरेकी छिन्। दुईवटा म्युजिक भिडिओ निर्माण गर्दा एउटामा ३ लाख र अर्कोमा २ लाख खर्च भएको उनी सुनाउँछिन्। तर, अहिलेसम्म कहीँबाट एक रुपैयाँ आम्दानी भएको छैन।

तैपनि आत्मसन्तुष्टिका लागि लगानी गर्ने कैनी गीत/संगीतमा लगानी गरेर अझै थाकेकी छैनन्।

म्युजिक भिडिओको ‘म्याजिक’
अडियो गीत रेकर्डिङपछि म्युजिक भिडिओको कथा अर्कै छ।

केही वर्षअघि साउदीबाट फर्किएका विषम गौतमले एक म्युजिक भिडिओमा लगानी गरे। आफैंले लगानी गरेको म्युजिक भिडिओमा आफैंले अभिनयसमेत गरे।

विषम गौतम

गौतमको केही समय नेपाली सांगीतिक क्षेत्रमा चर्चा पनि राम्रै भयो। त्यही मौकामा उनले देशका थुप्रै कलाकारसँग भेट्ने मौका पाए।

त्यसपछि अष्ट्रेलिया उडेका विषम अर्को म्युजिक भिडिओमा देखिएका छैनन्। उनले त्यसताका म्युजिक भिडिओमा गरेको लगानी, लगानीमै सीमित भयो। 

त्यसपछि पनि गौतमले केही म्युजिक भिडिओ र गीतमा लगानी गरे तर लगानी उठाउन सकेनन्। उनले म्युजिक भिडिओमा गरेको लगानी उठाउन नसके पनि म्युजिक भिडिओमा देखिने रहर भने पूरा गरे। ठूलो लगानी गरेर निर्माण गरेको म्युजिक भिडिओबाट गौतमले मुनाफाको आश गरेनन्। उनका लागि म्युजिक भिडिओको लगानी सोख पूरा गर्नु मात्र थियो।

हाल अष्ट्रेलियामा रहेका विषम भन्छन् ‘सोखले गरेको काम भएकाले नाफा–नोक्सानको हिसाब नै गरिएन।’

गौतमले आत्मसन्तुष्टिका लागि मायालु इन्टरटेनमेन्ट मार्फत केही म्युजिक भिडिओ आफ्नै युट्युबबाट सार्वजनिक गरे। केही गीतले लगानी उठाए पनि धेरैले उठाउन सकेनन्। कोरोना कालबाट यो क्रम पनि पातलिएको छ। 

गायिका काब्य आचार्यले आफ्नै लगानीमा थुप्रै म्युजिक भिडिओ निर्माण गरेकी छिन्। उनले लगानी गरेका कतिपय म्युजिक भिडिओले गरेको थोरै आम्दानी पनि युट्युब च्यानलका सञ्चालकले पचाइदिए।

काब्य आचार्य

अहिले काव्य आफ्नै युट्युब च्यानलबाट आफ्ना गीतको प्रमोसन गर्छिन्। तथापि लगानी उठाउन भने मुस्किल छ। अनामनगरमा गीत रेकर्डिङ स्टुडियो समेत सञ्चालन गर्दै आएकी काव्यलाई थाहा छ, म्युजिक भिडिओमा गरेको लगानी उठ्दैन। तर, उनले पनि आत्मसन्तुष्टिकै लागि म्युजिक भिडिओमा लगानी गर्दै आएकी छिन्।

काव्य भन्छिन्, ‘म्युजिक भिडिओमा गरेको लगानीले आत्मसन्तुष्टिबाहेक केही दिँदैन भन्ने थाहा छ। तैपनि लगानी गर्न छाडेकी छैन।’

म्युजिक भिडिओको खर्च
म्युजिक भिडिओ निर्माणमा झनै धेरै जनशक्ति र खर्च लाग्ने गरेको छ। एउटा म्युजिक भिडिओ निर्माणका क्रममा कम्तिमा १० देखि १५ जनाले रोजगारी पाउँछन्। म्युजिक भिडिओ बनाउँदा निर्देशकदेखि डान्सर, टेक्निसियन अनि कलाकारदेखि ड्रेस भाडामा दिने सेन्टरसम्मका मानिसको संलग्नता हुन्छ।

डान्सिङसहितको ठूलो टोली लिएर गरिने म्युजिक भिडिओ निर्माणमा २५ देखि १५० जनासम्म समावेश हुने निर्देशक सुव्रतराज आचार्य बताउँछन्।

सुव्रतराज आचार्य

एउटा म्युजिक भिडिओमा केही नभए पनि एक लाख लगानी लाग्ने अर्का निर्देशक काजिश श्रेष्ठ बताउँछन्। उनले निर्देशन गरेका थुप्रै म्युजिक भिडिओमा ६/७ लाख लगानी भएको छ। 

वि. सं ०५४ सालमा सुव्रतले म्युजिक भिडिओ निर्देशन सुरु गर्दा ७ देखि ५० हजारसम्मका म्युजिक भिडिओ बन्थे। त्यो लगानी बढेर अहिले ८/९ लाख पुगेको छ।

सुव्रतले ०७७ सालमा निर्देशन गरेको म्युजिक भिडिओको लागत झण्डै ४ लाख थियो। उनले एउटै एल्बमका ५ गीतका म्युजिक भिडिओ निर्देशन गरे, जसको लागत २० लाख थियो।

भिडिओमा अमेरिका बस्ने गीतकार विनिता खनालले लगानी गरेकी थिइन्। त्यतिबेला सुव्रतले आफ्ना साथीसंगीलाई प्रयोग गरेर कम लागतमा म्युजिक भिडिओ तयार पार्ने गरेका थिए। तर, अहिले उनले निर्देशन गरेको एउटै म्युजिक भिडिओमा १०–१५ लाखसम्म लागत परेको छ। 

काजिश श्रेष्ठ

म्युजिक भिडिओमा गरेको लगानी थोरैले मात्रै उठाउने सुव्रतको भनाइ छ। उनी भन्छन् ‘म्युजिक भिडिओमा लगानी गरेर केहीले मात्र कमाए होलान्, नत्र अधिकांश म्युजिक भिडिओमा लगानी भएको खर्च उठन गाह्रो नै छ।’

उनी थप्छन्, ‘सिनेमा भएको भए हलमा चलाएर, विदेश राइट्स, डिजिटल राइटस् आदिबाट लगानी उठ्ने वा नाफा कमाउने बाटो छ। म्युजिक भिडिओको लगानी आत्मसन्तुष्टि मात्र हो।’

थोरै म्युजिक भिडिओले मात्रै लगानी उठाउने गरेको तर, प्रायः घाटाकै व्यापार भएको काजिश पनि स्वीकार्छन्।

सुवास रेग्मी

२५ वर्षदेखि गीत/संगीतको व्यापार गर्दै आएका सुवास रेग्मीले म्युजिकमा गरेको लगानीबाट मुनाफा आर्जन गर्न छाडेको धेरै समय भैसक्यो। उनले लगानी नै डुबाउनु भने नपरेको सुनाए। 

बाहिर हल्ला गरेको जस्तो युट्युबको व्यापार पनि नभएको रेग्मी बताउँछन्। कलाकारहरुमा  डलर खर्च गरी बुस्ट गरेर धेरै भ्युज देखाउने रोग लागेको रेग्मी बताउँछन्। उनी भन्छन् ‘यसरी देखाइएको भ्युज पिसाबको न्यानो जस्तै हो।’

तर पछिल्लो समय युट्युब, टिकटक लगायतका प्लेटफर्मले म्युजिक भिडिओमा गरेको लगानी उठाउन सहायक भूमिका खेलेको भने रेग्मी स्वीकार्छन्। 

आरबीटी हुँदासम्म गीत/संगीतले राम्रो कमाइ गरेको रेग्मीले बताए। नेपाल टेलिकमले २०७० सालबाट आरबीटी सेवा बन्द गरेपछि भने गीत/संगीतबाट कमाइ गर्नेको संख्या निक्कै घटेको उनको तर्क छ। 

आरबीटी सेवा बन्द भएसँगै थुप्रै म्युजिक कम्पनी पनि बन्द भएको सुनाउँदै रेग्मीले भने ‘मेरो गीत/संगीत बाहेक अर्को दुनियाँ छैन। आजसम्म कमाउन नसके पनि लगानी डुबेको छैन। म बाँचुन्जेल यो क्षेत्र छोड्दिनँ।’

व्यवसायिक म्युजिक कम्पनीले लगानी उठाए पनि व्यक्तिगत रुपमा गीत/संगीतमा लगानी गर्ने कलाकारले भने थोरैले बाहेक लगानीसम्म पनि उठाउन नसकेको रेग्मी बताउँछन्।

थरिथरिका लगानीकर्ता
केही वर्ष अघिसम्म गीत/संगीतदेखि म्युजिक भिडिओसम्मका लगानीकर्ता विदेशमा बस्ने नेपाली हुन्थे। युट्युब र टिकटकबाट थोरै कमाइ हुन थालेपछि भने नेपालमै रहेका गायक/गायिका वा गीतकारले लगानी गर्न थालेका छन्।

अहिले पनि धेरैजसो म्युजिक भिडिओका लगानीकर्ता पनि गीतकार स्वयम् हुने गरेका छन्। केही म्युजिक भिडिओ मोडलको लगानीमा निर्माण भएका छन्। कतिमा निर्देशकले पनि लगानी गरेका छन्।

म्युजिक भिडिओमा देखिने रहरले लगानी गर्नेहरु बढिरहेका बेला म्युजिक व्यवसायी भने सुस्ताएका छन्। पहिलेजस्तो अहिले निर्माण भएका म्युजिक भिडिओमा म्युजिक कम्पनीको लोगो कमै मात्र देख्न पाइन्छ। 

सामान्यतः म्युजिक भिडिओमा लगानीकर्ता सम्बन्धित गीतका गायक/गायिका, गीतकार तथा म्युजिक उत्पादक कम्पनी हुन्छन्। पछिल्लो समय युट्युब च्यानल सञ्चालकले पनि कन्टेन्टका लागि भिडिओमा लगानी गर्न थालेका छन्।

कतिले म्युजिक भिडिओमा देखिने सोख पूरा गर्नका लागि पनि म्युजिक भिडिओमा लगानी गर्ने गरेका छन्। 

अरुको रहर पूरा गरिदिन लगानी गर्ने अर्काथरी म्युजिक भिडिओका लगानीकर्ता पनि छन्। उनीहरु आफ्ना प्रेमी–प्रेमिका र छोराछोरीको सोखका लागि भिडिओमा लगानी त गर्छन्, तर आफू भने भिडिओमा देखिन रुचाउँदैनन्।

नेपालका थुप्रै मोडलहरु आफैंले लगानी गरेर म्युजिक भिडिओमा स्थापित भएका पनि छन्। कतिपय पुरुषले नाम चलेका अभिनेत्रीसँग स्क्रिन शेयर गर्ने रहरले पनि म्युजिक भिडिओमा लगानी गर्ने गरेको जानकारहरु बताउँछन्।

त्यसो त पछिल्लो समय नाम चलेका स्टार हिरोसँग स्क्रिन शेयर गर्ने मोहले म्युजिक भिडिओमा लगानी गर्ने युवतीको संख्या पनि बढ्दै गएको छ। यसरी लगानी गर्ने महिला–पुरुष दुवै प्रायः वैदेशिक रोजगारीबाट फर्किएकाहरु छन्। 

कलाकारलाई सुनको अण्डा
म्युजिक भिडिओ निर्माणले लगानीकर्ताको अवस्था जे भए पनि कलाकार भने मालामाल भएका छन्।

लामो समय ठूलो पर्दामा राज गरेका राजेश हमाल पछिल्लो समय म्युजिक भिडिओमा पनि देखिन थालेका छन्। उनले एउटै म्युजिक भिडिओमा अभिनय गरेको ५ देखि ७ लाखसम्म पारिश्रमिक लिने गरेको उनी निकट स्रोतको भनाइ छ।

म्युजिक भिडिओले पुरुष कलाकारभन्दा धेरै महिला कलाकार लाभान्वित हुने गरेको लगानीकर्ताहरुको दाबी छ।  

म्युजिक भिडिओका लगानीकर्ताका कुरा सुन्ने हो भने उनीहरुले लगानीबाट आत्मसन्तुष्टि पाएका छन्। मोडलका लागि भने म्युजिक भिडिओ निर्माता ‘सुनको अण्डा कोरल्ने पोथी’जस्तै भएका छन्।’

म्युजिक भिडिओमा मोडल पुरुषको भन्दा महिला मोडलले धेरै पारिश्रमिक लिने गरेको लगानीकर्ताको दाबी छ। सामान्य मोडलले पनि अहिले ३० देखि ५० हजार पारिश्रमिक लिने गरेका छन्।

नाम चलेका कलाकारको पारिश्रमिक महंगो पर्छ। म्युजिक भिडिओमा जति चलेका कलाकार लियो, उति नै ठूलो रकम लगानी पर्न जान्छ।

म्युजिक भिडिओमा गरेको लगानीले निर्देशक र प्राविधिकले पनि राम्रै कमाइ गर्छन्।

भिडिओ बनाउन भन्दा प्रचार गर्न गाह्रो
म्युजिक भिडिओका लगानीकर्तालाई भने भिडिओमा लगानी गर्नभन्दा गाह्रो छ भिडिओको प्रचार गर्न। म्युजिक भिडिओ बनाउनभन्दा त्यसको प्रचार गाह्रो भएको अनुभव छ गायिका बीना भट्टराईसँग।

बीना भट्टराई

बीनाले थुप्रै म्युजिक भिडिओमा गरेको लगानी डुबेको छ। उनी भन्छिन् ‘ठूलो लगानी गरेर म्युजिक भिडिओ निर्माण गर्यो, टेलिभिजनले प्रसारण गर्दैन। सामाजिक सञ्जालमा पनि सिन्डिकेट छ। मैले धेरैपटक लगानी डुबाएकी छु।’

त्यसो त अहिले युट्युब, टिकटकले भिडिओ पब्लिसिटीमा सघाएका छन्। युट्युब र टिकटकमा केही म्युजिक भिडिओले लाखौं दर्शक पाएका छन्। केही रकम पनि कमाएका छन्। तर, यसले लगानी भने सुनिश्चित गर्दैन।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .