कला


सन्तोष सेन : निद्रा हराएको छ, तर बेचैन छैनन्

प्रेमगीत-३ मा यसरी गरे चुनौतीको संयोजन
सन्तोष सेन : निद्रा हराएको छ, तर बेचैन छैनन्

चलचित्र प्रेमगीत-३ का निर्माता-निर्देशक सन्तोष सेन। तस्बिर : विशाल कार्की/नेपालखबर


राधिका अधिकारी
साउन १८, २०७९ बुधबार १४:५१, काठमाडौँ

‘प्रेमगीत ३’ लिएर फ्लोरमा निस्किँदा सन्तोष सेनसँग थुप्रै सपना थिए। फिल्म छायांकनमा जाँदासम्म सन्तोषले देखेको एउटै सपना थियो, नेपालकै ठूलो स्केलको फिल्म निर्माण। 

नेपाली भूगोलको इतिहास र ऐतिहासिक विषयमाथि लगानी गरेर रिस्क मोलेका सन्तोषलाई कोरोना महामारीले धक्का दियो। 

पोस्ट–प्रोडक्सन चल्दै गर्दा फिल्मका लेखक तथा निर्देशक छेतेन गुरुङको निधन भयो। छेतेनको मृत्युले सन्तोष केही बहकिए। 

खासमा यो फिल्मको कथा छेतेनले सन्तोषलाई सुनाएका थिए। छेतेनले ढुंगामा नाम लेख्ने परम्पराबारे सुनाउँदै गर्दा एउटा बृहत् क्यानभासको कल्पना गरेका सन्तोषलाई उनको निधनले त्यो क्यानभास नै अपुरो महसुस भएको थियो। सन्तोष भन्छन्, ‘दाइको निधनले हामी बहकियौँ।’ सन्तोष छेतेनसँग व्यक्तिगत रुपमा निक्कै प्रभावित भए। 

छेतेनको मृत्युपछि बाँकी रहेको क्यानभासको रंग सन्तोष एक्लैले भर्नु पर्यो। सन्तोषका दुःख छेतेनको निधनमा मात्रै सीमित भएन। कोरोना महामारीका कारण सन्तोषले फिल्मबारे बुनेका योजनाले मूर्त रुप लिन पाएनन्। कोरोनाका कारण फिल्म रोकियो। सन्तोष एक्लै स्टुडियो जान्थे, फिल्मका दृष्य हेर्थे र फर्किन्थे। 

यसरी फिल्मका दृष्य हेर्दाहेर्दै सन्तोषको सपनाको दायरा फराकिलो भयो। उनले सोचे, ‘खिचिएका दृष्यलाई शो रिल बनाएर अंग्रेजीमा न्यारेशन गरी भारतमा केही गर्न पाए।’ 

सोचलाई उनले सपनामा बदले। यही सपनाको हुटहुटीले सन्तोषलाई फिल्मका ‘शो रिल’सहित मुम्बई पुर्‍यायो। तर उनैलाई थाहा थिएन, आफ्नो गन्तव्य। फिल्मका टुक्रा बोकेर मुम्बईका गल्लीमा हिँडेको त्यो क्षण सम्झिँदा सन्तोषलाई अहिले आफैँ फिल्मको एउटा प्लट बाँचेर फर्किएको महसुस हुन्छ। 

सन्तोषले नेपाल हुँदा नदेखेको सपना मुम्बईका गल्लीमा भौतारिँदा देखे। त्यही संघर्षको प्रतिफल ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकसाथ प्रदर्शन हुन लागेको छ।

भारतमा यो फिल्म ‘विश्वजितम’ नामबाट प्रदर्शनमा आउँदैछ। सन्तोष निक्कै उत्साहित छन्। प्रदर्शन मिति तय भएर पनि रोकिएको यो फिल्म आगामी असोज ७ गते नेपाल र भारतमा एकसाथ रिलिज हुँदैछ।

फिल्म रिलिज नहुँदासम्म सन्तोषका दुःख बेग्लै थिए। रिलिज मिति नजिकिँदै गर्दा उनका दुःख सुरु भएका हुन्। एक त उनीसँग काँध मिलाएर हिँड्ने छेतेन थिएनन्।

अर्को फिल्मका शीर्ष कलाकार प्रदीपले पनि फिल्म ‘प्रकाश’का कारण समय दिन पाएका छैनन्। एक्लै फिल्म प्रमोसनमा लागेका सन्तोषको निद्रा हराएको छ। तर उनी बेचैन छैनन्। 

फिल्म सुटिङका दुःख
फिल्म सुटिङका पनि बेग्लै कथा छन्। सुटिङका लागि विकट पुगेको ‘प्रेमगीत ३’ टिमले सुटिङकै क्रममा आफ्नो क्यामेराम्यानलाई झण्डै गुमाउनु परेको थियो। 

सुटिङका लागि हिमपात चाहिने। मनाङमा सुटिङ गर्न निर्माण टिम पुग्दा गाउँ सुनसान थियो। गाउँले बेँसी झर्ने सिजन भएकाले फिल्ममा क्राउड सिन देखाउन काठमाडौंबाट मान्छे झिकाउनु पर्थ्यो। कलाकारहरु नाच्दा नाच्दै रगत बान्ता गर्थे। सन्तोषको फिल्म युनिटमा दुईजना डाक्टर थिए। प्राथमिक उपचार हुन्थ्यो। तर सुटिङ नसकिँदासम्म सन्तोषलाई डर भइरह्यो। 

सन्तोषको टिम सुटिङकै क्रममा पिसाङ पुगेको थियो। त्यहाँ ५ फिट हिउँ पर्यो। क्यामरा मेन राजेश श्रेष्ठलाई हर्टअट्याक भयो। मौसमले गर्दा जहाज जाने अवस्था थिएन। बोकेर अस्पताल पुर्‍याउने सम्भावना पनि थिएन। प्रदीप र सन्तोष रातभर क्यामेराम्यानलाई कुरेर बसे। सन्तोषको ध्यान अब फिल्ममा जानै छोड्यो। उनले क्यामेराम्यानको समेत माया मारेका थिए। 

उनी त शव व्यवस्थापन कसरी गर्ने भनेर आत्तिएका थिए। पिसाङ वरिपरी भेटिएका वैद्यलाई उपचार गर्न लगाए। तर, वैद्यबाट पार लाग्ने थिएन। भोलिपल्ट हिमपात रोकियो।

नजिकैको पोखरीको हिउँ बढारेर हेलिकोप्टर उतारियो। उनलाई पोखरा लगेपछि सन्तोषको टोली काठमाडौं फर्कियो। त्यसको एक महिनापछि क्यामरामा पुरुषोत्तम प्रधानलाई लिएर सुटिङमा फर्किए। छायांकन पूरा गरे।  

हिरोले नै भने नबनाउनू
छेतेनले भनेको कथामा फिल्म बनाउने निधो गरेपछि प्रदीपले एकदिन नायक प्रदीप खड्कालाई सोच सुनाए। फिल्मको कथा सुनेपछि प्रदीपले भने, ‘दाइ पहिला पैसा कमाउनुस्, यस्ता हिस्टोरिकल फिल्म पछि बनाउनु।’

सन्तोषले ‘प्रेमगीत ३’को प्लट सेट गर्दै गर्दा प्रदीप ‘लभ स्टेसन’को प्रमोसनमा थिए। यो फिल्मले प्रदीपलाई सफलता दिन सकेन। सन्तोषले प्रदीपलाई बोलाएर भने, ‘प्रेम गीत ३ मा तिम्रो भूमिका यस्तो छ, काम गर्न तयार छौ?’ प्रदीपलाई सन्तोषले प्रश्न गरे, ‘दाइ तपाईं अहिले नै यति ठूलो बोझ बोक्न सक्नुहुन्छ र?’ 

त्यतिबेला सन्तोषका दुई फिल्म ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ ले राम्रो कमाइ गरेका थिए। प्रदीपले त्यही सिक्वेल बनाएर पहिला पैसा कमाउन सुझाए। सन्तोषले भने, ‘चुनौती नै लिने हो।’ 

२०७२ सालमा रिलिज भएको ‘चंखे संखे पंखे’ बाटै सन्तोषले रिस्क मोलेका थिए। त्यो समय थोरै निर्माताले मात्रै लगानी उठाएका थिए। चुनौती मोलेर उद्योगमा आएका सन्तोषले उद्योगमै थुप्रै उतारचढाव भोग्नु पर्यो। 

तर, उनले पहिलो खुड्किलोमै स्तरीय फिल्म बनाएर नेपाली फिल्मका दर्शकको संख्या बढाउने सपना देखेका थिए। त्यो सपना पूरा हुन ‘प्रेमगीत २’सम्म पर्खिनुपर्यो। २०७४ सालमा रिलिज भएको ‘प्रेमगीत २’ सुपरहिट भयो। हलमा उल्लेख्य दर्शक पुगे।

त्यसपछि नै सन्तोष फरक खालको फिल्ममा लगानी गर्न चाहन्थे। उनले भोलिको चिन्ता गरेनन्। चुनौती मोलेर ‘प्रेमगीत ३’ निर्माण गर्न तम्सिए। 

यो फिल्ममा छेतेनसँग सन्तोषले निर्देशनमा सहकार्य गरे। सन्तोषको यही आँट प्रदर्शनको तयारीमा छ। सन्तोष फिल्मले मुनाफा नकमाए पनि लगानी उठाउनेमा ढुक्क छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .