ad ad

कला


रिपोर्टस क्लबमा गाईजात्रा : ऋषि धमलाको नाक लिम्पियाधुरा जस्तो !

रिपोर्टस क्लबमा गाईजात्रा : ऋषि धमलाको नाक लिम्पियाधुरा जस्तो !

नेपालखबर
साउन २७, २०७९ शुक्रबार १९:७, काठमाडौँ

शुक्रबार रिपोर्टस क्लबमा आयोजित गाईजात्रा  कार्यक्रममा कलाकारहरुले क्लबका अध्यक्ष ऋषि धमलालाई नै व्यंग्य गरेर उडाएका छन्।

क्लबद्वारा आयोजित कार्यक्रममा वरिष्ठ हास्य कलाकार शैलेन्द्र सिम्खडाले आफूले ४२ वर्षदेखि हास्य व्यंग्य गर्दै आएको बताए।

सिम्खडाले रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाको नाकको चर्चा गर्दै भने, ‘पुरानो नक्साको किनारमा चुच्चो देखाइदिए नयाँ नक्सा प्रिन्ट गर्नै नपर्ने, ऋषि धमलाको मुख छुराजस्तो, नाक लिपियाधुराजस्तो ।’

सिंखडाले देश सिंगापुरजस्तो भए व्यंग्य गर्न नपाइने भन्दै ठट्टा गरे। उनले क्लबको गाईजात्रा विशेष साक्षात्कारको राष्ट्रपति ऋषि धमला भएको बताए।

उनले भने,‘हामी सबै कलाकारलाई विभिन्न मन्त्रालयको जिम्मेवार दिनुभएको सम्माननीय राष्ट्रपतिज्यू, ऋषि धमलालाई धन्यवाद दिन चाहन्छु।’

चर्चित हास्यकलाकार किरण केसी (राता मकै) ले ‘कहिले माया जुनजस्तै, कहिले माया अख्तियारले समातेको धनजस्तै, कस्को आँखा लाग्यो बरिलै..’ भन्ने कवितामार्फत व्यंग्य कसेका थिए। केसीले आफु ऋषि धमलाको ठूलो शुभचिन्तक भएको बताए। उनले भने,‘हामी दुईबीच झडप पनि परिररहन्छ र फेरि मिल्छौं।’

अर्का कलाकार जितु नेपाल (मुन्द्रे) ले सुरुवातमै अर्थमन्त्रालयको सीसी क्यामराले फुटेज लुकाइएको भन्दै राजनीतिप्रति व्यंग्य हानेका थिए। उनले भने, ‘अर्थ मन्त्रालयबाट सीसी टिभीको फुटेज हराए झैं क्लबमा ऋषि क्यामेराको फुटेज नहराओस्।’

जितुले शतप्रतिशत बोलेको पुर्याउने एकमात्र नेता केशव स्थापित आज विस्थापित भएको व्यंग्य कसे। उनले भने, ‘केशव स्थापितले चुनावका बेलामा कसैसँग मेरो प्रतिस्पर्धा हुँदैन भन्नुभएको थियो, आखिरमा हुन पनि त्यस्तै भयो, चुनावपछि परिणाम आयो, उहाँको प्रतिस्पर्धा कोहीसँग हुनै सकेन।’

जितुले पनि प्रधानमन्त्री देउवा, नवगठित नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको क्यारिकेचर गरेका थिए। उनले अब कलाकारहरुले नेताहरुलाई व्यंग्यमात्रै नगरेर सिधै समस्याबारे प्रश्न गर्नुपर्नेमा जोड दिए।

अर्का कलाकार श्रीकृष्ण सिम्खडाले ‘बादल लाग्दैमा पानी कहाँ झर्छ र, हुरीबतास आएमा कहाँ पानी पर्छ र..?’ बोलको कवितामार्फत सरकारप्रति व्यंग्य हानेका थिए। उनले पुरोहितहरुप्रति पनि कटाक्ष गर्दै भने, ‘मार्केटमा पुरोहितहरु अलि दिन कराउँछन्, दक्षिणा पाएपछि रक्सी खाँदै कराउँछन्...आफु सही र अरु भन्दै गलत गफ दिन्छन्।’

सिम्खडाले ऋषि धमलाको प्रशंसा गर्दै भने, ‘धमला इज ग्रेट म्यान इन नेपाल।’

अर्का हाँस्यकलाकार दमन रुपाखेतीले अब आउने चुनावमा ६० वर्ष माथिका नेताहरुलाई उम्मेदवारी नदिन आग्रह गरे। बुढा पाका नेतालाई थन्काएर युवा नेताहरुलाई नेतृत्वमा ल्याउनुपर्ने उनको धारणा थियो। उनले पनि ऋषि धमलाको नाक लामो भएको उल्लेख गर्दै भने,‘उहाँको जति लामो नाक छ, त्यत्ति नै मन सफा छ।’

अर्का कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ ले भ्रष्टाचारविरुद्ध प्यारोडी सुनाए–

कसो कसो बास पर्यो अख्तियारको घरमा,

किन आँखा पर्यो होला मैले कमाएको धनमा

देश हाँक्ने भनेर नै लडेका हुन अरे

जनता सुकीसुकी मर्न आँटे तिनले भँडी भरे...

होइन भने कलिलो गणतन्त्रलाई सोध जनतालाई’

कार्यक्रममा धमलाले देउवा सरकारको आलोचना गर्दै भने, ‘देशमा सुशासन छैन, जताततै भ्रष्टाचार छ। जनता फोहोरको डंगुरमा बस्न विवश छन्। तर, सरकार मूकदर्शक भएर बसेको छ।’

उनले अबको निर्वाचन देश र जनताको भाग्य र भविष्य बदल्न सक्ने हुनुपर्ने भन्दै राम्रा, सक्षम, योग्य र उर्जावान व्यक्तिहरुले जनताको मन जितेर आउनुपर्ने र जनताले पनि राम्रो उम्मेदवार चयन गर्नुपर्ने बताए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .