संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गायक दिवेश पोखरेललाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ।
आइतवार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्रालयले गायक पोखरेललाई नेपालको ग्लोबल गुडवील एम्बास्डरको रुपमा सम्मानित गरेको हो।
पर्यटन मन्त्रालयमा भएको सम्मान कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले गायक पोखरेलले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पर्यटनको क्षेत्रलाई प्रचारप्रसार गर्नको लागि महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे।
उनले नेपालको संस्कृति, सम्पदाहरूलाई प्रचार गर्ने र पर्यटन क्षेत्रको विकास गर्ने कुरामा विश्वस्त रहेको बताए। मन्त्री श्रेष्ठले आज मन्त्रीस्तरीय निर्णय गरेर गायक पोखरेललाई ग्लोबल गुडवील एम्बास्डरको रुपमा सम्मानित गरेको पनि बताए। उनले गायक पोखरेलले कलामार्फत नेपाल र नेपालको पर्यटन क्षेत्रले ठूलो फड्को मार्ने विश्वास लिएको बताए।
उनले भने, ‘पर्यटन क्षेत्रको कामलाई प्रवद्र्धन गर्नको लागि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पर्यटनको क्षेत्रलाई प्रचारप्रसार गर्नको लागि महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई सम्मान गरेर जिम्मेवारी दिने नीति लिएका छौँ। नेपालको संस्कृति, सम्पदाहरूलाई प्रचार गर्ने र पर्यटन क्षेत्रको विकास गर्ने कुराले हामीलाई झनै यो कामका लागि सही व्यक्ति हुनुहुन्छ भन्ने लाग्यो। हामीले आज मन्त्रीस्तरीय निर्णय गरेर तपाईलाई ग्लोबल गुडवील एम्बास्डरको रुपमा सम्मानित गरेका छौँ। हामीलाई विश्वास छ, तपाईंले तपाईंको कलामार्फत नेपाललाई चिनाउन सफल हुनुहुनेछ। तपाईको माध्यमबाट नेपालको पर्यटन क्षेत्रले ठूलो फड्को मार्ने विश्वास छ।’
कार्यक्रममा गायक दिवेश पोखरेलले आगामी दिनमा नेपाली संस्कृति, प्रकृति, पर्यटनलाई अघि बढाउने कुरामा प्रतिवद्ध भएर लाग्ने बताए। उनले अमेरिकन आइडलमा जाँदा नेपालीहरुको साथ सहयोग धेरै पाएको भन्दै प्रशंसा गरे।
उनले भने, ‘अमेरिकन आइडलमा गएको बेलामा सहयोग गर्नुभएकोमा धन्यवाद। आगामी दिनमा नेपाली संस्कृति, प्रकृति, पर्यटनलाई अघि बढाउने कुरामा प्रतिवद्ध भएर लाग्नेछु।’
एक महिनाको नेपाल बसाइमा गायक पोखरेलले नेपालको सांस्कृतिक, सांगीतिक, पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिन संगीत युनिभर्सल ल्याङ्ग्वेज गर्नेछन्। देशका प्रमुख ७ शहरमा ९ वटा कन्सर्ट हुनेछन्। कन्सर्टकै आधारमा सांगीतिक टूर डकुमेन्ट्री बनाउने उनको योजना छ। सन् २०२० को अमेरिकन आइडलमा भाग लिएसँगै एकाएक चर्चामा आएका थिए।
Shares

प्रतिक्रिया