आगामी असोज २९ र ३० गते काठमाडौंमा ‘कलिङ्ग साहित्यिक महोत्सव काठमाडौँ’ को आयोजना हुने भएको छ। दुई दिनसम्म चल्ने ‘कलिङ्ग साहित्यिक महोत्सव काठमाडौँ’मा नेपाल र भारतका साहित्यकारले सहभागिता जनाउनेछन्।
‘भारत र नेपाल सभ्यताको यात्रा र आत्माको खोजी’ मुल उद्घोषका साथ आयोजना हुने साहित्यिक महोत्सवमा दुई देशका दुई सयभन्दा बढी साहित्यकारको सहभागि हुने आयोजकले जनाएको हो।
नेपाल र भारतका साहित्यकारले महोत्सवमा विभिन्न प्रस्तुति राख्नेछन्। साहित्यिक महोत्सवले नेपाल र भारतका साहित्यकारबीचको सम्बन्ध स्थापित गर्न नयाँ आयाम थपिने आयोजकको तर्फबाट रञ्जना निरौलाले जानकारी दिइन्।
महोत्सवले नेपाल र भारतको साहित्यिक ऐतिहासिक सम्बन्ध र दुई देशबीचको सभ्यताको सम्बन्धलाई सुमधुर बनाउने तथा कला, संस्कृति र साहित्यको प्रवर्धन र विश्वव्यापीकरणमा सहयोग पुग्ने आयोजकको विश्वास छ।
कार्यक्रममा ७० प्रतिशत वक्ता नेपाल र बाँकी भारतबाट सहभागी हुनेछन्। नेपाली कला, साहित्य र संस्कृतिमा केन्द्रित रहेको यस महोत्सवमा भारतबाट आएका व्योमेश शुक्लाको ‘राम की शक्तिपूजा’ थिएटर (काशी)मा प्रस्तुति रहनेछ भने चर्चित बलिउड गायक, अभिनेता पियुष मिश्र, बलिउडका चर्चित संगीतकार राज शेखर र चर्चित कलाकारले प्रस्तुति पनि दिनेछन्।
महोत्सवमा मालिनी अवस्थीको प्रस्तुतिका साथै भारतको साहित्य क्षेत्रमा विशेष योगदान पुर्याउने अशोक वाजपेयी, सुधीर चन्द्र, मृदुला गर्ग, अरुण कमल, रञ्जित रे, आनन्द निलकण्ठ लगायतको सहभागिता रहनेछ।
कार्यक्रममा ‘कलिंग काठमाडौँ यशस्वी साहित्य सम्मान’को घोषणा गरिएको छ। यस वर्षको ‘कलिंग काठमाडौँ यशस्वी साहित्य सम्मान’ नेपालका सताब्दी पुरुष सत्यमोहन जोसी र भारतका वरिष्ठ साहित्य साधक अशोक बाजपेयीलाई प्रदान गर्ने घोषणा गरिएको छ। यसको रासी पचास हजार र सरस्वतीको प्रतिमा रहने छ।
साहित्यिक महोत्सवमा आशेष मल्ल, मञ्जु कञ्चुली, तिवारी, तीर्थ श्रेष्ठ, रमेश क्षितिज, कनकमणी दीक्षित, अर्चना थापा, गणेश पौडेल, भागीरथी श्रेष्ठ लगायतको सहभागिता रहनेछ।
साहित्यिक महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, हिमालयन डायरी प्रालि, राष्ट्रिय साहित्य प्रतिष्ठान र नेपाल कलिङ लिटरेचर फेस्टिभलको सहकार्यमा आयोजना हुन लागेको हो।
Shares

प्रतिक्रिया