एउटा फिल्म निर्देशन गरेर सबैभन्दा धेरै कमेडीको पात्र बनेका निर्देशक हुन् विशाल भण्डारी। उनले ‘कोहलपुर एक्सप्रेस’ मार्फत फिल्म निर्देशनमा डेब्यु गरेका थिए। फिल्म बक्स अफिसमा फ्लप भयो। त्यसपछि भण्डारी ‘कमेडी च्याम्पियन’ तर्फ लागे।
अहिले उनी ‘कमेडी क्लब’मा देखिन्छन्। यहाँका सबै सदस्यले उनलाई असफल भनेर रोस्ट गरिरहेका हुन्छन्। तर यहाँ भने उनी सफल देखिन्छन्। उनै भण्डारी पुनः फिल्म निर्देशनमा फर्किने भएका छन्।
अनटाइटल फिल्ममा भण्डारीले निर्देशकका रुपमा सम्झौता गरिसकेका छन्। यो फिल्म ओम प्रकाश अग्रवालले निर्माण गर्नेछन्। यम थापाले कथा लेखिरहेको उक्त फिल्मको कलाकार र नामका बारेमा छलफल भैरहेको निर्माता अग्रवालले बताएका छन्।
थ्रि प्रोडक्शन र ओएसआर डिजिटलको प्रस्तुतिमा बन्न लागेको यो फिल्म निर्देशनका लागि भण्डारीले बिहिबार निर्माता अग्रवालसँग औपचारिक सम्झौता गरेका हुन्। आउँदो वर्षको दसैँमा फिल्म रिलिज गर्ने लक्ष्य सहित फिल्ममा जोडिएको निर्देशक भण्डारीले बताएका छन्।
कमेडी शो निर्देशनमा सफल भएका भण्डारी नेपाली फिल्म उद्योगका भने असफल निर्देशक मानिन्छन्। उनीसँगै काम गर्ने सहकर्मीले कमेडी क्लबमा फल्प भनेर रोस्ट गरिरहेका बेला चलचित्र निर्देशनमा उनको पुनरागमन कस्तो होला भन्ने कुरा प्रतिक्षाको विषय बनेको छ।
Shares

प्रतिक्रिया