आसन्न आम निर्वाचन र विश्वकपको असर नेपाली फिल्म उद्योगमा देखिएको छ। निर्वाचन र विश्वकपको कारण भन्दै फिल्मको रिलिज डेट हेरफेर गर्न थालिएको छ।
जितु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहले पहिलो पटक स्क्रिन शेयर गरेको फिल्म ‘ह्यारी की प्यारी’को रिलिज डेट सरेको छ। आगामी कार्तिक २५ बाट प्रदर्शन हुने भनिएको यो फिल्म अब माघ २० मा प्रदर्शन हुने भएको छ।
फिल्म निर्माण टिमले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन र विश्वकपका कारण फिल्मको प्रदर्शन मिति पर सारेको बताएको छ। यसको असर कलाकार जितु र साम्राज्ञीलाई पर्ने देखिएको छ।
यो फिल्ममा जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी लगायतका कलाकारले अभिनय गरेका छन्।
फिल्ममा नायिका रेखा थापा केमियो भूमिकामा प्रस्तुत भएकी छिन्।
बरिष्ठ चिकित्सक भोला रिजालका छोरा डा. कपिल रिजालको निर्माण तथा निर्देशन रहेको यो फिल्मलाई पारिवारिक फिल्म भनिएको छ। फिल्ममा पटकथा÷संवाद लेखनमा सुदीप बराल, गिरीराज घिमिरे, डा. रिजाल र अभिमन्यू निरवीले सहकार्य गरेका छन्। कथा भने निर्देशक रिजाललेनै लेखेका हुन्। यही फिल्मबाट रिजाल निर्देशनमा डेब्यू गर्दैछन्।
प्रतिक्रिया