अभिनेत्री नम्रता सापकोटा फिल्म ‘दुई नम्बरी’मा अनुबन्ध भएकी छन्। राजु गिरी निर्देशित फिल्ममा नम्रता मुख्य अभिनेत्रीका रुपमा अनुबन्ध भएकी हुन्। निर्देशक गिरी र अभिनेत्री सापकोटाले औपचारिक सम्झौता गरेका छन्।
फिल्म ‘अन्तराल’बाट रजतपटमा देखा परेकी नम्रताले थुप्रै फिल्ममा अभिनय गरेकी छन्। उनले अभिनय गरेका केही फिल्म हिट पनि भएका छन्। तर नम्रताले सफलताको स्वाद चाख्न भने पाएकी छैनन्। उनले लिड क्यारेक्टरमा रहेर अभिनय गरेका फिल्म पनि कमै छन्। ‘दुई नम्बरी’ले आफ्नो करिअरलाई गति दिने नम्रताको आश छ।
‘दुई नम्बरी’मार्फत ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथा भन्ने निर्देशक गिरीले बताएका छन्। मंसिर ७ गतेबाट छायांकनमा जाने यो फिल्ममा नम्रताको जोडीका रुपमा आमेश भण्डारीले काम गर्ने छन्। भण्डारी पनि फिल्म उद्योगमा चल्न नसकेका कलाकार हुन्। उनले ‘फूलै फूलको मौसम तिमीलाई’ लगायत केही फिल्ममा अभिनय गरेका छन्।
लमजुङको भुजुङ्ग खोला, हेटौंडा र काठमाडौंमा छायांकन हुने यो फिल्म सुवर्ण शिभान्स फिल्मस्को ब्यानरमा निर्माण हुने छ। फिल्ममा नारायण खातीले लगानी गर्ने छन्। यो फिल्ममा संगीतकार सन्तोष श्रेष्ठको संगीत सुन्न सकिन्छ।
Shares

प्रतिक्रिया