अभिनेता दयाहाङ राईले आफ्नो पारिश्रमिक बढाएका छन्। पछिल्लो समय बक्स अफिसमा लगातार ३ हिट फिल्म दिएका राईले आफ्नो पारिश्रमिक दोब्बरले बढाएको बताइएको छ।
दया अभिनित ‘कबड्डी ४’, ‘दुई नम्बरी’ र ‘के घर के डेरा’ बक्स अफिसमा सफल भए। थिएटरदेखि फिल्ममा व्यस्त दया एकपछि अर्को फिल्ममा अनुबन्ध हुने क्रम पनि बढ्दो छ। थिएटरबाट फिल्ममा आएका दयाको अब्बल अभिनयका कारण उनलाई लिएर फिल्म बनाउन चाहने निर्माताको लामो सूची छ। यही मौकाको फाइदा उठाउँदै दयाले पनि आफ्नो पारिश्रमिक बढाएका हुन्।
एकै वर्ष लगातार ३ फिल्म हिट हुँदै गर्दा दयाले आफ्नो स्टारडमका साथै सुक्खा हुँदै गएको बक्स अफिसलाई हराभरा पारे। पछिल्लो समय ‘हात्तिछाप’मा अनुबन्धित दयाले यही फिल्मबाट आफ्नो पारिश्रमिक बढाएको चर्चा छ। फिल्मका निर्माता किरण नेपालीले पनि आकर्षक पारिश्रमिकसहित दयालाई अनुबन्ध गरेको बताएका छन् तर पारिश्रमिक खुलाए छैनन्।
बजारको चर्चालाई मान्ने हो भने दयाले यो फिल्मबाट ३० लाख पारिश्रमिक लिएका छन्। दयाले यो चर्चा सुरु भएसँगै पारिश्रमिक बढी लिने कुरा कन्टेन्टले निर्भर गर्ने बताएका छन्।
उनी भन्छन्, ‘व्यावसायिक रुपमा फिल्म राम्रो चल्नेछ भने सोहीअनुसारको लिनुपर्छ र कन्टेन्ट राम्रो छ भने कतिपय कुरामा कम्प्रमाइज पनि गर्नुपर्ने हुन्छ।’
Shares

प्रतिक्रिया