कला


अठार पुराणको अध्यायगत सारांश नेपालीमा प्रकाशन

अठार पुराणको अध्यायगत सारांश नेपालीमा प्रकाशन

पूर्णप्रसाद मिश्र
पुस २८, २०७९ बिहिबार २०:१६, काठमाडौँ

वेद व्यासले संस्कृत भाषामा रचना गरेका १८ पुराणको नेपालीमा भाव बुझ्न चाहनेका लागि अध्यायगत सारांश सार्वजनिक भएको छ। लामो समय निजामती सेवामा रहेर २०७१ सालमा सेवा निवृत्त डा बद्री पोखरेलले १० वर्ष लगाएर १८ वटै पुराणको नेपाली भाषामा अध्यायगत सारांश लेखेका हुन्। 

शिव पुराणको भने अध्यायगत अङ्ग्रेजी सारांशसमेत उनले प्रकाशन गरिसकेका छन्। त्रिभुवन विश्वविद्यालय, संस्कृत अध्ययन संस्थानबाट २०४३ सालमा सर्वदर्शनमा आचार्य (स्नातकोत्तर) गरेका पोखरेलले यसको प्रयोग जीवनको लामो समयसम्म गर्न पाएका थिएनन्। त्रिभुवन विश्वविद्यालयबाटै अर्थशास्त्रमा पनि स्नातकोत्तर गरेका उनले लामो समय अर्थ मन्त्रालयमा काम गरे।

पिताजी र दाजुको प्रेरणामा तीनधारा पाठशालामा बसेर वाल्मीकि विद्यापीठमा संस्कृत अध्ययन गरेका पोखरेलले जागिरे जीवनमा यसको उपयोग गर्न पाएका थिएनन्। संस्कृत अध्ययन गरेका छोरालाई आमाले बेला–बेलामा घरमा पुराण सुनाउ भन्ने गरेकी थिइन्। जागिरे जीवनमा त्यो अवसर नपाएपछि सेवा निवृत्त भएर उनले आमालाई एकादशी माहात्म्य र केही पुराण सुनाउन थाले। 

आमालाई पुराण सुनाउने क्रममा पोखरेललाई लेखेर सबैले पढ्न सक्ने गरी किन प्रकाशन नगर्ने भन्ने सोच पलायो। आमालाई पुराण सुनाउँदा फूरेको योजनाले १८ पुराणको नेपाली अध्यायगत सारांश लेखेर प्रकाशन गर्ने उत्प्रेरणा जगाएको उनले बताए। चारवटा पुराण सुनाउँदैमा विसं २०७२ मा पोखरेलकी आमाको निधन भएपछि पुराण अब अरुलाई बताउँछु भनेर उनले सङ्कल्प गरे। यही सङ्कल्पले १८ पुराणको नेपाली भाषामा अध्यायगत सारांश सार्वजनिक भएको छ। 

संस्कृतसँगै अर्थशास्त्रको पनि अध्ययन गरेर जीवनभर आर्थिक क्षेत्रमै काम गरेका पोखरेललाई आधुनिक अर्थशास्त्रका पिता मानिने एड्मस्मिथको ‘संसारमा समस्या भयावह छ, यसको समाधान कहिल्यै हुँदैन’ र माल्थसको ‘जनसङ्ख्या दोब्बरले बढ्छ तर खाद्यान्न क्रमिक रुपमा मात्र बढ्छ’ भन्ने आशयले आधुनिक ज्ञानले दीर्घकालीन समाधान नदिने रहेछ भन्ने परेको थियो। त्यही बेलादेखि उनी पूर्वीय दर्शनमा डुब्ने चाहना राखेका थिए। 

अर्थशास्त्रको यही समस्या समाधानका लागि उनले पुराण गहिरिएर अध्ययन गर्न थाले। पुराण अध्ययन गरेर अध्यायगत सारांश तयार भयो। प्रकाशनका लागि पोखरेलाई सहज भयो। अध्यात्मप्रेमीले उनका १८ वटै पुराण प्रकाशन गरिदिए। पोखरेलले प्रकाशक भेटेको घटना पनि रोचक छ। पुराणको अनुवाद गरिरहेका बेला आध्यात्मिक मासिक पत्रिका गौरीका सम्पादक अर्जुन लामिछाने उनको घर पुगे। लामिछानेले नै प्रकाशक संस्था विश्वस्वतन्त्र सञ्चारका उद्धवकुमार घिमिरेसँग परिचय गराए। 

अठार पुराणमध्ये धेरै घिमिरेले नै प्रकाशन गरिदिएका छन्। केही पुराणका लागि भने उनले अध्यात्मप्रेमी प्रकाशकको व्यवस्था गरिदिएका हुन्। १८ वटै पुराणलाई नेपालीमा अनुवादका लागि रु ६० लाखभन्दा बढी खर्च भएको छ। पहिलो संस्करणमा सबै पुराण एक/एक हजारप्रति प्रकाशन गरिएको छ। शिव, अग्नि, भागवत र मार्कण्डेय पुराण बजारमा सकिइसकेको जानकारी आएको उनले सुनाए। ती पुराणका दोस्रो संस्करणको तयारीमा प्रकाशन संस्था लागेको छ। 

अमेरिकामा रहेका नेपाली समुदायले १८ पुराणका अध्यायगत नेपाली सारांशको माग धेरै गरेका छन्। 

पोखरेल यसलाई संस्कृतमा भएको लचकता बताउँछन्। नारद पुराणमा गणितका धेरै कुरा पाइएको बताउँदै उनी यो अत्यन्त वैज्ञानिक रहेको सुनाउँछन्। नारद पुराणमा गीत, सङ्गीतका विषय पनि समावेश गरिएको छ। ‘संसारका धेरै विश्वविद्यालयले किन संस्कृत भाषा अध्यापन गराउन थाले भन्ने कुराको रहस्य मैले पुराण गहिरिएर पढेपछि नै थाहा पाएको हुँ’, पोखरेलले भने। 

सेवा निवृत्त भएपछि जयतु संस्कृतम् संस्थामा समेत आबद्ध भएर उनले संस्कृत क्षेत्र र पूर्वीय दर्शनका लागि काम गरिरहेका छन्। हाल उनी जयतु संस्कृतम् संस्थाको अध्यक्ष छन्। 

पुराणको गहिरिएर अध्ययन गर्ने क्रममा पोखरेलले स्कन्द पुराणका केही खण्ड भारतबाट प्रकाशन भएको मूल ग्रन्थमा नभएको तथ्य थाहा पाए। सोही पुराणको हिमवत्‌खण्ड जहाँ नेपालका धेरै तीर्थस्थलको चर्चा छ। हिमवत्‌खण्ड योगी नरहरिनाथले प्रकाशन गरेका हुन्। मानसखण्ड नेपालका पश्चिमी भूभागका साथै भारतको कुमाउ, गढवाल लगायतक्षेत्रका तीर्थस्थलको वर्णन छ। मानसखण्ड पूर्व सचिव विष्णुप्रसाद खत्रीको नेतृत्वमा रहेको रामप्रसाद स्मृति संस्थाले प्रकाशन गरेको छ। 

यसैगरी राम जन्मभूमिको चर्चा भएको सरयुखण्ड पनि भारतले प्रकाशन गरेको मूल स्कन्द पुराणको ग्रन्थमा उल्लेख गरिएको छैन। स्कन्द पुराणका अन्य तीन खण्ड पनि रहेको भन्ने चर्चा सुनेकाले त्यस विषयमा खोजी जारी राखेको पोखरेल बताउँछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad