अमृता सिंहले बलिउडमा एकताका राम्रो पहिचान बनाएकी थिइन्। उनले इन्डस्ट्रीलाई ‘चमेली की शादी’, ‘मर्द’, ‘सूर्यवंशी’ जस्ता उत्कृष्ट फिल्म दिइन्। अमृताको जन्म एक प्रतिष्ठित परिवारमा भएको थियो। उनले फिल्ममा करिअर बनाउन खासै संघर्ष गर्नुपरेन।
सन् १९८३ मा फिल्म ‘बेताब’बाट उद्योगमा पाइला टेकेकी अमृताले पहिलो फिल्मबाटै सफलता पाईन। करिअरको सुरुवातमै उनको नाम विवाहित सन्नी देओलसँग जोडियो। केहि समय सन्नीको प्रेममा रमाएकी अमृताले विवाह भने आफूभन्दा १२ वर्ष कान्छा सैफ अलीसँग गरिन्।
त्यतिबेला सैफ फिल्ममा आफ्नो पहिचान बनाउँन संघर्ष गर्दै थिए। अमृताको करिअरको ग्राफ भने निक्कै लोभलाग्दो थियो। तर अमृताले वैवाहिक जीवनमा प्रवेश गरेपछि फिल्म छोड्ने निर्णय गरिन्।
बलिउडमा उनले गरेको यो निर्णयलाई उनको जीवनको सबैभन्दा ठूलो निर्णय मानिन्छ। फिल्म छोडेर पारिवारिक मोहमा रमाएकी अमृताले दुई सन्तानलाई हुर्काइन्। ९० को दशककी शिर्ष अभिनेत्री अमृताले सन्तान हुर्काएपछि आमाका रुपमा फिल्ममा पुनरागमन गरिन्।
अमृताको जन्म सन् १९५८ मा पञ्जाबको एक सिख परिवारमा भएको थियो। उनकी आमा रुख्साना सुल्तान मुस्लिम थिइन्। उनकी आमा आफ्नो समयकी चर्चित राजनीतिज्ञ थिइन्। उनले संजय गान्धीको ‘नसबंदी अभियान’को नेतृत्व गरेकी थिइन्। अमृताकी आमा रुखसाना संकटकालमा पनि कांग्रेस सरकारसँग आवद्ध थिइन्। यससँगै उनको डिजाइनर बुटिक पनि थियो। अमृताका पिता शिवेन्द्र सिंह विर्क आर्मी अफिसर थिए। अमृताका हजुरबुबा शोभा सिंह नयाँ दिल्लीका प्रख्यात बिल्डर थिए।

फिल्ममा सहजै ठाउँ
चर्चित परिवारकी अमृताले फिल्ममा सहजै ब्रेक पाइन्। डेब्यू नायिका अमृतासँग सनी देओलले स्क्रिन शेयर गरे। फिल्म बक्स अफिसमा हिट भयो। अमृता पहिलो फिल्मबाटै स्टार कलाकार बनिन्।
त्यसपछि, अमृताले ‘बेताब’, ‘सन्नी’, ‘चमेली की शादी’, ‘साहेब’, ‘खुदगर्र्ज’ लगायतका ठूला फिल्ममा काम गरिन्। अमृताको स्टारडमका कारण ८० को दशका उनको नाम अमिताभ बच्चन, सनी देओल, सञ्जय दत्त, राज बब्बर, जितेन्द्र, विनोद खन्ना, अनिल कपूर लगायतका स्टार सँग जोडिन्थ्यो।
अमृताले ‘राजु बन गया जेन्टलम्यान’, ‘सूर्यवंशी’, ‘आइना’ लगायतका फिल्ममा सहायक भूमिका पनि निर्वाह गरेकी छिन्। उनले फिल्म ‘आइना’का लागि सर्वश्रेष्ठ सहायक भूमिकाको लागि फिल्मफेयर अवार्ड जितेकी थिइन।
विवाहित सन्नीसँग प्रेम
सन्नी देओलले फिल्ममा आउनु अघिनै विवाह गरिसकेका थिए। तर उनले फिल्ममा डेब्यू गर्दा आफ्नो विवाहलाई गोप्य राख्ने सम्झौता गरेका थिए। कारण उनीसँग काम गरेका कलाकारले उनी विवाहित भन्ने थाहा पाएनन्।
सन्नी फिल्ममा काम गरिरहँदा उनकी श्रीमती लण्डन बस्थिन्। फिल्म ‘बेताब’ सन्नी र अमृता दुबैका लागि डेब्यू फिल्म थियो। सन्नीले फिल्म सेटमा सँगै रहदा पनि अमृतालाई आफू विवाहित भएको कुरा बताएनन्। सन्नीसँग अमृताको प्रेम गहिरिदै गएका बेला पत्रिकामा सन्नी विवाहित भन्ने खबर सार्वजनिक भयो। त्यसबेला पनि अमृताले उक्त समचारलाई अफवाह मात्रै भएको बताइन्।
सन्नीकी आमा प्रकाश कौरले सन्नी अमृतासँग डेट गरिरहेको थाहा पाइन्। आमाले उनीहरुको सम्बन्धलाई लिएर आपत्ति जनाइन्। अमृताले सन्नी विवाहित नै हुन् भन्ने खबर पुष्टि भएपछि निक्कै टुटेकी थिइन्। सन्नी पनि अमृतासँगको सम्बन्ध तोड्ने पक्षमा थिएनन्। त्यसैले विवाहित भन्ने थाहा पाएरै पनि केहि समय अमृता–सन्नी डेटमा रमाए। अन्ततः उनीहरुले परिवारका लागि सम्बन्धको अन्त्य गरे।
सन्नी देओलसँग अलग भएपछि अमृता क्रिकेटर रवि शास्त्रीसँग रिलेशनमा रहेको खबर सार्वजनिक भयो। रवि शास्त्रीको म्याच हेर्न अमृता प्रायः क्रिकेट स्टेडियम जान्थिन्। रविलाई अमृताको फिल्मको सेटमा पनि धेरै पटक देखियो। अमृता एक पटक दुबईको शारजाहमा रविको खेल हेर्न पुगिन्।

पत्रिकाको कभर पेजमा अमृता र रविसँगको तस्बिर सार्वजनिक भयो। रवि र अमृताको प्रेम पनि लामो समय टिकेन। अमृतासँग सम्बन्ध तोड्नुको कारण बताउँदै एकताका रविले आफूले घरमा मात्र ध्यान दिने श्रीमती चाहेको, अभिनेत्रीसँग बिहे गर्न नचाहेको बताएका थिए। त्यहि बेला अमृताले आफ्नो करियरमा फोकस गर्ने चाहानाले रविसँगको सम्बन्ध अगाडि बढाउन नसकेको बयान दिइन्।
सैफ अली खानसँगको पहिलो भेट
सन् १९९० ताका निर्माता राहुल रवैलले एउटा नयाँ केटोलाई फिल्ममा लन्च गरे। उनी प्रायः नया अनुहार लन्च गर्ने गर्थे। कुनैपनि नयाँ कलाकारलाई लन्च गर्नु अघि स्टार कलाकारसँग फोटोसुट गराउँथे। यसपटक ती नयाँ युवासँग अमृतालाई फोटोसुट गर्न बोलाए।
उनीसँग फोटोसुट गर्ने नयाँ अनुहार सैफ अली खान थियो। त्यतिबेला सबैले सैफलाई मन्सूर अली खान पटौदी र शर्मिला टैगोरको छोराको रूपमा चिन्थे। अमृताले त्यो केटालाई बेवास्ता गरिन्। फोटोका लागि सैफले अमृताको काँधमा हात राख्दा अनौठो प्रतिक्रिया आयो । दुबैको नजर एकअर्कामा अड्किएको थियो। उनीहरुको यो पहिलो भेट थियो।

यसरी सुरु भयो प्रेम कथा
त्यतिबेला सैफ आफ्नो पहिलो फिल्मको सुटिङ गरिरहेका थिए। अमृता स्टार कलाकारको अग्र पंक्तिमा पर्थिन। अमृता सैफभन्दा १२ वर्ष जेठी थिइन् । पहिलो भेट भएको एक दिनपछि सैफले अमृताको घरमा फोन गर्न थाले। उनी अमृतालाई लन्च, डिनरका लागि निमन्त्रण गरिरहन्थे। अमृता उनको प्रस्तावलाई अस्विकार गर्थिन्। यो क्रम केहि समय चल्यो। एकदिन अमृताले सँगै खाने इच्छा भए घरमै आउन सक्ने बताइन्।
सैफ सोही दिन अमृताको घर पुगेका थिए। सैफ पहिलो पटक अमृताको घरमा पुग्दा अमृताले उनलाई बिना मेकअप स्वागत गरेकी थिइन। त्यो दिन अमृताले सैफलाई भनिन्, ‘तिम्रो लागि तयारी भएर बस्नु आवश्यक थिएन।’
अमृताको यो कुराले सैफले मन समेत दुखाएका थिए। तर उनलाई बिना मेकअपकी अमृता झन धेरै मन परेको थियो। भेटभएको केहि क्षणमै अमृताले सैफलाई भनिन्, ‘यदि हामीबिच केही होला भन्ने सोचेर आउनु भएको हो भने तपाई गलत हुनुहुन्छ।’
त्यो दिन अमृता र सैफले दिनभरी कुरा गरे। त्यहि दिन सैफले अमृतालाई आफ्नो प्रेम अभिव्यक्त गरे। अमृताले सैफको प्रेम प्रस्ताव स्विकार गरिन्। दुबैले एक अर्कालाई चुम्बन गरे। सैफ अमृताको घरमा २ दिन बसे। यो कथा सैफ–अमृताले सिमी गरवालको च्याट शोमा सुनाएका थिए।
दुईदिनपछि सैफलाई निर्माताको बारम्बार फोन आयो। अमृतालाई छोडेर सुटिङमा फर्किन उनलाई निक्कै गाह्रो भएको थियो। उनले त्यसबेला भनेका थिएन ‘मलाई आफ्नो मुटुको धड्कन छोडेर सुटिङमा जान गाह्रो भैरहेको छ।’ फर्किने बेला सैफसँग पैसा थिएन। उनले अमृतासँग सय रुपैयाँ मागे। ऋमृताले आफ्नो कार लिएर जान भनेकी थिइन्। तर उनले मानेनन्। अमृतासँग सय रुपैयाँ ऋण लिएर उनी सुटिङमा फर्किएका थिए।
सैफसँग विवाह गर्न धर्म परिवर्तन
सन् १९९१ मा सैफ अली खान र अमृताले विवाह गर्ने निर्णय गरे। विवाहको निर्णय गरेको भोलिपल्ट अमृताले आफ्नो धर्म परिवर्तन गरिन। त्यसको भोलिपल्ट विवाह गरिन। विवाह गर्दा अमृताको करिअर शिखरमा थियो। उनलाई ठूला फिल्मका अफर अत्याधिक आउँथे। तर विवाहपछि उनले फिल्ममा काम नगर्ने निधो गरिन। उनी उद्योगबाट टाढा भइन्।
विवाहको ४ वर्षपछि अमृताले छोरी सारा अली खानलाई जन्म दिइन्। त्यसको केहि वर्षपछि छोरा इब्राहिम अली खानलाई जन्मदिइन्। दुई सन्तान जन्माएपछि अमृता र सैफको सम्बन्ध राम्रो भएन। उनीहरु आपसमा झगडा गर्न थाले। सन् २००४ मा यो जोडी सम्बन्ध विच्छेद गर्ने मोडमा पुग्यो।
त्यसबेला सैफ इटालियन मोडल रोजा क्याटालानोसँग डेट गरिरहेका थिए। अमृतासँग डिभोर्स गर्दा सैफले ५ करोड भारु तिर्नु पर्ने भएको थियो। तर पैसा अभावका कारण सैफले अमृतालाई साढे २ करोड मात्रै दिए। सैफले छोरा इब्राहिम १८ वर्ष नपुग्दासम्म अमृतालाई महिनामा १ लाख रुपैयाँ दिएका थिए।
परिवारका लागि फिल्म छाडेकी अमृता सैफसँग सम्बन्ध बिग्रिएपछि फिल्ममा फर्किन। ‘सहिद’ मार्फत फिल्ममा फर्किएकी अमृताले बबी देओलसँग अभिनय गरिन। बबी अमृताका प्रेमी सन्नीका भाई थिए। अमृताले एकता कपूरको ‘शो काव्यञ्जली’मा नकारात्मक भूमिका रहेर अभिनय गरिन। दर्शकले उनको नकारात्मक भूमिकालाई पनि निक्कै रुचाए।
सन् २०१२ मा जब सैफ अली खानले करीना कपूरसँग बिहे गरे। सैफले आफ्नो विवाहमा पूर्वपत्नि अमृतालाई पनि बोलाएका थिए। सैफैको बिहेको निम्तो पाएपछि अमृताले डिजाइनर अबु जानी र सन्दीप खोसलालाई बोलाएर छोरी साराका लागि सबैभन्दा सुन्दर लेहेंगा अर्डर गरिन्। आफ्नो बैंक लकरमा लिएर गइन्,साराका लागि केही गहना निकालिन्। र छोरीलाई सैफको विवाहमा पठाइन्।
करीनासँग विवाह गर्ने दिन सैफले आफ्नी पहिलो पत्नी अमृतालाई पत्र लेखेका थिए। उक्त पत्रमा सैफले अमृतालाई धन्यवाद दिदै आगामी दिनका लागि शुभकामना भनेका थिए। सैफले उक्त पत्रमा आफ्नो र अमृताका केही यादगार पलहरू पनि उल्लेख गरेका थिए।
साराले यो कुरा हेलो म्यागजिनलाई दिएको अन्र्तवार्तामा बताएकी थिइन्।
Shares

प्रतिक्रिया