गएराति मुम्बईमा दादासाहेब फाल्के इन्टरनेसनल फिल्म फेस्टिभल २०२३ को आयोजना गरिएको थियो। यस अवसरमा आलिया भट्टले फिल्म ‘गंगुबाई काठियावाडी’का लागि सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड र उनका पति रणवीर कपुरले फिल्म ‘ब्रह्मास्त्र’का लागि उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरे। जुरीको यो निर्णयलाई धोखाधडी भन्दै अभिनेत्री कंगना रनोटले फेरि एकपटक रणवीर–आलियालाई निशाना बनाएकी छन्।

सामाजिक सञ्जालमार्फत कंगनाले दादासाहेब फाल्के अवार्डलाई गलत भनेकी छन्। यति मात्र होइन, कसैको नाम नलिई उनले आलिया–रणवीरले योग्य कलाकारको अवार्ड खोसेको आरोप लगाएकी छन्। उनले लेखेकी छन्, ‘अवार्ड सिजन सुरु भएको छ। नातावाद माफियाले फेरि जित्यो। उनीहरूले प्रतिभाशाली र योग्य व्यक्तिहरूबाट सबै पुरस्कार खोसेका छन्।’
कंगनाले अभिनेत्रीका लागि आलियाको सट्टा मृणालको नाम उल्लेख गरेकी छन्। उनले मृणाल–ऋषभ शेट्टीको अभिनयलाई सर्वोत्कृष्ट बताएकी छन्। कंगनाले थप लेखेकी छन्, ‘वर्ष २०२२ मा यी केही कलाकार हुन् जसले उत्कृष्ट प्रदर्शन गरेका छन्। ऋषभ शेट्टी र मृणाल तीमध्ये एक हुन्।’
कंगनाले बनाएको उत्कृष्ट अभिनेताको सूची जारी गर्दै उनले एसएस राजामौलीलाई उत्कृष्ट निर्देशक, अनुपम खेर उत्कृष्ट सह-अभिनेता र तब्बुलाई उत्कृष्ट सह-अभिनेत्रीका लागि अवार्ड दिनुपर्ने उल्लेख गरेकी छन्। कंगनाले आफैँले अवार्डको लिस्ट बनाएर आफ्नोअनुसार यी सेलेब्स योग्य रहेको बताएकी छन्।
कंगनाले अगाडी लेखेकी छन्, ‘बलिउड अवार्ड ठूलो ठग हो। जतिबेला मेरो तालिकाबाट समय मिल्छ, म योग्य कलाकारहरूको सूची बनाउँछु।’
रणवीरलाई निशाना बनाएपछि कंगना आफैँ ट्रोलको सिकार बनेकी छन्।
Shares

प्रतिक्रिया