चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले कलाकारहरुको गोपनीयता र सुरक्षामा साइबर हमला हुनेक्रम बढेको बताएका छन्।
मंगलवार चलचित्र विकास बोर्डले काठमाडौंमा आयोजना गरेको फिल्म साइबर सेक्युरिटि डेस्कबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। कार्यकारी अध्यक्ष केसीले प्रविधिका कारण सहज भएसँगै समस्या पनि बढीरहेको बताए। उनले प्रविधिले साइबर सुरक्षाको विषयमा नयाँ चुनौति थपेको बताए।
कार्यकारी अध्यक्ष केसीले कलाकारहरुको गोपनीयता र सुरक्षामा पनि साइबर हमला हुने क्रम बढ्दै गएको बताए। उनले साइबर हमलाको समस्याको समाधानका लागि विकास बोर्डले चलचित्र साइबर सेक्युरिट सम्बन्धित डेडिकेटेड डेस्क हटलाइनसहित स्थापना गर्ने नीति लिएको स्पष्ट पारे।
साइबर सुरक्षालाई बहुपक्षीय दृष्टिकोणबाट सम्बोधन गर्नुपर्ने बताए। नेपाली राष्ट्रिय चलचित्र उद्योगले सामना गरिरहेको साइबर सुरक्षा चुनौतिलाई सम्बोधन गर्न चलचित्र विकास बोर्ड प्रतिवद्ध रहेको उल्लेख गरे।
उनले भने, ‘प्रविधिका कारण हामीलाई दर्शसँग सहजै पुग्न र चलचित्र क्षेत्रको बिस्तार गर्न सहज भएको छ तर यसले नै साइबर सुरक्षाको विषयमा नयाँ चुनौति सिर्जना गरेको छ। हामीले नेपाली चलचित्रहरु अनलाइन लिक भएका प्रशस्त उदाहरण देखेका छौँ। यसले चलचित्र उद्योगलाई ठूलो नोक्शान भएको छ। यसबाहेक हाम्रा कलाकारहरुको गोपनियता र सुरक्षामा पनि साइबर हमला हुने गरेको हामीले पाएका छौँ।’
कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले बोर्डले कर्मकाण्डी रुपमा मात्रै साइबर हमलाको विषयलाई उठाएको आरोप लगाए। उनले टिकटकले धेरै लामो समयको भिडियो अपलोड गर्न पाउनेगरी विकास गरेकाले सबै भिडियो टिकटबाट नै सार्वजनिक हुने गरेको बताए। उनले यसरी अनैतिक रुपमा भिडियो पोस्ट गर्नेहरुलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्नुपर्ने बताए।
कार्यक्रममा सूचना प्रविधि विभागका महानिर्देशक प्रेमशरण श्रेष्ठले चलचित्रसम्बन्धी कानूनलाई नै बलियो बनाएर साइबर क्राइमका घटना कम गर्नुपर्नेमा जोड दिए। उनले नेपालमा बन्ने चलचित्रहरुको स्वीकृति लिने मापदण्ड बनइ अघि बढ्न सुझाव दिए।
कार्यक्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले प्रत्यक्ष असर परेका चलचित्रकर्मीहरुले उजुरी दिन कन्जुस्याँइ गर्नु नहुने बताए। उनले साइबर अपराधलाई कम गर्न दर्शकहरुलाई सचेतना जगाउन आवश्यक रहेको बताए।
प्रहरी उपरीक्षक रेग्मीले साइबर अपराध कम गर्नका लागि सबै सम्बन्धित निकायहरु मिलेर जनचेतनामुखी काम गर्न आवश्यक रहेको बताए।
प्रतिक्रिया