वैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’ले स्पेशल स्क्रिनिङमा प्रशंसा पाएको छ। बुधबार साँझ आयोजित शोमा सिनेमा हेर्न पुगेका अतिथि दर्शकले फिल्मको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनयको प्रशंसा गरेका छन्।
फिल्मले मल्टिप्लेक्समा राम्रो शोज पाएको छैन। यो फिल्मलाई प्रदर्शकहरुले चेपुवामा पारेको गुनासो विशेष शो को दिन पनि निर्माताले गुनासो गरे। निराशा बीच पनि स्पेशल स्क्रिनिङमा फिल्मले पाएको प्रतिक्रियाबाट भने निर्माता उत्साहित छन्।
फिल्म हेर्न पुगेका सांसद ज्ञानेन्द्र शाहीले कलाकारको अभिनय, संवाद, कर्णालीको कथालाई मार्मिक ढंगले प्रस्तुत गरेको बताए।
निर्देशक दिनेश डीसीले पनि ‘बुलाकी’ उत्कृष्ट बनेको बताए। अभिनेत्री नीता ढुंगानाले फिल्म हेर्दा छुट्टै आनन्दको अनुभूति भएको सुनाइन्। अभिनेता हरिहर अधिकारीले पनि नेपाली फिल्ममा मौलिक कथा भन्न आवश्यक रहेको सुनाए।
अभिनेता पुष्प खड्का, गजित बिष्ट, राज कटुवाल, मुकुन भुषाल, निर्देशक ज्ञानेन्द्र देउजा लगायतले पनि फिल्मले पुरा समय बाँधेर राखेको सुनाए।
फिल्म क्षेत्रमा नोटिस नभएका नरेनको अभिनयले दर्शकलाई प्रभावित बनाउँछ। फिल्म सुरक्षा पन्त शक्तिशाली अभिनयका कारण हाबी छिन्। डेव्यु अभिनेता विराज विष्टको अभिनयले पनि दर्शकलाई फरक अनुभूत गराउँछ। डेव्यु निर्देशक लक्ष्मण सुनारले कर्णालीको कथा अझै धेरै भन्न बाँकी रहेको सुनाए।
‘बुलाकी’मा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अवरोहलाई प्रस्तुत गरिएको छ। नरेन खड्का, सुरक्षा पन्त, बिराज बिष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री लगायत कलाकारले अभिनय गरेका छन्।
शिव ढकालले खिचेको फिल्म सम्पादन अर्जुन जिसीले गरेका छन्।
Shares

प्रतिक्रिया