सफलता भनेको ‘नाइँ भन्न सक्ने सुविधा’ हो भन्छिन् मनीषा कोइराला। उनको लामो करिअरमा १९४२ः ए लभ स्टोरी, बम्बे र कम्पनीजस्ता फिल्महरु कोशेढुंगा रहे।
अहिले करिब दुई दशकपछि सञ्जय लीला भन्सालीको आउँदो सिरिज हीरामण्डी आफ्नो करिअरको अर्को कोशेढुंगो हुनेमा आशावादी रहेको उनी बताउँछिन्।
‘आफूले चाहेको समयमा आफूले चाहेको काम गर्न पाउनुलाई नै म सफलता भन्छु। आज म आफूलाई निकै सफल मान्छु, किनभने मसँग नाइँ भन्ने सुविधा छ। यो पेसाप्रतिको अमर प्रेमले मलाई अघि बढ्न घच्घच्याइरहन्छ। म अभिनय र सिनेमा क्षेत्रलाई प्रेम गर्छु,’ मनीषाले भनिन्।
तर, १९९० को दशकमा भने सफलताको अर्थ अलग रहेको उनले सुनाइन्।
‘मैले करिअर सुरु गर्दा सफलता भनेको व्यस्त कार्यतालिका थियो। मलाई भनिएको थियो– कुनै कलाकार आगामी तीन वर्षका लागि व्यस्त छ भने ऊ सफल कलाकार हो। त्यसैले मेरो ध्यान त्यसैमा थियो,’ उनले भनिन्।
सिनेमामा ३२ वर्ष काम गरेपछि उनको प्राथमिकता फेरिएको छ।
‘अहिले त बरु टन्न खाली समय होस्, जुन समयमा म यात्रा गर्न सकूँ, बँगैचामा काम गर्न सकूँ, ट्रेकिङ गर्न, किताब लेख्न, लगातार सिनेमा हेर्न सकूँ, परिवारसँग समय बिताउन सकूँ,.. मामुली खालको काम गर्नुभन्दा बरु आफ्नो रुचिको काम गर्न चाहन्छु,’ उनले थपिन्।
यी ५२ वर्षीया अभिनेत्री नेटफ्लिक्सको हीरामण्डीका लागि फेरि भन्सालीसँग सहकार्य गर्दैछिन्। यसअघि उनले भन्सालीसँग खामोसीः द म्युजिकलमा काम गरेकी थिइन्।
‘मेरो लागि सौदागार, १९४२ः ए लभ स्टोरी, बम्बे र लामो विश्रामपछि कम्पनी टर्निङ पोइन्ट रहे। अहिले हीरामण्डी पनि मेरो अर्को मोड बन्न सक्छ। मैले ठूलो आशा लिएकी छु,’ उनी भन्छिन्।

भन्सालीलाई ‘उस्ताद’ मान्ने मनीषा २५ वर्षभन्दा लामो समयपछि उनीसँग काम गर्न पाउँदा आनन्दित भएको बताउँछन्।
‘भन्साली त्यस्ता व्यक्ति हुन्, जोसँग मैले खामोसीमा काम गरेकी थिएँ। बीचमा लामो अन्तराल रह्यो, तैपनि हामी एकअर्काको सम्पर्कमा रह्यौँ। हाम्रो गहिरो मित्रता छ, जुन कामसम्म मात्र सीमित छैन। उनीप्रति ममा निकै ठूलो सम्मान छ, किनभने उनी त्यस्ता फिल्ममेकर हुन्, जो हरेक फिल्मसँगै झनझन् उत्कृष्ट बन्दै गएका छन्। यसको कारण उनको मेहनत हो, जसमा उनलाई कसैले भेट्दैन,’ मनीषाले भनिन्।
उनको आउँदो सिरिजले यौनकर्मी र तिनका ग्राहकको कथाका माध्यमबाट हीरामण्डीको यथार्थ पस्किने छ। यो १९४० को दशकको भारतीय स्वतन्त्रता आन्दोलनको बेलाको कथा हो।
सिरिजमा सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्ढा, सरमिन सेहगल र सन्जिदा शेखजस्ता कलाकार रहनेछन्। भन्सालीले यो सिरिजमा काम गर्ने प्रस्ताव गर्दा आफू उत्साहित भएको उनको भनाइ छ। महिलाकेन्द्रित फिल्म बनाएर त्यसलाई हिट बनाउन सक्ने सीमित निर्देशकमा भन्साली पर्ने उनको भनाइ छ।
‘यो पुरुषप्रधान समाज हो। र, फिल्म पनि त्यसैगरी बनाइन्छ। त्यसलाई स्वीकार्नुको विकल्प छैन। सीमित ठाउँमा हामी सबै आफ्नो उत्कृष्ट दिने प्रयास गर्छौँ,’ उनी भन्छिन्, ‘एक महिला कलाकार भएकाले पुरुष कलाकारपछिको दोस्रो स्थानलाई हामीले सधैँ स्वीकार गर्दै आएका छौँ। यो पुरुष प्रधान उद्योग हो। र, सञ्जयजस्ता फिल्ममेकर निकै कम छन्, जसका फिल्ममा महिला मूल पात्र हुन्छन् र ती बक्स अफिसमा पनि सफल हुन्छन्।’
पछिल्लो समय लस्ट स्टोरिज्, सञ्जु र सेहजादाजस्ता फिल्ममा काम गरेकी उनी नयाँ प्रशंसक बनाउन र पुरानाहरुसँग फेरि जोडिन उत्सुक रहेको बताउँछिन्।
‘म नयाँ दर्शकहरुको माया प्राप्त गर्न तथा गएको २० वा ३० वर्षमा मेरो काम हेरेका मेरा प्रशंसकहरुको स्मृतिलाई जिउँदो राख्न म अत्यन्त इच्छुक छु। अझ राम्रो काम गर्न मेरा लागि उनीहरु नै प्रेरणा हुन्,’ मनीषाले भनिन्। पीटीआईबाट
Shares

प्रतिक्रिया