कला


डा. न्यौपानेको पुस्तक ‘मेरो देश’ सार्वजनिक

डा. न्यौपानेको पुस्तक ‘मेरो देश’ सार्वजनिक

नेपालखबर
जेठ २१, २०८० आइतबार ७:५०, काठमाडौँ

होमियोप्याथिक चिकित्सक डा. लेखनाथ न्यौपानेको पुस्तक ‘मेरो देश’ बिमोचन गरिएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिबार कृति विमोचन गरिएको हो।

कार्यक्रममा प्राध्यापक गोविन्द भट्टराई प्रमुख अतिथिको रूपमा उपस्थित थिए। प्राध्यापक भट्टराई, भुँडीपुरण प्रकाशनका प्रकाशक केशव पराजुली, लेखक डा. न्यौपानेले संयुक्त रूपमा पुस्तकको बिमोचन गरे।

भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको यो पुस्तक डा. न्यौपानेको पाँचौँ कृति हो। यसअघि उनले होमियोप्याथिक चिकित्सा प्रणाली, छोरा उपन्यास, हराएका अनुहार तथा कथासंग्रह, स्वस्थ कसरी रहने गरी चार कृति बजारमा ल्याइसकेका छन्।

कार्यक्रममा बोल्दै लेखक न्यौपानेले पुस्तक १२ वर्ष लगाएर लेखिएको बताए। चिकित्सक पेसाले देशको विभिन्न ठाउँ घुम्ने क्रममा देशको सौन्दर्यबारे पुस्तक लेख्ने सोच आएको उनको भनाइ थियो।

‘नेपालको प्राकृतिक सौर्न्दर्य र संस्कृतिबारे बुझेपछि पुस्तक लेख्नुपर्छ भन्ने लाग्यो,’ उनले भने। पुस्तक सम्पूर्ण उमेर समूहको लागि उपयोगी हुने उनको भनाइ थियो।

उनका अनुसार पुस्तक बालबालिकाका लागि सामान्य ज्ञान, युवकलाई जागिरसँग सम्बन्धित ज्ञान, घुम्न जाने पर्यटकका लागि आवश्यक जानकारीसहित पूर्वको माइपोखरीदेखि विश्व सम्पदा सूचीमा रहेका सम्पदाको व्याख्यासमेत समेटिएको छ।

कृतिबारे समीक्षा गर्दै साहित्यकार, लेखक तथा समीक्षक युवराज नयाँघरेले डा. न्यौपानेको कृतिले समग्र नेपाललाई चिनाउने, समग्र नेपालको प्रकृति, संस्कृति, सामाजिक तथा राजनैतिक परिवेश, धार्मिकस्थिति र भूगोलको सुन्दर ढंगले व्याख्या गरेको बताए। उनका अनुसार पुस्तक सूचना प्रवाह गर्ने शैलीको छ।

अर्का समीक्षक तथा साहित्यकार चन्द्रप्रसाद न्यौपानेले मेरो देश शब्द नै मिठो रहेको भन्दै उनले पुस्तकमा नेपालको पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको संस्कृतिको व्याख्या, गोपालवंश, अथर्ववेदमा नेपाल नाम लेखिएको प्रसंगदेखि हालसम्मको राजनीति परिवेश र पर्यटन विकाससमेत उल्लेख गरेको बताए।

कार्यक्रममा साहित्यकार तथा न्यौपाने बन्धु समाजका अध्यक्ष बलराम न्यौपाने, फिल्म निर्देशक यादव भट्टराई, प्राध्यापक केशव प्रसाद न्यौपाने, कर्नाखर खतिवडा, खगेन्द्रप्रसाद ढकाल, अग्नि लुइँटेल, इतिहासविद् खेमप्रसाद न्यौपानेलगायत साहित्यकारहरूको उपस्थिति थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .