बलिउडमा प्रेम, ब्रेकअप र प्याचअपका घटना अहिले मात्रै होइन, क्लासिक सिनेमाको समयमा पनि उस्तै थियो। त्यस्तै एक प्रेम हो बलिउडकी चर्चित अभिनेत्री वैजयन्ती मालाको।
उनले करिब २ दशक हिन्दी फिल्ममा राज गरिन्। उनी दक्षिण भारतबाट राष्ट्रिय अभिनेत्रीको दर्जा पाउने पहिलो महिला हुन्। उनी एक प्रसिद्ध नर्तक थिइन्, भारतीय सिनेमामा शास्त्रीय नृत्य स्थापित गर्ने श्रेय उनैलाई जान्छ।
उनको मन विवाहित बलिउड 'शोम्यान'मा अल्झियो। जब उनले धोका पाइन्, फ्यानसँग बिहे गरेर उनी सदाका लागि फिल्म उद्योगबाट बिदा भइन्। उनले उत्कृष्ट गीत, नृत्य र अभिनयले करोडौँ दर्शकको मनमा ठाउँ बनाएकी थिइन्। फिल्ममा उनैलाई हेर्नका लागि हलमा खचाखच दर्शक पुग्थे।
त्यही समयमा बहुप्रसिद्ध अभिनेता, निर्माता र निर्देशक थिए राज कपूर। दुईबीच प्रेम झाङ्गियो। तर राज थिए विवाहित। राज वैजयन्तीसँगको उक्त प्रेमलाई विवाहमा परिणत गर्न चाहँदैन थिए। एकदिन राजकी पत्नी कृष्णालाई दुईबीचको अफेयरबारे थाहा भयो। त्यसपछि राजलाई छाडेर कृष्णा छोराछोरीसहित होटलमा बस्न गइन्।
राज कृष्णासँगको सम्बन्ध तोड्न चाहँदैन थिए। उनले पत्नीसँग माफ मागे र आफूलाई वैजयन्तीबाट टाढा राखे। एकाएक राज कपूर आफूबाट टाढा हुँदै गएको महसुस गरेपछि उनको हृदय टुट्यो। उनी फिल्म क्षेत्रबाट टाढिँदै गइन्।
यसैबीच उनको भेट आफ्ना एक फ्यान डा. चमनलाल बालीसँग भयो। एक पटक वैजयन्ती मालालाई निमोनिया हुँदा उनी उपचारका लागि अस्पताल पुगेकी थिइन्। डा. थिए उनको ठूला फ्यान। चमनलालले आफ्नो मनको कुरो भन्न ढिलो गरेनन्। अनि चमनलाल र वैजयन्तीबीच भेटघाट बाक्लिँदै गयो।
सन् १९६८ मा वैजयन्तीले डा. चमनलालसँग बिहे गरिन्। त्यसपछि उनी फिल्म क्षेत्रबाट बाहिरिन्। ठूलो पर्दाबाट बाहिरिए पनि उनले नृत्यसँगको सम्बन्ध भने कहिल्यै तोडिनन्।
Shares

प्रतिक्रिया