कला


‘मिस नेवाः नेपाल’ भदाै ५ गते

‘मिस नेवाः नेपाल’ भदाै ५ गते

नेपालखबर
साउन २१, २०८० आइतबार १३:४६, काठमाडौँ

नेप्लिज फेसन होमले हरेक वर्षजस्तै यसपालि पनि नेवार समुदायका युवतीबीचको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’ आयोजना गर्ने भएको छ।

आगामी भदाै ५ गते कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल टेलिकमको मुख्य प्रायोजनमा हुने मिस नेवाः नेपाल ११४३ अन्तर्गत ट्यालेन्ट राउन्ड शनिबार दिउँसो राजधानीमा सम्पन्न भएको छ। ट्यालेन्ट शोमा सहभागी नेवार सुन्दरीहरुले नृत्य, गायन,अभिनय, वाक, बाँसुरी वादन, कविता वाचन, कराँतेलगायत आफूमा अन्तर्निहीत प्रतिभा प्रदर्शन गरेर निर्णायकलाई प्रभावित पार्ने कोसिस गरेका थिए।

१७औं संस्करणको मिस नेवाः नेपालअन्तर्गत ट्यालेन्ट शोमा कृष्टी प्रजापति, तुलसी कंसाकार, तिमीला महर्जन, रितिका श्रेष्ठ, तुलसा प्रजापति, अविशा कपाली र सिचु मानन्धरले विभिन्न नृत्य प्रदर्शन गरेका थिए। त्यसैगरी एड्रिना श्रेष्ठले नृत्यका साथमा कराँते, युनिशा महर्जनले बाँसुरी वादन, रोजिना महर्जनले वक्तृत्व कला, सुविता देउलाले नृत्य र कराँते, अन्सु प्रजापतिले नृत्य र अभिनय, रसिला श्रेष्ठ र मीनासा महर्जनले धिमे बाजा वादन, खुसी डंगोलले नेवारी कविता वाचन, रिद्धिशा श्रेष्ठले पियानो वादन तथा सकिना महर्जनले वक्तृत्व कला प्रदर्शन गरेका थिए।

सहभागीहरुले ट्यालेन्ट शोमा प्रदर्शन गरेका कला प्रस्तुतिका आधारमा निर्णायकबाट प्राप्त नामलाई प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाका दिन मिस ट्यालेन्ट घोषणा गरिने मिस नेवाः नेपालको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन्। मानन्धरले नेवारी कला, भाषा, संस्कार र संस्कृतिको जगेर्ना तथा नयाँ पुस्तालाई हस्तानतरण गर्ने उद्देश्यले १७ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गर्ने गरिएको बताइन्। यस वर्षको मिस नेवाः नेपालमा १७ युवतीले अन्तिम स्पर्धा गर्दै छन्।

नेप्लिज फेसन होमका प्रमुख सल्लाहकार समाजसेवी सुरबहादुर श्रेष्ठको सभापतित्व तथा मिस नेवाः नेपाल २०२२ सलिना महर्जन, किड क्विन इरिना महर्जन, मिस लिटील नेवाः ११४३ सुजुती डंगोल, मिस नेवाः नेपाल ११४२ सेकेन्ड रनर्सअप सेलिना प्रजापति, मिस ट्यालेन्ट श्रेया महर्जन, सोसियल वेलफेयर चिफ अद्रिशा महर्जन, नेपाल भाषा प्रशिक्षक राजु नापितको विशेष आतिथ्य सम्पन्न ट्यालेन्ट राउन्डमा नेपाल क्योकुसिन सेइसिन काईकान कराँते संघ तथा विश्व क्योकुसिनका उपाध्यक्ष सिहान अशोककुमार श्रेष्ठ, लायन्स क्लब डिस्ट्रिक ३२५ एलका गर्भनर मणि श्रीरत्न बज्राचार्य, नमुना फेसन कलेजका भाइस प्रिन्सिपल जीवेश्वरलाल श्रेष्ठ, माँ बगलामुखी सहकारीका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जन, बक्सिङ संघका अध्यक्ष राम अवाले र नेपाल लिपी गुठीका अध्यक्ष अनिल स्थापित निर्णायक थिए। 

प्रतियोगितामा रोजिन शाक्य मुख्य कोरियोग्राफर हुन् भने मिस नेवाः नेपाल कृषा महर्जन संयोजक छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad