कला


प्रतिभा सम्मान गणेश रसिक र पुरस्कार प्रदीप मेन्याङ्बोलाई

प्रतिभा सम्मान गणेश रसिक र पुरस्कार प्रदीप मेन्याङ्बोलाई

नेपालखबर
पुस १८, २०८० बुधबार १३:५२, काठमाडौँ

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षका लागि प्रसिद्ध साहित्य तथा सङ्गीत साधक गणेश रसिकलाई प्रतिभा सम्मान दिने निर्णय गरेको छ। 

यसैगरी प्रतिभा पुरस्कार मुन्धुमी कवि, कथाकार तथा पत्रकार प्रदीप मेन्याङ्बोलाई दिने निर्णय गरेको छ। बेलायतमा बसेको संस्थाको बैठकले उक्त निर्णय गरेको हो।

पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायनमा उदाएका गीतकार, संगीतकार तथा गायक गणेश रसिकले नेपाली गीत–संगीतका ठूलो योगदान दिएका छन्। 

कथा, कविता, उपन्यास, संस्मरण र निवन्ध विधाका दर्जनभन्दा बढी कृति प्रकाशित गरी नेपाली साहित्यको श्रीवृद्धिमा दिएको योगदानको कदर गर्दै प्रतिभा सम्मान दिने निर्णय गरिएको प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष टंक वनेमले बताए।

रसिकका क्षितिजलाई छुन खोज्दा (कथा संग्रह, २०२४), एउटा सारङ्गी छुन खोज्दा (कथा संग्रह, २०२७), रसिकका गीतहरू (गीत संग्रह,  २०४५), आकाशगंगाको ओतमुनि (उपन्यास, २०४८), जब सिस्नुहरू टेक्दै हिँडे (संस्मरण, २०५५), बिलाउँदै गएका गीत (कथा संग्र्रह, २०५८), दशगजामा उभिएर हेर्दा (उपन्यास, २०६३), स्वाधिनताको पीडा (गीत संग्रह, २०६८), पेरुङ्गो संस्करण (पाँच कृति, २०७३) लगायत मेरो अतीत (अडियो क्यासेट), अन्तराल (अडियो क्यासेट भाग १ र २), ओ ! शून्यता (सी.डी.) आदि प्रकाशित छन्।

यसैगरी लामो समयदेखि पत्रकारितामा संलग्न रहँदै आएका मेन्याङ्बोको पुरुषगन्ध (कथाकृति, २०६०) प्रकाशित छ।

फुटकर रूपमा उनका विभिन्न पत्रपत्रिकामा मुन्धुमी कविताहरू प्रकाशित छन्। हाल उनी मुन्धुमी ज्ञानको खोज–अन्वेषण कार्यमा संलग्न छन्। 

सम्मानको राशि ५० हजार र पुरस्कारको राशि एक लाख रुपैयाँ छ। प्रतिष्ठानका महासचिव चोक गुरुङका अनुसार सम्मान तथा पुरस्कार चैत्र अन्तिम साता काठमाडौँमा दिइने कार्यक्रम छ। 

सन् २००८ मा बेलायतमा स्थापित यस प्रतिष्ठानबाट हालसम्म ईश्वर मानन्धर, अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, बूँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ (सिक्किम), भागीरथी श्रेष्ठ, वेणु आचार्य, दावा ग्याल्मो (दार्जिलिङ), गोपाल पराजुली, डा. राजेन्द्र बिमल, डा. कृष्णहरि बराल र दीप श्रेष्ठ सम्मानित भइसकेका छन्। गत वर्ष वरिष्ठ कवि बैरागी काइँलालाई धरानमा बृहत् नागरिक अभिनन्दन गरिएको थियो। 

यसैगरी प्रतिभा पुरस्कारबाट नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फूलमान वल, बलराम अधिकारी, शुभ मुकारूङ, बिमला तुम्खेवा, गणेश गुरुङ र सुदीप पाख्रिन पुरस्कृत भइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad