चलचित्र विकास बोर्डले पछिल्लो समय प्रदर्शनरत नेपाली फिल्मको व्यापारको तथ्यांक सार्वजनिक गरेको छ। तथ्यांकअनुसार जेठ १५ गतेदेखि प्रदर्शन भइरहेको ‘रोल नं १’ ले ९४ लाख ९१ हजार ६८० कमाइ गरेको छ।
१० दिनको अवधीमा गत आइतबारसम्म यस फिल्मका लागि ३१ हजार ७८८ टिकट बिक्री भएका छन्। त्यसैगरी सोही दिन रिलिज भएको कुम्भको अवस्था भने दयनीय छ। यस फिल्मले जम्मा ३ लाख ३२ हजार ९८५ मात्रै कलेक्सन गरेको छ।
स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘लालीबजार’ ले ८ करोड ७८ लाख ५ हजार कलेक्सन गरेको छ। जुन जेठ २४ गते अर्थात् ३१ दिनसम्मको कमाइ हो। ३१ दिनको अवधिमा यस फिल्मलाई २ लाख ९८ हजार २२७ दर्शकले हेरेका छन्।
त्यसैगरी जेठ ८ गतेबाट रिलिज भएको ‘मितज्यू’ले १ करोड ३१ लाख ११ हजार ८५९ रुपैयाँ कमाएको छ। गत आइतबारसम्म यस फिल्मलाई ४५ हजार ५५३ दर्शकले हेरेका छन्। सोहीदिनबाट रिलिज भएको ‘काजी’ ले ४४ लाख ३८ हजार ९८५ व्यापार गरेको छ। सोही अवधीमा फिल्मका १४ हजार २६९ टिकट बिक्री भएका छन्।
जेठ १ गतेबाट रिलिज भएको निमेष श्रेष्ठको ‘लाइफ ड्यामेज’ ले भने ३४ लाख ४० हजार १४ रुपैयाँ कमाइ गरेको छ। त्यस्तै प्रकाश सपुत र सुहाना थापा अभिनीत फिल्म ‘परालको आगो’ ले भने ४ करोड २८ लाख ११ हजार ग्रस कलेक्सन गरेको छ।
Shares

प्रतिक्रिया