चर्चित भारतीय अभिनेता तथा रंगकर्मी राकेश वेदी सोमबार काठमाडौँको थापागाउँस्थित मण्डला थिएटरमा झुल्किए। हलमा नेपाली कलाकार, रंगकर्मी र जेनजी फिल्ममेकरहरूको बाक्लो उपस्थिति थियो। कार्यक्रमको सहजीकरण गरिरहेका थिए, अभिनेता विजय बरालले।
लामो समयपछि आफ्ना पुराना साथी फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया (एफटीआईआई) का सिनियर टीका पहाडीलाई मण्डलामा भेट्दा राकेश निकै खुसी देखिए।
मुम्बईको चर्चित नाट्य समूह इप्टामा पहाडीसँगै थुप्रै नाटकहरू खेलेका वेदीले पुराना दिन सम्झिँदै भने, ‘मैले हिजो मात्र भगवानसँग प्रार्थना गरिरहेको थिएँ कि काठमाडौँमा टीकालाई भेट्न पाऊँ। नभन्दै भेट भयो। धेरै वर्षपछि मेरो लागि यो साँच्चै अद्भुत क्षण हो। मलाई आशा छ टीकाले यहाँ काठमाडौँमा पनि थिएटरको त्यो मशाललाई निरन्तर बालिरहनुभएको छ।’
नेपाल आउँदा आफूलाई कहिल्यै विदेशी भूमिमा आएको जस्तो महसुस नहुने उनको भनाइ छ। उनले आफू फिल्म ‘घरवाली बाहरवाली’ को सुटिङको बेला नेपाल आइसकेको समेत खुलाए।
‘नेपाल आउँदा म भारतभन्दा बाहिर छु जस्तो लाग्दै लाग्दैन। यहाँ सबैजना हिन्दी बोल्छन्, सबैले माया गर्छन् र मेरो कामलाई बुझ्छन्। अरू देशमा जाँदा भारतीय समुदायले मात्र चिन्छन्, तर यहाँ त हरेक व्यक्तिले मलाई चिन्नुहुन्छ। यो बिल्कुल आफ्नै घर जस्तो लाग्छ’, उनले भने।
उनले आफ्नो पछिल्लो ब्लकबस्टर फिल्म ‘धुरन्धर’ र अभिनय यात्राबारे पनि सुनाए। बक्स अफिसमा ऐतिहासिक रेकर्डहरू राखिरहेको ‘धुरन्धर’ शृंखलाको सफलतालाई लिएर उनी आफैँ पनि अचम्मित छन्।
उनले फिल्मको सुटिङ अनुभव सेयर गर्दै एउटा महत्त्वपूर्ण किस्सा सुनाए। ‘धुरन्धर’ मा वेदी अभिनेत्री सारा अर्जुनको बुवा अर्थात जमिल जमालीको भूमिकामा छन्।
फिल्ममा रणविर सिंहको घरमा गएर ‘मेरो छोरीलाई छोडिदेऊ’ भन्दै कराउने र पछि शक्ति समीकरण बदलिएपछि ज्वाइँको अगाडि आत्मसमर्पण गरेर हात चुम्ने नाटकीय दृश्य नै उनको पहिलो सुटिङ सिन थियो।
‘कुनै पनि ठुलो फिल्म वा चरित्र गर्दा सुटिङभन्दा एकदुई दिनपहिले नै सेटमा पुगेर वातावरण र निर्देशकसँग ट्युन हुनु मेरो बानी हो। त्यो सिन निकै ड्रामाटिक थियो। धुरन्धर २ हेरेपछि मात्र दर्शकलाई थाहा हुन्छ कि त्यो सबै मेरो क्यारेक्टरको प्लानिङ थियो,’ उनले भने, ‘पहिलो दिन नै त्यति ठुलो सिन गर्दा म अलिकति नर्भस थिएँ र निर्देशक आदित्य धरलाई सोधिरहन्थेँ। तर, फिल्म सुपर-डुपर हिट भयो। दिल्लीमा नाटक गर्दा एक दर्शकले मलाई यो फिल्म १० पटक हेरिसकेको बताए। यो सामान्य हिट मात्र होइन, यसको सफलताको मापदण्ड नै छुट्टै भइसक्यो।’
कार्यक्रममा जेनजी पुस्ताका एक युवकले ‘धुरन्धर’ को सफलताले धेरै चर्चित हुँदा कस्तो महसुस भइरहेको भन्दै प्रश्न सोधे। जसको जवाफमा उनले आजको नयाँ पुस्ताले आफ्नो अहिलेको सफलता मात्र देखिरहेको बताउँदै सन् सन् १९८४ को सिरियल ‘ये जो है जिन्दगी’ र फिल्म ‘चश्मे बद्दूर’ को क्रेज स्मरण गरे।
‘सन् १९८४ देखि ८७ सम्म ‘ये जो है जिन्दगी’ प्रसारण हुँदा रातको ९ देखि साढे ९ बजेसम्म भारतका सडकमा गाडी चल्न बन्द हुन्थे। मानिसहरू टीभीमा झुम्मिन्थे। ‘चश्मे बद्दूर’ आज हेर्दा पनि हिजो मात्र बनेको जस्तो फ्रेस लाग्छ। तर, त्यतिबेला सफलताको दायरा साँघुरो थियो। फिल्म चल्न भित्तामा पोस्टर टाँस्नुपर्थ्यो, रेडियोमा फुक्नुपर्थ्यो। आज त प्रविधिले गर्दा एक क्लिकमा संसारभर मास लेभलमा कुरा पुग्छ। सफलता उही हो, तर आज यसको आकार धेरै ठुलो भएको छ,’ वेदीले भने।

नयाँ कलाकारहरूलाई सुझाव दिँदै उनले अभिनयमा संवादभन्दा पात्रको मानसिकता र शारीरिक हाउभाउ महत्त्वपूर्ण हुने बताए।
‘एउटा सोच्ने कलाकार कहिल्यै मर्दैन। दुईतीन वर्ष काम गरेपछि संवाद त जसले पनि सजिलै भन्न सक्छ, त्यो त एकदमै आधारभूत पाटो मात्र हो। मेरो तयारीमा संवाद सधैँ अन्तिम प्राथमिकतामा पर्छ। त्यो पात्र पछाडिको मानिसको मानसिकता र हाउभाउ महत्त्वपूर्ण हुन्छ।’
उनका अनुसार कमेडी वा ह्युमरमा लेखक-निर्देशकले मात्र पर्फेक्ट सिन लेख्न सक्दैनन्। स्क्रिप्ट तीन चरणमा लेखिन्छ: पहिलो लेखकको कोठामा, दोस्रो निर्देशकको सोचमा र तेस्रो जब कलाकार सेटमा आएर आफ्नो स्वतः स्फूर्त योगदान दिन्छ। यदि दिमागमा चरित्रको गहिराइ छ भने हाउभाउ आफैँ बाहिर आउने र केवल संवाद कण्ठ गरेर अभिनय नहुने उनले तर्क गरे।
उनले लेखक तथा निर्देशकहरूलाई सल्लाह दिँदै फिल्म सुटिङको प्रक्रियामा निर्देशकले यो मेरो मात्र फिल्म हो भनेर अहम् राख्न नहुने बताए। साथै कस्ट्युम, साउन्डदेखि कलाकारसम्म पूरै युनिटलाई साथमा लिएर मात्र सच्चा क्याप्टेन बन्न सकिने धारणा राखे।
उनले आफूले धेरै नेपाली फिल्महरू नहेरेको स्वीकार गरे। तर, नेपाली फिल्मलाई विश्व बजारमा लैजाने मन्त्र दिँदै उनले कोरियाली सिनेमाको उदाहरण दिए।
‘कोरिया मेरा लागि जति विदेशी हो, नेपाल त छिमेकी हो। तर पनि हामी कोरियन सिनेमा किन हेर्छौँ? किनभने उनीहरूको सोच आधुनिक छ, विषयवस्तु नयाँ छन् र सिनेमाको स्तर माथि छ। उनीहरूले अस्करसमेत जितिसकेका छन्। आजको समयमा नेटफ्लिक्स जस्ता प्लाटफर्मले गर्दा भाषाको कुनै बन्देज छैन, फिल्महरू एकैपटक १६० देशमा चल्छन्,’ उनले भने, ‘नेपाली सिनेमाले पनि जब आफ्नो स्तरलाई त्यो उचाइमा पुर्याउँछ, तब कसैले सिफारिस गर्नु पर्दैन, संसारले आफैँ खोजेर हेर्नेछ। मलाई कसैले कोरियन फिल्म हेर्न जबरजस्ती गरेको होइन, त्यसको स्तरले नै मलाई आकर्षित गरेको हो।’
अभिनेता वेदी प्रदर्शनरत फिल्म ‘है जवानी तो इश्क होना है’ को प्रवर्द्धनको लागि उनी आइतबार नेपाल आइपुगेका थिए। उनलाई फिल्म प्रवर्द्धनका लागि वितरण कम्पनी नियोम फिल्म्स र क्यापिटल वर्ल्ड ग्रुपले काठमाडौँ बोलाएको हो। आइतबार मात्रै उनले काठमाडौँका विभिन्न हल पुगेर दर्शकलाई भेटेका थिए।
Shares

प्रतिक्रिया