दिनेश राउतको निर्देशनमा बन्ने फिल्म ‘पुजार सार्की’को मुख्य गीत रेकर्डिङ भएको छ। गीत अहिलेका चर्चित गायक-गायिका प्रकाश सपुत र शान्तिश्री परियारले गाएका हुन्।
निर्देशक राउतले सामाजिक सञ्जालमार्फत गायक सपुतसँगको फोटो सेयर गर्दै गीत रेकर्डिङ भएको जानकारी दिएका हुन्। उनले गीतको शीर्षक भने खुलाएका छैनन्।
लोक शैलीको उक्त गीतमा हर्क साउदका शब्द, सुवास भुसालको संगीत र हेमन्त कान्छा रसाइलीको एरेञ्ज छ।
यस फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह मुख्य भूमिकामा देखिनेछन्। यस्तै अभिनेत्रीद्वय अञ्जना बराइली र परीक्षा लिम्बुले पनि अभिनय गर्ने छन्।
दर्शकको रोजाइमा परेका तीन स्टार एकसाथ चलचित्रमा देखिँदा छुट्टै छाप छाड्ने छाप विश्वास निर्माण टिमले जनाएको छ।
विकास सुवेदीको कथा रहेको फिल्मको छायांकन माघको मध्यबाट सुरु हुनेछ। किङ्गडम नेटवर्कको ब्यानरमा बन्ने फिल्ममा सुवास भुसालको लगानी छ।
एक दर्जन चलचित्रका गीतमा संगीत दिएका संगीतकार भुसालले पहिलोपटक फिल्म निर्माण गर्न लागेका हुन्। भुसालले संगीत भरेका हिट गीत ‘लै लै’ र ‘बनकी चरी’ राउत निर्देशित फिल्म ‘प्रसाद’मा समावेश थिए।
Shares

प्रतिक्रिया