ad ad

कला


फिल्म ‘गोर्खा वारियर’मा अभिनय गर्ने कलाकारलाई ७ महिना तालिम

फिल्म ‘गोर्खा वारियर’मा अभिनय गर्ने कलाकारलाई ७ महिना तालिम

नेपालखबर
फागुन ४, २०८० शुक्रबार २२:५, काठमाडौँ

वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र निर्माण हुने गरेका छन्। अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले निर्माता–निर्देशकले यस्ता विषयलाई ध्यान नदिएका हुन्।

पूर्वगोर्खा सैनिक रहिसकेका निर्देशक तथा निर्माता मिलन चाम्सले गोर्खालीले रचेको इतिहासलाई समेटेर ‘गोर्खा वारियर’ निर्माण गरेका छन्। 

यही फागुन ११ देखि प्रदर्शन गरिने चलचित्र ‘गोर्खा वारियर’मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ।

नेपालमा प्रदर्शन गर्नुअगाडि नै बेलायतमा प्रिमियर गरेर अन्तर्राष्ट्रिय रूपमा चर्चामा रहेको चलचित्र निर्माण पूरा गर्न तीन वर्ष लागेको निर्देशक चाम्सले बताए। 

‘मैले यसमा चलचित्रमा देखाइने काल्पनिकभन्दा पनि वास्तविक रूपमा सैनिकले लड्ने युद्ध देखाएको छु। म आफैँ पूर्वसैनिक भएकाले पनि यसमा कुनै सम्झौता गरिनँ। चलचित्रमा सैनिकको घरपरिवार र पेसालाई देखाइएको छ। यसको तयारी एक दशक अगाडिको भए तापनि छायाङ्कनमा तीन वर्ष खर्चेको छु’, निर्देशक चाम्सले भने। 

उनले चलचित्रमा सैनिक देखिन सम्पूर्ण पात्रलाई झण्डै सात महिनाको प्रशिक्षण दिएको जानकारी दिए। मुख्य अभिनेता रितेश चाम्स आफैँ पूर्वसैनिक रहेकाले उनीबाहेकका अन्य कलाकारले तालिम लिए। त्यसमध्येका एक अभिनेता रेअर राईले उक्त समयमा निकै कठिन भएको बताए। 

‘एउटा चरित्रका लागि सात महिनासम्म हामीले तालिम गरेर उक्त जीवनलाई पर्दामा जिउने कोसिस गरेका छौँ। सुरुमा  छोडेर जाउँजस्तो नभएको पनि होइन, तर हाम्रो पुर्खाका गौरवगाथाले मलाई यो भूमिकासँग जोडेर राख्यो’, अभिनेता राईले भने। उनले तालिममा गरिएका अभ्यासले चलचित्र छायाङ्कनमा सहजता भएको बताए। 

निर्देशक चाम्सले चलचित्रमा सन् १९४९ को समय देखाउन उक्त समयमा युद्धमा प्रयोग भएका वस्तु नै विभिन्न सङ्ग्रहालयबाट ल्याएर प्रयोग गरिएको जानकारी दिए। यसमा मुख्य भूमिका निर्वाह गरेका अभिनेता रितेश चाम्स आफैँ पूर्वगोर्खा सैनिक भए तापनि चलचित्रका लागि विभिन्न प्रशिक्षण लिएको बताए। 

‘मैले युद्धको क्रममा भोगेको भोगाइलाई नै यसमा प्रस्तुत गरेको छु। गोर्खाली गाथामार्फत नेपाललाई विश्वमा चिनाउने उद्देश्यका साथ यसमा अभिनय गरेको हुँ। गोर्खाली भनेपछि हामीले विदेशमा पाइरहेको सम्मानलाई शब्दमा व्यक्त गर्न सक्दैनौँ। यो गोर्खालीको पराक्रमको दस्तावेज हो’, अभिनेता चाम्सले भने।

चलचित्रमा विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन्। चलचित्रलाई प्रदर्शनका लागि रिच इन्टरटेन्मेन्टका  करण श्रेष्ठले वितरण गर्दै छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .