आज शुक्रबार नेपाली सिनेमा हलमा विदेशी र नेपाली गरेर पाँच फिल्म प्रदर्शन भइरहेका छन्। स्वदेशीतर्फ रेखा थापाको 'उपहार'सहित 'रंगेली' र 'काँडेतार' तथा विदेशीतर्फ अजय देवगन स्टारर बलिउड फिल्म 'शैतान' र हलिउड फिल्म 'कुङ फु पाण्डा ४' हलमा लागेका हुन्।
एकैदिन पाँच फिल्म रिलिज हुँदा शो भने बाँडिएका छन्।
नेपाली फिल्मभन्दा 'शैतान' र 'कुङ फु पाण्डा ४' ले बढी शो पाएका छन्।
ज्ञानेन्द्र देउजा निर्देशित फिल्म 'उपहार'मा रेखासहित मुकुन भुसाल, पूजा शर्मा, बेनिशा हमाल,तेज गिरी, समर्पण जंग कार्कीलगायतको अभिनय छ। फिल्मको कथा सुलक्षण भारतीले लेखेका हुन्।
नवल खड्काको निर्माण र निर्देशनमा निर्मित 'काँडेतार' राष्ट्रप्रेममा आधारित छ। फिल्ममा नवलसहित सुरविना कार्की, गौरव पहारी, रेविका गुरुङको अभिनय छ। नेपाल र भारतको सिमानामा 'काँडेतार' लगाउनुपर्छ भन्ने मुख्य सन्देश फिल्मले दिन्छ।
ग्याङ्स्टर फिल्म 'रंगेली' अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा बनेको हो। फिल्ममा दयाहाङ राई र मिरुना मगरसहित अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको मुख्य भूमिका छ।
अजयकै लगानीमा निर्माण भएको बलिउड फिल्म 'शैतान' अलौकिक हरर थ्रिलर जनरामा बनेको हो। विकास बहल निर्देशित यस फिल्ममा अजयसहित माधवन र ज्योतिकाको मुख्य भूमिका छ। यो फिल्म गत वर्ष फेब्रुअरीमा रिलिज भएको गुजराती फिल्म ‘वाश’को रिमेक हो। यो फिल्मको कथा असल र खराबबीचको लडाइँमा आधारित छ।
हलिउड फिल्म 'कुङ फु पाण्डा ४' कमेडी, एक्सन र एडभान्चर जनरामा बनेको हो। यस फिल्मलाई माइक मिचेल र स्टेफनी स्टाइनले निर्देशन गरेका हुन्। यस फिल्ममा एन्जेलिना जोली, ज्याक ब्ल्याक, ज्याकी चान, सेठ रोजेन, लुसी लिउ, डस्टिन होफम्यान र डेभिड क्रसको अभिनय छ।
Shares

प्रतिक्रिया