फिडेल देवकोटा डेब्यू निर्देशन रहेको फिल्म ‘द रेड सुटकेस’ को ओटीटी (ओभर द टप) प्रदर्शन अधिकार एचबीओले किनेको छ। युके-आधारित वितरक कम्पनी ‘रीजन ८ फिल्म्स्’ ले युरोपेली देशका लागि एचबीओलाई ओटीटी अधिकार बिक्री गरेको हो।
एचबीओले युरोपका १५ देशका लागि ओटीटी प्रदर्शन अधिकार किनेको हलिउड म्यागेजिन भेराइटीले उल्लेख गरेको छ। जसअन्तर्गत अल्बानिया, चेक रिपब्लिक, हन्गेरी, पोल्याण्ड, रोमानिया, क्रोएसिया लगायतका देशहरु समावेश छन्।
साथै मलेसिया र ब्रुनाईमा पनि प्रदर्शन अधिकार बिकिसकेको छ। उत्तरी अमेरिका र ल्याटिन अमेरिकाका लागि बिक्रीको कुरा भइरहेको रिजन एट फिल्म्स्ले जनाएको छ।
एचबीओले ओटीटी अधिकार लिएसँगै फिल्मको लगानी सुरक्षित भइसकेको निर्माणटिमको दाबी छ। निर्माता रामकृष्ण पोखरेलले राम्रो मूल्यमा किनेको बताउँदै लगानी सुरक्षित भएको जानकारी दिए।
थुप्रै अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुगिसकेको यो फिल्म भेनिस फिल्म फेस्टिबलमा वर्ल्ड प्रिमियर भएको थियो। भेनिसमा मेन्सन अवार्ड जित्नुका साथै भेनिसमै स्वतन्त्र समीक्षकहरुको संस्था बिसाटो डिओरोले डेब्यु निर्देशकको रुपमा देवकोटालाई बेस्ट फिचर फिल्मको अवार्ड समेत प्रदान गरेको थियो।
फिडेलको लेखनमा बनेको फिल्ममा सहित सौगात मल्ल, सृष्टि श्रेष्ठ, विपिन कार्की र प्रवीण खतिवडा मुख्य भूमिकामा छन्।
सुशन प्रजापतिले खिचेको फिल्मको निर्माता निर्देशक देवकोटासहित रामकृष्ण पोखरेल र सोभा थापा हुन्। यो फिल्म चैत ३० गतेबाट रिलिज हुँदैछ।
Shares
प्रतिक्रिया