कला


अनमोलको ‘फर्की फर्की’ सँग भिड्दै ‘पुजार सार्की’

अनमोलको ‘फर्की फर्की’ सँग भिड्दै ‘पुजार सार्की’

नेपालखबर
चैत २३, २०८० शुक्रबार १२:४, काठमाडौँ

दिनेश राउतको निर्देशन रहेको फिल्म ‘पुजार सार्की’ को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी वर्ष बुद्ध जयन्तीको अवसरमा (जेठ १० गते) रिलिज हुने पक्का भएको हो।

यो मितिमा यसअघि नै अनमोल केसी स्टारर ‘फर्की फर्की’ र पूजा शर्माको ‘दान्भी’ को पनि रिलिज डेट घोषणा भइसकेको छ।

पुजा सार्की निर्माण टिमले दुईवटा पोस्टरसमेत सार्वजनिक गरेको छ। दुबै पोस्टरमा मुख्य अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह फिचर्ड छन्।

फरक शैलीमा चलचित्र मार्फत कथा भन्ने क्षमता राख्ने निर्देशक राउतले सार्वजनिक पोस्टरहरूमा समेत चलचित्रको कथा सार झल्काएका छन्। यी पोस्टरले यस चलचित्रप्रति थप उत्सुकता बढाइदिएको छ।

निर्देशक दिनेश राउतले नेपालसँगै नेपालीहरू रहेका विश्वका सबै देशहरूमा एकसाथ चलचित्र रिलिज हुने बताए।

राउतले भने, ‘निर्माता र नेपाल तथा अन्तर्राष्ट्रिय वितरकको सल्लाह बमोजिमको कार्यतालिका अनुसार यो मिति तय गरिएको हो। हामीले नेपालसहित विश्वव्यापी रूपमा एकसाथ चलचित्र रिलिज गर्नुपर्ने र हाम्रो कार्य तालिका अनुसारको उपयुक्त मिति जेठ १० गते नै हुन आएको कारण सो मितिमा चलचित्र रिलिज हुनेछ।’

यो चलचित्रमा जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा समेटिएकाे छ। यस फिल्ममा अञ्जना बराइली र परीक्षा लिम्बुसहित मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय छ।

यस चलचित्रलाई विकास सुवेदीले लेखेका छन्। यसअघि विकास र दिनेशले चलचित्र प्रकाशमा सहकार्य गरेका थिए। यस फिल्मलाई सङ्गीतकार सुवास भुसालले निर्माण गरेका हुन्।

एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक फिल्म निर्माण गरेका हुन्।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .