प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘एक्टर’ को छायाङ्कन सुरु भएको छ। पोखराको विन्ध्वासिनी मन्दिरमा आज पूजा गर्दै फिल्मको सुटिङ सुरु गरिएको हो।
फिल्मको शुभसाइत समारोहमा अभिनेता प्रदीप खड्का र नव अभिनेत्री दिव्या रायमाझी उपस्थित थिए। कलाकार दिलिप रायमाझीकी छोरी दिव्याको यो डेब्यु फिल्म हो।
राजन भुसालको निर्देशनमा बन्ने फिल्ममा प्रदिप र दिव्यासहित आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला लगायतका कलाकारहरुको अभिनय रहनेछ।
अभिनेता खड्काले पहिलो पटक फिल्मी पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन्। फिल्मको केही दिन अगाडि भैंसीपाटीस्थित कार्यविनायक मन्दिरमा वैद्धिक विधि अनुसार पूजापाठ समेत गरिएको थियो ।
आजबाट सुरू भएको सुटिङको पोखरामा १० दिनको सेड्युल रहेको छ। बाँकी सुटिङ् काठमाडौँमा एक महिनासम्म चल्नेछ।
थमन कुमारी भण्डारी यो फिल्मका निर्माता हुन्। अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई नरेन्द्र मैनालीले छायांकन गर्नेछन्।
फिल्मको लाइन प्रोड्यूसरमा तोरन क्षेत्री रहेका छन् । फिल्मलाई आगामी कार्तिक १५ गते लक्ष्मीपूजाका दिन प्रदर्शन गरिने छ।
Shares
प्रतिक्रिया