चर्चित भारतीय वेब सिरिज ‘पञ्चायत ३’ मे २८ बाट स्ट्रिमिङ हुँदैछ। ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज हुन लागेको वेब सिरिजको चर्चा छ।
चर्चाबीच यस सिरिजसम्बन्धित नयाँ खबर बाहिरिएको छ। अहिले भारतभरि चुनावी माहोल छ। यही कुरालाई केन्द्रमा राखेर निर्माताले सिरिजमा चुनावी माहोललाई समेटेका छन्। यो सिरिजमा चुनावी तयारीको उथलपुथल देख्न पाइनेछ।
योसँगै निर्माताले यस सिरिजका पाँच सिजन ल्याउने योजना बनाएका छन्। सिरिजका थप दुई सिजन आगामी केही वर्षमा ल्याउने तयारी निर्माणटिमको छ।
सिजनको सुटिङ गत वर्ष जुलाईदेखि अक्टोबरसम्म सम्पन्न भएको थियो। शृंखलाको मुख्य भाग गत वर्ष मात्र खिचिएको थियो। यो वर्षको सुरुमा एउटा महत्त्वपूर्ण भाग सुट गरिएको थियो।
पछिल्लो दुई सिजन जस्तै यस पटक पनि मध्य प्रदेशको सिहोर गाउँमा सुटिङ गरिएको छ। सिरिजको पञ्चायत भवनको दृश्य सिहोरको वास्तविक पञ्चायत भवनमा सुटिङ गरिएको हो। वास्तवमा यो पञ्चायत भवन राम्रो अवस्थामा छ। तर, सिरिजअनुसार कला निर्देशकले यसलाई जीर्ण रूप दिने प्रयास गरेका छन्।
रमाइलो कुरा के छ भने यस सिरिजमा नयाँ पात्रको पनि प्रवेश भएको छ। नयाँ पञ्चायत सचिव विनोद शर्मा तेस्रो सिरिजमा देखिने स्रोतले बताएको छ। यो भूमिका विनोद लक्ष्मण सूर्यवंशीले निभाएका छन्। तर, जितेन्द्र कुमार पुरानो सचिवको भूमिकामा देखिने छन्।
तेस्रो सिरिजमा जितेन्द्रसहित नीना गुप्ता, रघुवीर यादव, फैसल मलिक, चन्दन रोय र सान्विकाको अभिनय हुनेछ। भाइरल फीवरले उत्पादन गरेको यस सिरिजलाई दीपक कुमार मिश्रले निर्देशन गरेका छन्। पञ्चायत ३ को कथा चन्दन कुमारले लेखेका छन् ।
Shares

प्रतिक्रिया